हजुरबुवाको कुरा कहिल्यै पत्याएनन् तर ठिक भन्थे उनी, जमिनभित्र लुकेको थियो ठूलो रहस्य

२६ आश्विन २०७५

banner

एजेन्सी। डेनमार्कका क्लस क्रिस्टिन्सन सानो हुँदा उनका हजुरबुवाले उनलाई धेरै कथाहरु सुनाउँथे । गर्मीको विदामा क्लस हजुरबुवाको फार्महाउसमा बस्न जान्थे । त्यहाँ हजुरबुवाका कथा सुन्न उनलाई निकै रमाइलो लाग्थ्यो । 

एक दिन हजुरबुवाले उनलाई दोस्रो विश्वयुद्धको बेलाको कथा सुनाए । क्लवले यो कथालाई पनि काल्पनिक ठानेका थिए । उनको हजुरबुवाको मृत्युको कैयौं वर्षपछि उनी र उनका १४ वर्षका छोराले बल्ल थाहा पाए कि हजुरबुवाको कहानी सत्य थियो । 

क्लसका अनुसार उनका हजुरबुवा भन्थे कि दोस्रो विश्वयुद्धका बेला उनीहरुको फार्महाउसमा एउटा घटना घटेको थियो । फार्महाउसमा एउटा लडाकू विमान विष्फोटका साथ खसेको थियो । युद्ध चलिरहेका कारण उनी त्यसलाई हेर्न भने कहिल्यै गएनन् । क्लसलाई लाग्यो कि यो कहानी पनि अरु कहानीजस्तै काल्पनिक हो । 

एक दिन क्लसका १४ वर्षका छोरालाई स्कुलबाट एउटा प्रोजेक्ट दिइयो । यो प्रोजेक्ट दोस्रो विश्वयुद्धको जानकारी जुटाउनको लागि दिइएको थियो । क्लसका छोरा आफ्नो प्रोजेक्टका विषयमा मद्दत माग्न क्लससँग आए । क्लसले पनि मजाकमै भने कि हजुरबुवाको फार्महाउसमा हेर्न जाउँ शायद त्यहाँ उहाँको कथावाला विमान भेटिएला । 

क्लस र उनका छोरा फार्महाउस पुगे । त्यहाँ गएर उनीहरुले निकै परिश्रम गर्दा पनि विमानको एक टुक्रा पनि भेट्न सकेनन् । त्यहाँ जताततै जंगली घाँस र रुख थिए । त्यसपछि दुवैले मेटल डिटेक्टरको मद्दत लिए । यति गर्दा पनि केही हात लागेन । अन्ततः क्लसलाई लाग्यो कि उनका हजुरबुवाको यो कथा पनि काल्पनिक नै थियो । उनीहरु फार्महाउसबाट फर्कने तयारी गर्र्दै थिए यत्तिकैमा मेटल डिटेक्टरले तीव्र आवाज दिन थाल्यो । 

दुवैले मिलेर अलिकति खने तर केही भेटिएन । त्यसपछि दुवैले मेसिनको सहयोगले खन्न थाले । करिब १५ फिट खनेपछि उनीहरुले केही भेटे । खन्दै जाँदा उनीहरुले धातुका टुक्राहरु भेट्टाउँदै गए । टुक्राहरु हेर्दा प्रस्ट थियो कि यी विमानका टुक्रा हुन् । खन्दै जाँदा उनीहरुले विशाल इन्जिन भेटे । इन्जिन देखेपछि क्लसले बुझे कि हजुरबुवाको कथा सत्य थियो । त्यो इन्जिन दोसे विश्वयुद्धमा प्रयोग गरिएको जर्मन सेनाको विमान मेसरमिटको थियो । 

उनीहरु खन्दै थिए र इतिहासका नयाँ पाना खुल्दै थिए । अचानक विमानको इन्जिनपछि उनीहरुले एउटा हात भेटे । हात देखेपछि दुवै डराए । त्यो एउटा जमेको शरीर थियो । शरीरसँग कपडा पनि थिए । कपडामा बाइबल पनि थियो । त्यो लाश त्यही विमानका पाइलटको थियो । क्लसलाई लाग्यो कि अब उनलाई सहयोगको आवश्यकता छ । त्यसपछि उनले पुलिसलाई खबर गरे । 

क्लसको सूचनाको आधारमा पुलिस र विशेषज्ञको टिम घटनास्थल पुग्यो । चिसोका कारण पाइलटको शरीर सुरक्षित थियो जसलाई फरेन्सिक विशेषको टिमले बाहिर निकाल्यो । रेकर्डबाट थाहा भयो कि यी १९ वर्षका पाइलट हेन्स वंडर लिंच थिए जो लिथुआनियाका थिए । सेनाले उनको शव उनको घरमा पठायो जहाँ ७० वर्षपछि उनको अन्तिम संस्कार गरियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »