माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

१ चैत्र २०७५
banner

जमुना वर्षा शर्मा 

चिप्लेढुङ्गा।  सुन्दर नगरी पोखरा। नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल। यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ। यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन्। प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन्। 

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ। पछिल्लो समय यस हिमालको आरोहण खोलिनु पर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ। छ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई स्वागत गरे झै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउँछन्। पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छन्।

विसं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउनुहुँदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग। त्यसपछिका दिनहरुमा उनी पोखराको सुन्दरतामा रमाए र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बने। 

माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुशी भए। माछापुच्छ्रेको कुमारीत्व जोगाउनु पर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो। तर्कसहित लेख्न शुरु गरे। एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरुमा डा हर्क गुरुङ्गजस्ता विद्वानहरु थिए। उनी आफ्ना धारणामा शुरुदेखि नै अडिग रहँदै आए। धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि। 

माछापुच्छ्रेलाई ‘यशोधरा’ ठान्छन् उनी। पचास वर्ष अघिदेखि माछापुच्छ्रेलाई मनमा सजाएर राख्दै आएका उनलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ। विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ। आमादब्लममा आरोहण हुन्छ। माछापुच्छ्रेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनु पर्ने विचार राख्ने उनको प्रश्न छ– माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ? आजसम्म हिमाल आरोहणबाट कति कमायौं र अब माछापुच्छ्र«ेबाट पनि कमाउने आशा राखेका छौ?” 

पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन्। 

उनले भने– “गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरी) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरु मौन छन्। अहिले एकाएक माछापुच्छ्रे आरोहणको विषय उठाउनु सान्दर्भिक छैन। हामी अध्ययन विना हतारिन्छौ। माछापुच्छ्रेको सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन।” माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट‘को रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ। 

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्रे हिमालको आरोहण खोल्न पहल भएको बताए। “प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नु पर्छ,” उनले भने– “माछापुच्छ«्रेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ। अब हेरेर बस्ने कुराको मात्रै तर्क गरेर हुँदैन।” 

जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनी ठान्छन्। उनले भने– “हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसङ्ग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन।” 

सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए। नसकेर बीचबाटै फर्के। आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार विसं २०२० पछि यसको आरोहण बन्द छ। 

कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल। नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उनको तर्क छ। 

सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो। हाल त्यहाँ आरोहण गर्नेको सङ्ख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मन पराउँछन्। माछापुच्छे«्रमा उचाइ र सुन्दरता दुबै विशेषता भएकाले आरोहीको रोजाइ पर्ने तर्क गुरुङ्गको छ। 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे आरोहण अनुमति अध्ययनको विषय रहेको बताए। नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा ८ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै ८ वटा छन्। माछापुच्छ्रे हिमाल आरोहणका विषयमा उहाँले भन्नुभयो “माछापुच्छ्रे  हिमाल आरोहण के कारणले रोकिएको थियो? आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेर मात्रै सान्दर्भिक निर्णय गरिनेछ। हिमाल आरोहीको तथ्याङ्गलाई पनि हामी केलाउँछौं।” 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन्– पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छ्रे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गरे। विसं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ। सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ। 

उनले माछापुच्छ्रे हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकाले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताए। नेपालमा सन् १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए। उनले त्यस बेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए । बेलायतीहरु हाबी रहेको त्यो समयमा उनीहरुकै बोली बिक्ने गरेको लामा बताउँछन्। सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही बेलादेखि यस संस्थाको सिफारिशमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्छन्। 

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ। रासस

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l