
एजेन्सी। हिन्दी फिल्म ‘बेटा’ मा ‘धक धक करने लगा’ बोलको गीतबाट चर्चित भएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब मतदातलाई ‘धक धक’ बनाउने यात्रामा अगाडी बढेकी छन् ।
भारतीय सञ्चारमाध्यमले आगामी वर्ष हुने आम निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले उलाई पूर्णेबाट टिकट दिन सक्ने बताएका छन् । यही वर्ष जूनमा भाजपा अध्यक्ष अमित शाहले माधुरीसँग ‘सम्पर्क फर समर्थन’ अभियानअनुसार भेटवार्ता गरेपछि माधुरी भाजपामा प्रवेश गर्ने अनुमान गरिएको थियो ।
भाजपाका एक वरिष्ठ नेताले माधुरीलाई लोकसभा चुनावमा उम्मेदवार बनाउने विषयमा गम्भीर भएर सोचिरहेको बताएका छन् । उनले माधुरीका लागि पूर्णे सिट सबैभन्दा उचित हुनेसमेत बताएका छन् । उनले पार्टी भित्र आगामी चुनावका उम्मेदवारहरुबारे छलफल चलिरहेकोसमेत उनले बताए ।
२०१४ को चुनावमा पूर्णे सिट भाजपाले जितेको थियो । त्यतिबेला भाजपाका अनिल शिरोले काँग्रेस उम्मेदवार विश्वजीत कदमलाई ३ लाखभन्दा धेरै मतान्तरले पराजित गरेका थिए ।
ती नेताले प्रधानमन्त्री नरेन्द्र मोदी चुनावमा नयाँ अनुहारलाई टिकट दिने विषयमा गम्भीर रहेको बताए । यस्तै रणनीतिअनुसार मोदी पहिलो पटक गुजरातमा मुख्यमन्त्री बनेको भन्दै उनले त्यस बेला स्थानीय चुनावमा मोदीले सबै नयाँ अनुहारलाई उम्मेदवार बनाएकोसमेत बताए । नयाँ अनुहारलाई चुनावी मैदानमा उतार्नु पार्टीका लागि फाइदाजनक भएकोसमेत उनले बताए ।
बलिउड हस्तीहरु विभिन्न समयमा राजनीतिमा हामफाल्ने गरेका छन् । अब यो सूचीमा माधुरीको नाम पनि थपिने सम्भावना बढेको छ ।