‘मलेशिया नखुलेकै राम्रो, सुरक्षाको ग्यारेन्टी हुँदैन भने सधैंका लागि बन्द होस्’

२९ पौष २०७५
banner

काठमाडौं। मलेशियामा ४ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका सागर श्रेष्ठ भन्छन्, ‘अन्य देशमा नै नेपाली कामदार पठाउने विकल्प सरकारले खोज्न सके मलेशिया रोजगारीमा नेपाली कामदार पठाउन नखुलेकै राम्रो। मलेशियामा नेपाली कामदारलाई पाइलैपिच्छे डर हुने र सामाजिक सुरक्षाको कुनै ग्यारेन्टी नहुने समस्या छ।’

श्रेष्ठलेका अनुसार  तलब नेपालमा भनेजति  नहुने, सेक्युरिटी गार्डको काम गर्दा मासिक बढीमा ९ सय रिँगेट मात्रै हुने, कम्पनीको हेपाहा प्रवृतिका कारण नेपाली श्रमिक पीडित हुनुपर्छ। 

मलेशियामा नेपाली कामदारहरुलाई खाने, बस्ने र अन्य सेवासुविधा समेत राम्रो नभएको उनको भनाइ छ।  आफूहरुलाई बाख्रालार्ई खोरमा राखेजस्तो कोचेर राखिने, कोठामा बेड र ओच्छ्याउने कपडाहरु नहुँदा कार्टुन तथा कागजहरु ओछ्याएर सुत्न बाध्य हुने नेपालीको समस्या रहेको उनले बताए।

मलेशियामा नेपाली कामदारलाई पाइलैपिच्छे डर हुने र सामाजिक सुरक्षाको कुनै ग्यारेन्टी नहुने समस्या छ

सागरका अनुसार मलेशियामा धेरै कम्पनीहरुले समयमा तलब नदिने र तलब माग्न जाँदा ज्यानमार्र्ने धम्की दिने गरिन्छ।  यो विषयमा राजदूतावासमा गुनासो गर्दा दूतावासले समेत बेवास्ता गर्ने र धेरै श्रमिक मलेशियामा समस्यामा पर्ने तथा नगरेको अपराधिक क्रियाकलापमा समेत मुछेर जबर्जस्ती जेल पठाउने जस्ता समस्या रहेका छन्। 

नेपाली कामदारलाई एक मिनेट पनि ढुक्कले श्वास फेर्ने वातावरण नभएकाले मलेशियामा नेपाली कामदार पठाउँदा राम्रो सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी सहित कामदार पठाउन सरकारले पहल गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी बिना पठाउने भए मलेशिया रोजगारी बन्द गरेकै उचित हुने श्रेष्ठले बताए।  
   
सिन्धुलीका पुस्कर राना मलेशियामा सेक्युरिटी गार्डको इन्चार्जका रुपमा काम गर्छन्। उनको काम र कमाइ पनि मलेशियामा राम्रै छ। मलेशिया क्वालालम्पुरमा बस्दै आएका रानालाई मलेशियामा नेपाली कामदार पठाउन रोक लगाएको नै ठिक लागेको छ । राना भन्छन्, ‘मेरो विचारमा मलेशिया रोजगारी नखुलेकै राम्रो बरु सधैका लागि बन्द भएपनि होस्, मलेशियामा धेरै नेपालीहरुले कष्टकर जीवन बिताउनु परेको छ। 

उनले थपे, ‘मलेशियामा नेपाली श्रमिकहरुको अवस्थाबारे नेपाल बस्ने र अन्य देशमा बस्नेहरुलाई त के थाहा छ र यहाँ बस्नेलाई मात्र थाहा छ।’ 
मलेशियामा नेपाली कामदारहरुलाई सुरक्षाको ग्यारेन्टी नहुने र ठगिने लुटिने समस्या बढी रहेको रानाले बताए।

अर्का मलेशियाको दामनसार परडाना भन्ने ठाउँमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रौताहटका इभर राई पनि नेपाली कामदार नेपाल सरकारले मलेशिया पठाउन रोक लगाएकोमा खुसी छन्।

राईले भने, ‘मलेशियामा नेपालीहरु पठाउने काम बन्द भएकै राम्रो, मलेशियामा नेपालीहरुलाई कुनै सुरक्षा पनि छैन सेवा सुविधा पनि राम्रो छैन मासिक पारिश्रमिक समेत सम्झौता अनुसारको पाइँदैन।’ 

मलेशियामा नेपाली कामदारलाई उपयुक्त सेवासुविधा र सुरक्षाको ग्यारेन्टी नभएसम्म मलेशिया रोजगारीका लागि पठाउन सरकारले रोक लगाउनु नै राम्रो भएको उनको भनाइ छ।

नेपाल सरकारले गत जेठ २ गते देखि मलेशिया नेपाली कामदार पठाउन रोक लगाएको थियो। सरकारले मलेशियामा नेपाली कामदार पठाउन रोक लगाएको ८ महिना भइसकेको छ। धेरै नेपाली कामदार मलेशिया जाने क्रममा ठगिएकाले मलेशिया सरकारले नेपाली कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिएपछि मात्र मलेशिया रोजगारका लागि पठाउने अडान कायमै राखेको छ। 

मलेशियामा नेपाली कामदार पठाउन फेरि सुचारु गर्न दुई देशबीच श्रम समझदारीका बुदाँहरु तय गरी श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेपनि अझै केही विषयमा सहमति नहुँदा कामदार पठाउने प्रकृया बन्द नै छ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदारहरु सस्तो मूल्यमा अमूल्य श्रम चुकाउनु परेको र धेरै नेपाली कामदारहरु मलेशिया रोजगारीमा जाने क्रममा ठगिँदै आएकोले मलेशिया रोजगारीमा कामदार पठाउन रोक लगाएको बताउँदै आएका छन् ।  नेपाली कामदारलाई सामाजिक सुरक्षाको प्रयाभूति नभएसम्म रोजगारीमा नपठाउने मन्त्री बिष्टले बताउँदै आएका छन्।

मलेशिया रोजगारीका लागि जाने क्रममा नेपाली कामदारलाई सरकारले लागत खर्च १० हजार रुपैयाँ तोकिदिएको थियो। लागत रकम तोकिदिए पनि यस अघि श्रमिकहरु डेड लाख देखि तीनलाख सम्म रकम बुझाएर मलेशिया रोजगारीमा जान बाध्य थिए। हाल सरकारले मलेशियामा सामाजिक सुरक्षाको ग्यारेन्टी सहित शून्य लागतमा कामदार पठाउने अडान् कायमै राखेको छ। 
 
   
 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll