पर्यटकको बाटो कुर्दै टोलाई रहेछ ‘भू-स्वर्ग’

१४ बैशाख २०७६
banner

काठमाडौं । चौतर्फी जंगल, बीच बीचमा रमाइला दलदले फाँट, कतै समथर त कतै भिरालो। जब त्यो ठाउँमा पुगिन्छ, तब स्वर्गकै आनन्द मिल्छ। त्यो ठाउँ हो, खप्तड। जुन ‘भू-स्वर्ग’को उपमाले परिचित छ।

समुन्द्री सतहदेखि २ हजार ७ सयदेखि ३ हजार दुई सय २७ मिटरसम्मको उचाईमा अवस्थित खप्तड दुईसय २५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको विश्वकै एक दलदले घाँसे मैदान हो।

सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड क्षेत्र नेपालकै बिभिन्न पर्यटकीय क्षेत्रहरुमध्येको एक हो। जसमा सयौं विदेशी तथा हजारौं नेपाली पर्यटकहरुले पत्यक्ष अवलोकन गरी भू–स्वर्गको व्याख्या गरिसकेका छन्।

चारैतिर खस्रु, धुपीसल्ला र लाली गुराँसका जंगलको बीचमा रहेका पाटनहरु एकदमै मनमोहक छन्। रङ्गीबिरङ्गी फूलहरु, धार्मिक स्थलहरु, जंगली जनावर तथा चराचुरुङ्गीले खप्तडको महिमा झनै बढाएको छ। प्राकृतिक दृश्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोलाहरु, मैदान तथा फाँटहरुलगायतका अन्य दृश्यह हेर्दा खप्तडको सामिप्यताको दुरी झनै प्रगाढ होस् भन्ने जो कोहीको मनमा लाग्छ।

२२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ। यस्ता थुप्रै अनुपम बोकेको खप्तड आफ्नो सुन्दरता सबैलाई देखाउने मौका अझै पाउन सकेको छैन। जेठ महिनामा लाग्ने गंगा दशहरा मेला बाहेकको समयमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुले पत्यक्ष अवलोकन गरिरहेका हुन्छन्। ०४३ देखि ०६४ सम्ममा मात्रै खप्तड पुग्ने विदेशी पर्यटकको संख्या २ सय ५२ थियो। त्यसपछि दिनानुदिन खप्तड जाने पर्यटकको संख्या बढ्दै गएको छ।

खप्तडको चिनारी

पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको क्षेत्र खप्तड हो। खप्तडलाई ‘खेचरी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ। यस क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्ने क्रममा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ।

खप्तडका फाँटहरुको छेउछाउमा भएका झोतीहरु दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का (झोती) बनेका हुन्। भन्ने बुझाई रहेको खप्तड छान्ना गाउँपालिका ५ का जानकार लक्ष्मीकान्त जोशी बताउँछन्।

वि.सं २००२ साल बझाङ्गी राजा रामजगं सिहंको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रुपमा रहको बताउदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार/प्रसार गरेपछि यस ठाँउको सुन्दरताले चर्चा पाउँदै आएको बुझिन्छ।

के-के देख्न पाइन्छ खप्तडमा ?

‘भू–स्वर्ग’ शब्द झट्ट सुन्दा स्वर्ग नै हो की भनेर सबैको मनमा कौतुहलता जाग्छ  प्रकृतिको अनुपम उपहार। आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गबाट नै एक टुक्रा खसेर आए जस्तो। हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुन्छ।

२२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरु भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको आश्रम, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन्। यी क्षेत्र तथा स्थानहरुको आ–आफ्नै महत्व छ। जसले आम जनमानसलाई लोभ्याइ राख्छन्। यी सबै धार्मिस्थलहरु फरक फरक ठाउँमा छन्। एकठाउँबाट अर्को ठाउँ जान करिब १÷२ देखि ४÷५ घण्टासम्म समय लाग्ने गर्छ।

गंगादशहरा मेलाका दिन त्रिबेणीमा नुहाँउदा पाप पखालिने, पित्रृलाई तर्पण दिदा पित्रृले मुक्ति पाउने र स्वर्ग जाने, आफूले मागेको कुरा पुरा हुने बिश्वास रहेकोले यो मेला बढी आकर्षण बनेको बुझिन्छ।

प्रत्येक बर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र इन्द्रजात्रा मेला लाग्ने गर्छ। जेठ/असार महिनामा गंगा दशहरा र साउन÷भदौमा खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ। सदियौँदेखि खप्तडमा गंगा दशहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ।

चार जिल्लाको बिचमा अवस्थित खप्तड क्षेत्रका मेलाहरुमा हजारौं तीर्थयात्रीहरु भूस्वर्गको अनुभब गरिरहेका हुन्छन्। सुदूरपहाडका चारवटा जिल्लाहरु बाहेका सुदूरपश्चिमलगायत नेपालकै खप्तडको महत्व बुझेकाहरु तीर्थालु भएर आउँछन्। बि.स २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले जनमानस तान्ने गरेको छ। खप्तडमा बाबाको आगमन पछि राजा स्थानीयहरुले राजा बीरेन्द्रलाई ज्ञापनपत्र पुझाएर २०४२ सालमा राष्ट्रिय निकुञ्ज गराएको बुझिन्छ।

२ सय भन्दा बढी प्रजातिका फूल, बहुमुल्य जडिबुटीका साथै कस्तुरी, मृग, बदेल, डाँफे जस्ता जंगली जनावरहरुको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको हो। हाल प्रमुख सेनानी (गणपति)को नेतृत्वमा करिब तीन चार सय जना नेपाली सेनाहरुले सुरक्षा दिइरहेका छन्।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका चार जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ। यस निकुञ्जमा सल्ला, खसुर र निगालाका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन्। यहाँ पाइने वन्यजन्तु तथा सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ।

खप्तड राष्ट्रिय निकुञ्जलाई चिनाउन खप्तड बाबाको महत्वपूर्ण योगदान छ। भारतमा जन्मेका स्वामी सच्चिदानन्द सरस्वती नै खप्तड क्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाको उपनामले चिनिएका थिए। झण्डै ५ दशक खप्तडको जैबिक बिबिधतामा रमाएका बाबाको निधन २०५३ सालमा भएको थियो।

को हुन् खप्तड बाबा ?

खप्तडमा ५० वर्ष बिताएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन्। सन् १८८० मा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विक्रम संवत १९८६मा नेपाल आएका थिए।

संन्यास लिनु पूर्व उनी प्रतिभावान् डाक्टर थिए। उनले कलकत्ता स्थित ट्रपिकल मेडिकल कलेजबाट एम.बी.बी.एस. र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए भने काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पश्चात् गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए।

उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित छन भने प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू पनि खप्तड बाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन्। उनको विस २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो।

राजनीतिकरणले खप्तड विकासमा अन्यौल

पछिल्लो समयमा लाखौं पर्यटक भित्र्याउनु पर्नेमा राजनीति खिचातानीले गर्दा विकास हुनु भन्दा बिनास भइरहेको छ। आएको अर्बौं बजेट पार्टीका नेता तथा कार्यकर्ता पाल्नमै बराबर भएको छ। खप्तडमा बन्नेका भवनहरु करोड भन्दा कम बजेटका छैनन् तर त्यसमा ५० प्रतिशत बजेट पनि सदुपयोग भएको छैन।

सुदूरको सुन्दर खप्तड विकास गर्नका लागि जो पार्टी सरकारमा जान्छ, खप्तडको बजेटमा उसैको कार्यकर्ताले भागबन्डा गरेर खाएको समाचार बेलाबखतमा आइरहन्छन्। त्यसै कारणले पनि वर्षेनी विनियोजन हुँदै आएको करिब २० करोड भन्दा बढीको रकमले गतिलो काम केही बनेको दैखिदैन। निर्माण भएका पर्यटकीय भवनहरु पनि पर्याप्त छैनन्। ती पनि टिकाउ खाले छैनन्।

भौतिक पूर्वाधारको असुविधाका कारणले पनि पर्यटकलाई सास्ती हुने गरेको छ। खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे संचालन गर्न सकेमा केही हदसम्म सुबिधा हुन सक्थ्यो। एक करोडको भवन भित्र सुत्नलाई बेड विस्तरा हुदैन। खानेपानी तथा चर्पीको व्यवस्था हुदैन।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी देशभरका पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा पर्यटकलाई आवश्यक सुविधा दिनुपर्नेमा उच्च ओहदाका व्यक्तिहरु नै गैर जिम्मेवार देखिन्छन्।

जुन पार्टीको सरकार आउँछ, त्यसै पार्टीको नेता कार्यकर्ता खप्तड क्षेत्र विकास समितिको अध्यक्ष भएर आउँछ, त्यसले गर्दा आएको बजेटमा पनि कार्यकर्ताको रजाँई हुँदै आएको साविकको माझिगाउँ गाविस मेल्तडीका दिपेन्द्र रावलले बताए।

कसरी जाने खप्तड ?

देशको राजधानी काठमाडौंबाट करिब १२ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ। हवाइजहाजमा पनि धनगढीसम्म जान सकिन्छ। अत्तरियाबाट खप्तड जानलाई बझाङ्ग, बाजुरा, अछाम र डोटीबाट जाने प्रबेशद्धार बनाएका छन्। तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ्ग छान्नाको मेल्तडी पर्छ। किनकी मेल्तडीसम्म नै गाडी जान्छ। त्यहाँबाट खप्तड जान जम्मा अढाइ घण्टा मात्र समय लाग्छ।

त्यस्तै बाजुराबाट पनि सडकबाट करिब सात आठ घण्टा बराबर समय लाग्छ। त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सबारीसाधन पुग्ने ठाउँबाट करिब चार/पाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मुल प्रबेशद्धार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ।

अन्य जिल्लाबाट जान फुर्सदमा हिड्ने पर्यटकलाई सहज हुन्छ भने छोटो समयमा खप्तड भ्रमण गर्ने पर्यटकलाई भने बझाङ्गबाट नै सजिलो पर्छ। अन्य जिल्लामा एक दुई दिन हिडेर खप्तड पुगिन्छ भने बझाङ्गबाट खप्तड जाँदा त्यो अरु जिल्लाको बाटोकै समय बराबर खप्तडमा केही महत्वपूर्ण ठाउँहरु घुम्न सकिन्छ।

बझाङ्ग जिल्लाकै छान्ना क्षेत्रबाट मेल्तडीलगायत पाटादेवल, लामातोला, पौवागढी, थलारा क्षेत्रहरुबाट खप्तड जान पनि थोरै समय लाग्छ। चार वटै जिल्लाका स्थानीयहरुलाई खप्तड जान भने बाजुराको (साबिकको काँडा गाबिस), अछामको (साबिकको खप्तड गाबिस) लगायतका अन्य गाउँहरु र डोटीको सायल, झिग्राना, काँडामाडौंबाट स्थानीयहरुलाई खप्तड जान आउन सजिलो पर्छ।

कति खर्च/समय लाग्छ ? के-के चीज बोकेर जान आवश्यक हुन्छ ?

काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च भने लाग्दैन। काठमाडौंबाट हवाईजहाजमा जाने हो भने चार हजारदेखि ८ हजारसम्मको टिकट लाग्छ धनगढी पुग्न मात्र। बसमा जानेहो भने १५ सयमा कैलालीको अत्तरिया बजारसम्म गाडीभाडा लाग्छ। बसमा समय १२ घण्टामा अत्तरियामा पुगिन्छ।

अत्तरियाबाट खप्तड जानका लागि भने उड्ने साधन पाइदैन गुड्ने साधन मात्र पाउने गर्छ त्यो पनि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म। बझाङ्ग जिल्लाबाट भएर जाने हो भने प्रतिव्यक्ति ८ सय रुपैंया गाडी भाडा लाग्छ। समय भने आज बेलुका गाडीमा जाँदा भोली बिहान तमैल बजार हुदै करिब १२ बजेसम्म मेल्तडी बजारमा पुगिन्छ। मेल्तडीमा खाना खाएर हिडेर नै जानुपर्छ। दिउँसो २/३ बजे नै खप्तड पुगिन्छ।

यस्तै डोटीबाट जाने हो अत्तरियाबाट ८ घण्टामा डोटीको सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ। झिग्रानाबाट करिब ७ घण्टाको पैदल हिडेर खप्तड पुगिन्छ। प्रतिव्यक्ति ८ सय रुपैंया गाडी भाडा लाग्ने गर्छ।

करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौंबाट गएर काठमाडौं पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्युनतम दश हजार लाग्ने गर्छ।

खप्तडमा होटलको (खान, बस्न) ब्यवस्था छ। तरपनि जाँदा पाल, स्लिपिङ व्याग, ड्राइफुडहरु, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु पर्छ, सकिन्छ भने बेड बिस्तारालगायतका सामानहरु आफैंले लगेमा धेरै फाइदा हुन्छ।

खप्तडका मुल समस्याहरु भोक र चिसो नै हो। त्यस्तै बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डप्लास्ट बोकेर जानुपर्छ। स्थानीयहरु भन्छन, ‘यो खप्तड क्षेत्र जडिबुटीको भण्डार हो र यहाँबाट चल्ने हावा औषधीयुक्त हुन्छ।’

खप्तडको मौसम पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ। क्षण क्षण मै मौसम परिवर्तन हुन्छ। १० मिनेट अगाडी घाम लागेका देखिन्छ भने कहिलेकाही १० मिनेटमै पानी पर्ने गर्छ। पानी परेमा ती रमाईला फाँटहरु एकैछिनमा जलासयमा परिणत हुन्छन्। किनकी खप्तडको पानी जमिनमा भिज्दैन्। सबै बगेर जान्छ।

आकाशको पानी बन्द हुने बित्तिकै एकैछिनमा जम्मा भएको जलाशययुक्त पानी सबै बगेर ओबानो (सुख्खा) हुन्छ। यो खप्तडको विशेषता हो। खप्तडको महत्व भने करिब एक हप्ता खप्तडमा बस्ने हो भने त्यहाँ भएको सबै मनोरम दृश्यहरु अनुभबबाटै बुझिन्छ।

भू-स्वर्गमा पर्यटक भित्र्याउन गाउँपालिकाले होमस्टे बनाउँदै

नेपाल भ्रमण वर्ष २०२० लाख सफल पार्न स्थानीय निकायहरु पनि उत्साहित भएका छन्। भू–स्वर्गको उपमाले चिनिएको खप्तडमा पर्यटक भित्र्याउनका लागि खप्तड छान्ना गाउँपालिकाले लोखाडामा होमस्टे सञ्चालन गर्ने भएको छ।

पर्यटक भित्र्याउनका लागि प्रचारप्रसारका साथै स्थलगत अध्ययन गरेर डकुमेन्ट्री बनाएको र त्यसका आधारमा पनि पर्यटकहरु भित्रिदै गरेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताए।

खप्तड भ्रमणका लागि सबैभन्दा नजिक बझाङ्गबाट पर्ने हुँदा पर्यटकहरु पनि बसन्त ऋतुमा त दैनिक जसो दर्जनौं पर्यटक भित्रिदै गरेको अध्यक्ष रोकायाले बताए। ‘पर्यटकलाई असहज नहोस् भन्नका लागि र खप्तड विकासका लागि स्थानीय तहले होमस्टे सञ्चालन गर्ने भएका हौं।’ उनले भने।

माननीय संसद भैरबबहादुर सिंहको गैह्र जिम्मेवारपूर्ण तर्क

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि देशभरका पर्यटकीय स्थलको विकास गर्न सबै निकायहरु लागि परेका छन्। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित स्थानीय तह, प्रदेश र संघीयले पर्यटन र पर्यटकमा केन्द्रीत भएर विभिन्न कार्यक्रमहरु ल्याएका छन्।

हामी उठ्ने छौं, हामी जुटौं, देश बनाऔं जस्ता कार्यक्रमहरु ल्याएर बिभिन्न पर्यटन व्यवसायी तथा अन्य निकायहरुले कार्यक्रम सार्वजनिक गर्दासमेत केही जनप्रतिनिधि भने गैह्र जिम्मेवारपूर्ण तर्क दिदै आएका छन्।

बझाङ्गबाट प्रतिनिधि सभा सदस्य भैरब बहादुर सिंहले खप्तडमा पर्यटक भित्र्याउन कुनै काम नगरेको बताएका छन्। डिसी नेपालकर्मीसंग टेलिफोनमा कुरा गर्दै सांसद सिंहले भने, ‘पर्यटक भित्र्याउन अहिलेसम्म केही गरेको छैन।

पर्यटकहरु आउँछन् जान्छन्, हामीले केही गर्नुपरेको छैन। बरु अब के गर्नुपर्छ भने गरौंला।’ खप्तडमा पर्यटक भित्र्याउन जनदबाब आएमा पर्यटन मन्त्रालयसंग समन्वय गरेर केही काम गर्नुपर्ला भन्ने संकेत उनले देखाए।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I