खप्तडको गंगादशहरा मेला : प्रकृति र संस्कृतिको अनुपम संगम

२८ जेठ २०७६
banner

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र ‘भू–स्वर्ग’को उपमाले चिनिएको खप्तडमा शनिवारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भएको छ। विशेष गरी मंगलबार र बुधबार लाग्ने गंगादशहरा मेलामा विभिन्न संघ संगठनहरुले कार्यक्रम आयोजना गरिरहेका छन्।

डोटी उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको गंगा दशहरा मेलामा खुला पूरुष भलिवल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको डेउडा प्रतियोगिता यसपटक पनि आयोजना गरिएको छ।

गंगादशहरा मेलामा करिब ५० हजार तीर्थालुहरुले वर्षेनी जाने गर्छन्। सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरुमध्येको एक हो।

खप्तड एक प्रकृतिको अनुपम उपहार हो – जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गकै एक टुक्रा खसे जस्तो । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुने ठाउँ।

२२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन्।

यी क्षेत्र तथा स्थानहरुको पनि आ–आफ्नै महत्व छ। जसले आम जनमानसलाई लोभ्याइराख्छन्। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काहरु (झोती)। यसले खप्तडलाई अझै उचाइमा पुर्याएको छ।

भू–स्वर्गको ऐतिहासिकता

पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ। खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ। खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ।

‘गंगा दशहरा मेलामा जाऔं, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ।

मेलामा खप्तड एउटा धार्मिक तथा सौन्दर्यको केन्द्रबिन्दु मानिएको हुँदा जाँडरक्सी तथा माछामासुको परिकार बिक्री गर्नुहुदैन भन्ने धार्मिक मान्यता रहेपनि बिगतका केही वर्षमा जाँडरक्सी तथा माछामासुले खप्तडको गरिमा घटाएको स्थानीयहरु दाबी गर्छन्। स्थानीय ४ जिल्लाका तीर्थालुहरुले नै मेलामा जाँडरक्सी, बलात्कार, गुण्डागिर्तीजस्ता घटनालाई नियन्त्रण गर्न सकेमा तीर्थालुको संख्या अझै बढ्ने निश्चित छ।

गंगादशहरा मेलामा जाने तीर्थयात्रीहरु गंगादशहरा मेलाका दिन त्रिबेणीमा नुहाँउदा पाप पखालिने, पित्रृलाई तर्पण दिदा पित्रृले मुक्ति पाउने र स्वर्ग जाने, मनको ईच्छा पुरा हुने गाढा बिश्वास रहेकोले यो मेलाको आकर्षण बढेको हो।

वर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र इन्द्रजात्रा मेला लाग्ने गर्छ। जेठ÷असार महिनामा गंगा दशहरा र साउन/भदौमा खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ।

बिस २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले पर्यटकलाई आफुतर्फ आकर्षित गर्दै आएको छ। समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाई र दुईसय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो।

२ सय भन्दा बढी प्रजातिका फूल, बहुमुल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफे जस्ता जंगली जनावर तथा पँक्षीको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको बताइन्छ।

वि.सं २००२ साल बझाङ्गी राजा रामजगं सिहंको अगुवाइमा भू–स्वर्गकाका जंगलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रुपमा रहेको बताउँदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार/प्रसार गरेपछि यस ठाउँको महिमा र सुन्दरताले व्यापक चर्चा पायो।

कसरी जाने/पुग्ने खप्तड ?

देशको राजधानी काठमाडौंबाट करिब १५ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ। हवाइजहाजमा पनि धनगढीसम्म जान सकिन्छ। अत्तरियाबाट खप्तड जानलाई बझाङ्ग, बाजुरा, अछाम र डोटीबाट जाने प्रबेशद्वार बनाएका छन्। तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ्ग छान्नाको मेल्तडी पर्छ। किनकी मेल्तडीसम्म नै गाडी जान्छ। त्यहाँबाट खप्तड जान जम्मा अढाइ घण्टा मात्र समय लाग्छ।

त्यस्तै बाजुराबाट पनि सडकबाट करिब सात आठ घण्टा बराबर समय लाग्छ। त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सबारीसाधन पुग्ने ठाउँबाट करिब चाररपाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मुल प्रबेशद्वार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ।

अन्य जिल्लाबाट जान फुर्सदमा हिड्ने पर्यटकलाई सहज हुन्छ भने छोटो समयमा खप्तड भ्रमण गर्ने पर्यटकलाई भने बझाङ्गबाट नै सजिलो पर्छ। अन्य जिल्लामा एक दुई दिन हिडेर खप्तड पुगिन्छ भने बझाङ्गबाट खप्तड जाँदा त्यो अरु जिल्लाको बाटोकै समय बराबर खप्तडमा केही महत्वपूर्ण ठाउँहरु घुम्न सकिन्छ।

बझाङ्ग जिल्लाकै छान्ना क्षेत्रबाट मेल्तडीलगायत पाटादेवल, लामातोला, पौवागढी, थलारा क्षेत्रहरुबाट खप्तड जान पनि थोरै समय लाग्छ। चार वटै जिल्लाका स्थानीयहरुलाई खप्तड जान भने बाजुराको (साबिकको काँडा गाबिस), अछामको (साबिकको खप्तड गाबिस) लगायतका अन्य गाउँहरु र डोटीको सायल, झिग्राना, काँडामाडौंबाट स्थानीयहरुलाई खप्तड जान आउन सजिलो पर्छ।

कति खर्च, समय लाग्छ ? के–के चीज बोकेर जान आवश्यक हुन्छ ?

काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च भने लाग्दैन। काठमाडौंबाट हवाईजहाजमा जाने हो भने चार हजारदेखि ८ हजारसम्मको टिकट लाग्छ, धनगढी पुग्न मात्र। बसमा जाने हो भने १५ सयमा कैलालीको अत्तरिया बजारसम्म गाडीभाडा लाग्छ। बसमा समय १५ घण्टामा अत्तरियामा पुगिन्छ।

अत्तरियाबाट खप्तड जानका लागि भने उड्ने साधन पाइदैन गुड्ने साधन मात्र पाउने गर्छ त्यो पनि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म। बझाङ्ग जिल्लाबाट भएर जाने हो भने प्रतिव्यक्ति ८ सय रुपैंया गाडी भाडा लाग्छ। समय भने आज बेलुका गाडीमा जाँदा भोली बिहान तमैल बजार हुदै करिब १२ बजेसम्म मेल्तडी बजारमा पुगिन्छ। मेल्तडीमा खाना खाएर हिडेर नै जानुपर्छ। दिउँसो २/३ बजे नै खप्तड पुगिन्छ।

यस्तै डोटीबाट जाने हो अत्तरियाबाट ८ घण्टामा डोटीको सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ। झिग्रानाबाट करिब ७ घण्टाको पैदल हिडेर खप्तड पुगिन्छ। प्रतिव्यक्ति ८ सय रुपैंया गाडी भाडा लाग्ने गर्छ।

करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौंबाट गएर काठमाडौं पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्युनतम दश हजार लाग्ने गर्छ।

खप्तडमा होटलको (खान, बस्न) ब्यवस्था छ। तरपनि जाँदा पाल, स्लिपिङ व्याग, ड्राइफुडहरु, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु पर्छ, सकिन्छ भने बेड बिस्तारालगायतका सामानहरु आफैंले लगेमा धेरै फाइदा हुन्छ।

खप्तडका मुल समस्याहरु भोक र चिसो नै हो। त्यस्तै बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डप्लास्ट बोकेर जानुपर्छ। स्थानीयहरु भन्छन, ‘यो खप्तड क्षेत्र जडिबुटीको भण्डार हो र यहाँबाट चल्ने हावा औषधीयुक्त हुन्छ।’

खप्तडको मौसम पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ। क्षण क्षण मै मौसम परिवर्तन हुन्छ। १० मिनेट अगाडि घाम लागेका देखिन्छ भने कहिलेकाही १० मिनेटमै पानी पर्ने गर्छ। पानी परेमा ती रमाईला फाँटहरु एकैछिनमा जलासयमा परिणत हुन्छन्। किनकी खप्तडको पानी जमिनमा भिज्दैन्। सबै बगेर जान्छ।

आकाशको पानी बन्द हुने बित्तिकै एकैछिनमा जम्मा भएको जलाशययुक्त पानी सबै बगेर ओबानो (सुख्खा) हुन्छ। यो खप्तडको विशेषता हो। खप्तडको महत्व भने करिब एक हप्ता खप्तडमा बस्ने हो भने त्यहाँ भएको सबै मनोरम दृश्यहरु अनुभबबाटै बुझिन्छ।

साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका चार जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ। यस निकुञ्जमा सल्ला, खसुर र निगालाका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन्। यहाँ पाइने वन्यजन्तु तथा सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ। खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ्गकाे खप्तड छान्नालाई मानिन्छ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli