के हो त अहिले नेपालको कन्सल्टेन्सी बजारमा निकै चर्चामा रहेको शब्द एन फोर (N4) ?

१७ पौष २०७५
banner

पछिल्लो समय जापान सरकारले भित्राउने भनिएका कामदारहरु र नेपालमा समेत भाषा परिक्षा लिइ कामदारहरु ल्याउने भन्ने विषयमा आएका समाचारहरु पछि अहिले नेपालमा कन्सल्टेन्सी बजारमा एउटा शब्दले निकै चर्चामा छ। त्यो हो एन फोर (N4)। जापान बसाइको मेरो अनुभव, सिकेको पाठ र जानेबुझेसम्मका आधारमा त्यसै सेरोफेरोमा रहेर केही जानकारीहरु लेख्दैछु ।

के हो एन फोर (N4) ?

हल्लाकै आधारमा अहिले एन फोर को सिधा सम्बन्ध जापान सरकारले २०१९ को अप्रिलबाट जापान ल्याउने भनिएका कामदारका लागि लिईने परिक्षा प्रणाली सँग देखाईएको छ । जुन कुरा यो जानकारी प्रकाशन भएका मिति सम्म भ्रामक छ। यस विषयका सम्बन्धित सबै प्रष्ट हुनैपर्ने एउटा कुरा के भने जापानी संचारमाध्यमहरुमा एन फोर बराबरको भाषा उत्तिर्ण हुनुपर्ने भनिएको छ । एन फोर नै पास हुनुपर्छ भनेर जापान सरकारले आधिकारीक रुपमा कतै भनेको छैन ।

एन फोर जापान सरकारले मान्यता दिएको जापानी भाषाको एउटा स्तर हो । यहाँ एन भन्नाले निहोन्गो (जापानीज भाषा) र फोर भन्नाले जापानिज भाषाको ५ स्तर मध्येको दोश्रो सजिलो स्तरको अंकगणितीय नाम हो । यो स्तर सन् २०१० बाट शुरु भएको र यो पहिलेको ल्घ सँग मिल्दोजुल्दो छ ।

के हो जापानका लागि भिषाको नयॉं प्रकृया ?

तिब्र गतिमा बिकासको फड्को मारिरहेको जापानी समुदायमा काम गर्न सक्ने उमेर समुहका युवा–युवतीको संख्यामा दैनिक ह्रास आईरहेको छ । निरन्तर घटिरहेको जन्मदर र बृद्धबृद्धाहरुको संख्या बढ्नुले जापानमा केही बर्षयता चरम कामदार अभाव भैरहेको छ । यसका कारणहरु धेरै भए पनि मुख्यकारण भने जापानको समाजको बनावट र जापानी रहनसहन लाई लिन सकिन्छ। दैनिक काम नगरे जीवन यापन गर्न गाह्रो पर्नु (आर्थिक रुपमा), विबाहपश्चात महिलाले काम कम गर्नु, जसले श्रीमानको कमाइले परिवार पाल्न कठिन हुनु, बालबच्चा भएपछिको खर्चलाई धान्न नसक्ने डरले विवाह नै नगर्नु र गरे पनि बच्चा नजन्माउनु जस्ता कारणहरुले जापानको जनसंख्या मात्र हैन, जन्म दर र कामगर्न योग्य मानिसको दरमा ह्रास आईरहेको हो।

बजारको यहि कामदारको मागलाई पुरा गर्न जापानी संसदले केहि हप्ता अघि मात्र बिदेशी कामदारहरु जापानी रोजगार बजारमा भित्र्याउने निर्णय गरेको हो। स्मरण रहोस, यो आध्यादेस संसदमा प्रस्ताव भई पारित हुँदा जापानी सांसदहरुबीच मतान्तर मात्र हैन हात हालाहाल सम्म भएको थियो। बिपक्षमा मत राख्ने सांसदहरुले अहिले आईरहेका प्रशिक्षार्थी कामदारहरु भागेर लुकिछिपि काम गरेको र मृत्यु हुनेको संख्या बढेकोले सिधा कामदारको रुपमा बिदेशी भित्र्याउदा यो समस्या झनै बिकराल हुने तर्क राखेका थिए। जुनकुरा धेरै हदसम्म ठीक हुँदाहुँदै पनि उक्त नियम बहुमतका साथ पारित भएको थियो । जस अनुसार जापान सरकारले सन २०१९ को अप्रिल महिनाबाट विदेशी कामदार आफ्नो श्रम बजारमा भित्र्याउने तयारी गर्दैछ। यो कुरा विकसित देश चिन तथा थाइल्यान्डले त स्वीकार गरे भने नेपाल जस्ता अल्पबिकसित देशले सहजै स्वीकार्ने नै भयो। पहिला ७ वटा देश बाट कामदार ल्याउने भनि गरेको निर्णयलाई २ दिन मै पुनर्विचार गर्दै २ देश थपेर ९ वटा देशबाट बिभिन्न क्षेत्रमा कामदार ल्याउने निर्णय जापान सरकारले सार्वजनिक गर्यो ।

जापानको श्रम बजारमा नेपाली कामदारलाई कति सहज ? कति असहज ?

हरेक देशका आ–आफ्नै रहनसहन, भेषभुषा तथा सँस्कृति हुन्छन। लामो इतिहास बोकेको जापानमा त अझ किन भन्ने प्रश्ननै गरेर नसकिने संस्कार र संस्कृति छन। त्यस्तै नेपालमा पनि लामो इतिहास बोकेको संस्कृति नभएका हैनन्। केही समानताका बाबजुद पनि जापान र नेपालवीच धेरै साँस्कृतिक भिन्नताहरु छन् । जापान सैयौं बर्ष देखि विकासमा फट्को मारेको सु–संस्कृत, सु–शिक्षित तथा सु–शासित देश हो। प्रबिधिमा संसारमै अगाडि रहेको जापान अत्याधुनिक रोबर्टको बिकास, संसारकै छिटो कुद्ने रेल, ज़मीन मुनिका मुसाका प्वालजस्तै गरि छरिएका मेट्रो रेल, अत्याधुनिक कृषि प्रणाली, २४ घण्टा संचालित कम्पनी का साथसाथै सम्बेदनशील क्षेत्रमा झुटो नबोल्नु तथा समयको विशेष ख्याल गर्नु जापान र जापानी जनताका विश्वब्यापी परिचय हुन।

अब नेपाललाई जापानसँग तुलना गरेर हेरौं । नेपालको पनि इतिहास पुरानो भए पनि अल्पबवकसित, पुरातन शैलीको घोकन्ते शिक्षा प्रणाली, अनुभूति बवहिन शुसासन, प्रबिधिमा अत्यन्त न्यूनतम बिकास, सज्जन र ईमान्दार मान्छेहरु हरेक क्षेत्रको मूलधार बाट पछाडि, अझ भनौं हल्लाको सुनामी चल्ने देश तथा समयको महत्वलाई बुझ्न नसक्ने नेपालका परिचय हुन । मेरो यो आक्षेप हैन । छातीमा हात राखेर भन्न सक्ने सत्यता यही हो । यति धेरै असमानता भएको एक देशले बिदेशी कामदारको रुपमा अदक्ष, अप्रशिक्षित कामदार भित्र्याउनु र अर्को देशले संबेदनहिन तथा अपरिपक्क ढङ्गबाट आफ्ना नागरिकलाई कामदारको रुपमा बिदेशमा पठाउदा दुबै देशलाई के–के फाईदा र घाटा हुन्छन् भन्ने विचार गरिनु आवश्यक छ ।

ससर्ती हेर्दा विकसित देश जापानलाई आवश्यक कामदारको बजारमाग लाई पुर्ति हुने फाईदा हुन्छ भने अल्पविकसित देश नेपाललाई सम्बन्धित ब्यक्तिको ब्यक्तिगत आर्थिक बिकास हुन्छ । भलै सरकारलाई रेमिट्यान्सबापत मिल्ने केही कर मिल्ला । अब कुरा गरौं घाटाको । जुन ठाउँमा गईन्छ त्याहॉंको रहनसहन, संस्कार, सँस्कृति तथा भाषाको न्यूनतम ज्ञान पनि नलिई जॉंदा उक्त देशको समाजमा असर त पर्छ नै, जाने व्यक्तिले समेत दुख पाउँछ। चीन, भियतनाम तथा थाइल्यान्ड जस्ता बिकसित देशबाट कामदारको रुपमा जापान आउनु र नेपाल कम्बोडिया तथा फिलिपिन्स जस्ता अल्पबिकसित देशबाट जापान आउँदा को अवस्था फरक हुन्छ । तुलनात्मक रुपमा अल्पविकसित देशका कामदारहरुलधेरै गाह्रो हुन्छ । यसका पनि केहि कारणहरु छन। जसमध्ये जापानी भाषाको कमी र सम्बन्धित क्षेत्रमा सही परामर्शको कमी मूख्य हुन ।

भाषा पढ्नकै लागि भनेर बिधार्थी भिषामा जापान आउने बिधार्थीले जापानी भाषालाई नै महत्व नदिंदा सहि सूचना पाउन बन्चित हुनुका साथै, तोकिएको नियमको पालना, समस्या आइपर्दा के गर्ने र के नगर्ने भनेर छुट्याउन नसक्दा बिभिन्न घट्नाहरु घट्दै आएकोले पनि जापान अध्यागमन बिभागले नब प्रवेशाज्ञामा कडाईमात्र हैन भिषा नवीकरणमा समेत कडाइ गरेको छ । यति मात्र हैन, सहि परामर्श तथा भाषाकै कमीले जापानमा नेपालीहरुले दुःख मात्र हैन अकालमा ज्यान सम्म गुमाईरहेका छन्।

यी घट्ना निम्तिनुमा को–को दोषी?

हरेक घटनामा पहिलो दोष त त स्वयं व्यक्तिको नै हुन्छ । विदेश त्यो पनि स्वर्ग झैं सम्झिने र विदेशमा पैशाको बोट छ भनेर भ्रम पाल्ने नेपाली युवायुवतीहरुको चेतनाको कमीनै यस्ता घटनाका मुख्य दोषी हुन।

त्यस्तै अर्को दोषी अभिभावक पनि हुन । आफ्नो सन्तान काहॉं जादैछ, किन जॉंदैछ र मेरो ज़िम्मेवारी के हो भनेर बुझ्न नखोज्नु यो घट्नाको कारक तत्व बन्दै आएको छ।

तेस्रो दोशी परामर्शदात्री संस्था (कन्सल्टेन्सीहरु) हुन् । पैसा कमाउने नाममा भ्रामक र गलत परामर्श दिएर विदेश पठाउनु दोश मात्र नभएर अपराध नै हो भन्दा अत्युक्ति नहोला । एक त आफु नै जापानको बारेमा अनविज्ञ हुनु र अर्को आफ्नो फाईदाका लागि वास्तविक कुरा लुकाएर झुटो परामर्श दिनु सॉंच्चै अपराध नै हो। गलत परामर्शले परामर्शदाता को आर्थिक पक्ष त सबल बन्ला तर यही गलत परामर्शले जापान गएर एक अबोध नागरिकले अनेकन दुःखमात्र हैन अनाहकमै ज्यान जॉंदा त्यो परामर्शदाताले त्यों घटनाको ज़िम्मेवारी लिनु पर्छ कि पर्दैन ?

परामर्श जस्तो अतिनै संवेदनशील कार्य लाई होम हुन लागेको लुडोको गोटी झैं २ भए नि ठीक ३ भए नि ठीक भनेर बोल्न कतिसम्म जायज हुन्छ ? कुनैपनि कुराको परामर्श दिन के–के कुराको ज्ञान लिनु पर्छ भन्ने सम्म ध्यान नदिई कन्सल्टेन्सी खोल्नु फेरी पनि भन्छु अपराध नै हो । अब फेरी जोडौं उही एन फोरकै कथा। जापान सरकारको श्रम मन्त्रालय ले अहिलेसम्म पनि निर्णय गरेको छैन कि जापानमा काम गर्न जान एन फोर नै चाहिन्छ । कामको प्रकृति हेरेर भाषाको नयॉं पाठ्यक्रम र स्तर निर्धारण गरिनेछ भनिरहेको बेला नेपाली परामर्शदात्रीले आफैं तोकिदिए कि उन फोर भनेर। अझ यतिसम्म गर्न भ्याए कि जापान सरकारले नेपालबाट विदेशी कामदार ल्याउने भन्ने निर्णय नै नगर्दै कोरियाका जस्तै इपिएस जापान प्रणालीको पाठ्यक्रममा आधारित जापानिज भाषाको अध्यापन गराइन्छ भनेर विज्ञापन सम्म छापे । हुँदै नभएको प्रणालीको संघा दिंदै विज्ञापन गरिनु सरासर ठगी हैन ?

२ वटा पम्प्लेट त मैलेआफ्नो फेसबुक वालमा पनि राखेको थिएँ । एउटा काठमान्डौको किर्तिपुर र अर्को सुनसरीको ईटहरीमा अवस्थित झुटल्टेन्सी (झुट कन्सल्टेन्सी) थिए । गलत प्रचारबाजी गर्ने यिनीहरुलाई न नेपाल सरकारको कुनै निकायले कार्बाही गर्यो न समाजले सामाजिक बहिस्कार नै । त्यसकारणले त भन्छन जे गरे नि हुने देश हो नेपाल ।

नयाँ प्रकारको भिसामा जापानले कामदार ल्याउने सम्बन्धमा अर्कों रबैया मच्चाए नेपाली अलपत्रकार (अल्पज्ञानी पत्रकार) ले। त्यो हो तलब ३ लाख, नेपाललाई उच्च प्राथमिक्तामा आदि इत्यादी ( सबै पत्रकार अलपत्रकार छैनन् ) । आफ्नो वेवसाइटको भ्यू बढाउनका लागि मनगणन्ते हेडलाइन राख्ने यिनीहरुले पनि दलालहरुलाई प्रसय दिइरहेका छन् । केही मूलधारका मिडियाहरुले समेत ३ लाख तलबको हवाला दिंदा नेपाली पत्रकारीताको निर्दयीपन उदाङ्गो भइको महशुष जापानबासी नेपालीले गरे । कम्तिमा ३ लाख तलबका लागि के सम्म गर्नुपर्छ भनेर यही बसेकाले बुझ्छन् । नेपालमा त हल्ला हल्लाकै भरमा ३ लाख तलब तोकिदिन्छन् । भोली कसैले त्यही गलत समाचारको हेडलाइन देखाएर ठग्यो भने त्यसको जिम्मेवार लेख्ने पत्रकार र मिडिया हुनुपर्छ कि पर्दैन ? सरकार अथवा यस विषयमा हेर्ने संस्थाले नियमन गर्नुपर्ने हैन यस्ता कुरा ?

खैर यस्तै अलपत्रकारहरुले गर्दा राम्रो पत्रकारिता गरिरहेका पत्रकारहरु र मिडियाहरुप्रतिको विश्वास समेत गुमेको अवस्था छ । मेरो मुख्य गुनासो भने नेपाली परामर्शदाता (जापानसम्बद्ध कन्सल्टेन्सी) हरुप्रतिनै छ । ज जसले गलत अफवाह फैलाएका छन् उनीहरुका लागि सिधा कुरा छ, एन फोरको को चरित्र हत्या नगर्नुस आफ्नो फेसबुक वालबाट ।

कति इन्स्टिच्यूटमा त भाषा शिक्षकनै एन फोर अध्यापनका लागि उपयुक्त छैनन् । तिनिहरुले एन फोरको अध्यापन गराउनु त चिउरा सँग गिट्टी चपाय जस्तै हो, न चपिन्छ चिउरा न गिट्टी । (सबै भाषा शिक्षक यसमा पर्दैनन् ) अझ भनौं जापानका मुख्य शहरको नामसम्म पनि शुद्ध भन्न नजान्ने र मिन्नानो निहोङ्गो, देकिरु देकिरु निहोङ्गो को नामनै नसुनेकाहरुले समेत फेसबुक वालमा एन फोरको को क्लास भनेर बिस्ट्यायको देख्दा कन्सिरी तातेर आउँछ ।एन फोरको हवाला दिने अघोसित अपराधिहरुले बुझ्नुपर्ने कुरा के भने एन फोरमा कम्तिमा पनि ३०० वटा खान्जी र १५०० वटा शब्दज्ञानको जरुरी हुन्छ जुन कति भाषा शिक्षकहरुले अझै पढ्नै बॉंकि छ ।

यहाँ केवल भाषाको मात्र कुरा हैन भाषा सँगै जापानी संस्कार, संस्कृति, समाजको वनावट, खानपान आदिकुराको ज्ञान पनि कन्सल्टेन्सीहरुले नै दिनुपर्छ। त्यसका लागि कन्सल्टेन्सी तयार छ ? कि टालटुलमै बर्षा कटाउने विचार छ ? एउटा कुरा सर्बसाधारण लाई जानकारी गराऊँ कि नेपालभरमा ३०५ कन्सल्टेन्सीहरुले मात्र एन फोरको कक्षा संचालन गर्ने क्षमता राख्छन् । व्यक्तिगत फाइदाका लागि हुँदै नभएको प्रणालीको भाषा पढाउने, जापान सरकारले कहिं कतै आधिकारिक रुपमा नतोकेको एन फोरको परिक्षा ग्यारेण्टीका साथ पास गराइदिने भन्दै विज्ञापन गरिरहेका नेपाली कन्सल्ट्यान्ट हरुलाई कसैको अकालमा ज्यान जाने सम्मको घट्ना घट्न नदिन एन फोरको को भूत हटाउन अनुरोध छ । त्यस्तै लहैलहैमा नलाग्न र मीठाकुरामा नफस्न पनि सम्बन्धित सबैमा बिनम्र अनुरोध छ ।

मैले यति भनिरहँदा ति तमाम कन्सल्टेन्सीहरु जसले जापानका बारेमा सही निर्देशन दिन्छन्, जापानका बारेमा बुझेका छन् तिनीहरुलाई दोष दिइरहेको छैन । मेरो रिसराग तिनैप्रति छ जस्ले जापानको नाम भजाएर आफ्नो खल्ती मोटो पार्नेबाहेक केही सोचेका छैनन । मेरो बुझाइमा कुनैपनि देशको भाषा जान्नु सिक्नु नराम्रो काम हुँदै होइन । जापानको हकमा पनि एन फाइभ, एन फोर वा एन थ्रि जति पास गर्न सक्नेगरि पढ्नुहुन्छ त्यति राम्रो हो तर सबै कुराको निर्णय जापान सरकारबाट नभइरहेको, एन फोर नै आधिकारिक रुपमा घोषणा नभएको, नयाँ किसिमको भाषा परिक्षा र पाठ्यक्रमको तयारी हुँदैगरेको, सम्भवत निश्चित मापदण्ड पूरा गरेका भाषा प्रशिक्षण केन्द्रहरुले मात्र सो पाढ्यक्रममा रही पढाउन पाउने बनाइनसक्ने अवस्थामा हल्लाकै भरमा एन फोरको पछि लाग्नु पक्कै बुद्धिमतापूर्ण छैन । जापानी भाषा, रहनसहन, संस्कृतिका बारेमा अनलाइनमै पनि धेरै जानकारीहरु उपलव्ध छन् । भाषा सम्बन्धमा जापान सरकारको आधिकारिक निर्णय नआउन्जेल तिनै अनलाइन सामाग्रीहरु पनि पढ्न सकिन्छ । सस्तो मूल्यमा सोही श्रम अनेकन देशमा बेच्न बाध्य नेपालीहरुका लागि राम्रो अवसर हुनसक्छ तर जापान सजिलो देश भने होइन । अनावश्यक हल्लाका पछि लागेर ठूलो सपना नपाल्नुनै बेस हुन्छ ।

( यि लेखकका निजी विचारहरु हुन् । उनी टोकियोको एक भाषा स्कुलमा कार्यरत छन् ।साभार:http://beingnp.com

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l