नेपाली कामदारहरुका लागि सम्मानजनक कर्मथलो कतार

२५ पौष २०७५
banner

मोहम्मद रमजान अलि मिया
नेपाल हेल्प डेक्स संयोजक, राष्ट्रिय मानव अधिकार समिति कतार 
संयोजक, अन्तर्राष्ट्रिय मुस्लिम समाज आइसिसी

मोहम्मद रमजान अलि मिया जसलाई धेरैले रमजान बाबु भनेर चिन्छन । पुख्र्याैली थलो हर्मी, गोरखा रहेका रमजान हाल विगत १२ वर्ष (२००७) देखि कतारमा कार्यरत छन् । कतारको राष्ट्रिय मानव अधिकार समिति स्थित नेपाली हेल्प डेक्सको संयोजक र अन्तर्राष्ट्रिय मुस्लिम समाजको संयोजकलगायत अन्य विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध रमजान कतारमा नेपालीहरुको हितमा केन्द्रित रहेर काम गरिरहेका छन् ।कतारमा रहेका नेपाली र नेपाल कतार सम्बन्धका जानकार रमजानसँग समग्र कतारका विषयमा केन्द्रित रहेर  गरिएको कुराकानीको सारसंक्षेप :

कतारमा नेपालीहरूको अवस्था कस्तो छ ?

खासमा अहिलेपनि मेरो अध्ययनको सिलसिलामा चलिरहेको छ । मेरो अरेविक भाषा र अरेविक साहित्यमा डबल स्नातकोत्तर भएको हुनाले यहाँको कला, भाषा, साहित्य, संस्कृति र आर्थिक पक्षसँग राम्रो अनुभव पनि छ । कतार आएपछि अध्ययन र अनुभवकै आधारमा मैले राजदूतावासमा कार्यकारी सचिवको रूपमा एक वर्ष काम गर्ने सुनौनो अवसर पाए । त्यो बेलादेखि यहाँका नेपाली कामदारहरूको विभिन्न गुनासाहरू, समस्याहरू र दुःखपीडाहरु बारे राम्रोसँग बुझ्न थाले । सोही बेलामा मैले अरेविक भाषामा एउटा लेख लेखे– कतारमा नेपालीहरूको समस्या र समाधानका उपायहरू । त्यो लेख पढेर त्यहाँको सुरक्षा निकायले मलाई बोलाएर सोध्नुभयो– नेपाली भएर अरेविक साहित्यमा लेख लेख्नुभएको छ, के साँच्चै तपाईँले लेख्नुभएजस्तो समस्याहरू भोगिरहेका छन् नेपालीहरूले ? तब मैले भने– हो म पहिले दूतावासमा काम गरेको अनुभवको आधारमा यो सब लेखेको हुँ, हजुरहरूले पनि समूह बनाएर अध्ययन अनुसन्धान गर्न सक्नुहुन्छ । नभन्दै उहाँहरूले अध्ययन गर्नुभयो, मैले लेखेको जस्तै पाएपछि मलाई भन्नुभयो– यी समस्याहरूको समाधान गरेर समुदाय रूपान्तरको निमित्त हामीसँग काम गर्नुहोस् भनेर भन्नुभयो । 
मैले, म कसैको पनि अन्डरमा रहेर काम गर्दिन बरु स्वतन्त्र स्वयंसेवीको रूपमा सघाउने छु भने । त्यही बेला मलगायत धेरै अग्रजहरू र बुद्धिजीवीहरूको पहलबाट बल्ल यहाँ नेपालीहरूलगायत अन्य विभिन्न देशवासीहरूको पनि पहिचान÷समुदाय खडा भयो । यस्तै अभ्यास निरन्तर गरिरहेको कारण अहिले म कतारको राष्ट्रिय मानव अधिकार समितिको संयोजकसमेत भए । त्यसपछि नेपाल र कतारबिच धेरै सम्झौताहरू, सहकार्यहरू र समन्वयहरू समेत भए । साथै, केही नयाँ नीति नियम वा कानुन बनाउने बेलामा समेत बुद्धिजीवीहरूले नेपाली समुदायको तर्फबाट मसँग परामर्श गर्नुहुन्छ । अझ, कतारका सबै उच्च पदस्थ व्यक्तित्वहरूले नेपालीहरू– इमानदार, बहादुर, सहनसील, सुसंस्कृत र कर्मवीर छन् भनेर दिल खोलेर तारिफ गर्नुहुन्छ ।  यो अत्यन्तै गौरवपूर्ण कुरा हो ।

 

पहिले र अहिलेको सम्पूर्णरुपमा नेपाल कतारको श्रम सहकार्यात्मक अवस्थामा के फरक छ ?

सीधा भन्नुपर्दा एकदमै आकाश–पातलको फरक छ पहिले र अहिलेको अवस्थामा । पहिले तथ्यगतरुपमा कतारमा कति नेपालीहरू छन् भन्नेसम्म थाहा थिएन । अहिले यहाँको सरकारी तथ्यअनुसार नै लगभग साढे ४ लाख नेपालीहरू छन् । नेपालीहरूको सङ्ख्या घट्दो बढ्दो छ । अर्थात, आउने क्रम र फर्किने क्रम निरन्तर छ । पहिलेको भन्दा अहिले एउटा यस्तो ट्रेण्ड चलेको छ विभिन्न देशमा चहारेर अन्ततः कतारमा आएर आफ्नो दुःख कर्म गर्नेहरूको सङ्ख्या बढ्दो छ । पहिलेको तुलनामा अहिले कतारमा नेपालीहरूलाई अझ सम्मानजनक कर्मथलो प्रदान गरेको छ यहाँको सरकारी संयन्त्रले पनि । नेपाल सरकारले पनि अहिले कतारमा कामदाहरु पठाउने सकारात्मक नीतिगत सुधारहरू गरेको छ । कतार सरकारले पनि नेपालीहरूलाई झन् झन् महत्त्वका साथ अवसरहरू प्रदान गर्दै आएको छ । कतारले पनि २०१६ मा आफ्नो श्रम ऐन परिवर्तन गरेको छ । जसमा– श्रमिकहरूको तलब बैगंकीङ प्रणाली मार्फत, श्रमिकहरूको पासपोर्ट आफ्नै हातमा र श्रमिकहरूको समस्या समाधान समितिहरू गठन गरेको छ । भलै कतारमा विभिन्न खाले समस्याहरु छन् तर तिनीहरूको नियमित समाधानको प्रयास पनि भइरहेको छ । श्रमिकहरू कतारमा आउनुभन्दा पूर्व कतारबारे न्यूनतम जानकारी, भाषा ज्ञान, सिप सिकाइ नगरी आउँदा उनीहरूले दुःख पाउने गरेका छन् । केही श्रमिकहरू एक कम्पिनिबाट अर्को, अर्को बाट अर्को गरी विभिन्न खाले विचौलीयाहरुको जन्जालमा फसेका पनि छन् । तिनीहरूको समस्याको समाधानको निमित्त पनि प्रयास भइरहेको छ । 

कतारको मानव अधिकार आयोगमा हजुरको जिम्मेवारी के हो ?

म कतारको मानव अधिकार आयोगको नेपाली हेल्प डेस्कको संयोजक हुँ । मेरो मूल जिम्मेवारी भनेको मानव अधिकारसम्बन्धी विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तित्वहरूसँग समन्वय र सहकार्यात्मक भूमिका निर्वाह गर्नु हो । अर्थात, श्रमिकहरू वा घरेलु कामदारहरू वा अन्य विभिन्न व्यक्तिहरूको मानव अधिकार हनन सम्बन्धी कानुनी समन्वयात्मक भूमिका निर्वाह गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो । हामीकहाँ विभिन्न दुःख पीडा भोगेका अर्थात् आफ्नो मानव अधिकार हनन भएका सबै खाले अव्यक्तिहरु जस्तै– श्रमिक, ड्राइभर, आम मानिस, घरेलुकामदार, लैङ्गिक हिंसाबाट पीडित लगायत आउँछन् र हामीले ती समस्याहरूबारे सरोकारवाला अन्य निकायहरूसँग सिधा समन्वय गरेर पीडितलाई न्याय र अधिकार दिलाउन पहल गर्दछौँ । 

अन्य देशका कामदारहरूको तुलनामा नेपाली कामदारहरूको न्यूनतम पारिश्रमिक किन न्यून छ ?

खासमा हजुरले भनेजस्तो भिन्न–भिन्न देशका श्रमिकहरूको भिन्न भिन्न न्यूनतम पारिश्रमिक तोकेर श्रमिकहरूलाई विभेद गरेको छैन कतार सरकारले । किनभने यहाँ श्रमिकहरूको सिप र क्षमता अनुसार सम्मानजनक हैसियतको निमित्त एउटा सुन्दर श्रम बजार छ । जहाँ श्रम बिक्छ, श्रमिक बिक्ने हैन । यस्तो विभेदकारी नीति खासमा छैन । बरु आ–आफ्ना दूतावासले यस्तो नीति ल्याएको हुनाले यहाँको सरकारले पनि त्यसलाई परिपालन गरेको मात्र हो । त्यसर्थ, सीपवानहरुको निमित्त यहाँ कुनै विभेदकारी नीति छैन । न्यूनतम पारिश्रमिकको सवाल कुनै पनि सिप र क्षमता नभएका कामदाहरुको निमित्त लागु हुने हो । र, यस्तो नीति खासमा सबै सरोकारवालाहरूसँग सल्लाह र विमर्श गरेर बनाउनु पर्दछ । विभेदकारी नीति बनाउनु हुँदैन । नेपालीहरूलाई तोकिएको न्यूनतम पारिश्रमीक ७०० र थप २०० मात्र काफी हुँदैन । यसको परिमार्जनको निमित्त नेपाल सरकार र कतार सरकारबिच परामर्श समेत भइसकेको छ । यसको परिमार्जनको निमित्त कतार सरकारले सोच्नै पर्छ । 

हामीले बुझेअनुसार नेपाली दूतावासको कामप्रति नेपाली कामदाहरु सन्तुष्ट छैनन, के लाग्छ यहाँलाई ?

वास्तवमा म आफै पनि पहिला लगभग १ वर्ष दूतावासमा कार्यकारी सचिवको रूपमा काम गरेको मान्छे भए पनि दूतावासको कट्टर आलोचकको रूपमा चिन्छन सबैले मलाई । हाम्रो दूतावासको कार्य परिपाटी र अन्य देशको दूतावासको कार्य परिपाटी एकदमै भिन्न छ । हाम्रो दूतावासमा एक जना श्रमिक तलब नपाएर पैसा नभएर हिँड्दै दूतावासमा न्यायको निमित्त पुग्दा दूतावासले चिठी लेखेर मुद्दा प्रक्रियामा जाऊ भनेर उल्टो दुःख र झमेलामा फसाउँछ । दूतावास त श्रमिकमैत्री, व्यवसाय ैत्री, नेपालीमैत्री र सेवामैत्री हुनु पर्छ । दूतावास भनेको त देशबाहिरको सरकार हो । दुतावासँग जस्तोसुकै श्रम समस्याको समाधान गर्ने सम्पूर्ण शक्ति हुन्छ । दूतावासले श्रमिकहरूलाई तलब नदिने वा दुःख दिने व्यावसायीहरुलाई फुन सम्पर्क गरेर बोलाएर वा अन्य सङ्घसंस्थासँग समन्वय गरेर तुरुन्त समस्या समाधान गर्छ सक्छ वा यदि त्यसो गर्दा उक्त व्यवसायी आउन मानेन भने ९९९ प्रहरीको सहयोग कक्ष नम्बरमा सम्पर्क गरेर सबै खाले श्रमिक समस्याहरूको समाधान गर्न सक्छ । 
अझ भनौ त, कतारमा नेपाली व्यावसायीहरु त झन् मारमा परेको पाइन्छ, उनीहरूको समस्यालाई दूतावासले बेवास्ता गर्ने गरेको दुःखद पक्षको बयान लामा हुन आउँछ । त्यसर्थ, हाम्रो दूतावासले विभिन्न ठाँउहरुमा श्रमिक हेल्प डेक्स स्थापना गरेर श्रमिकहरूको विभिन्न समस्याहरू समाधानको लागि पहल गर्नु पर्दछ । दुतावासेले यी विभिन्न चुनौतीपूर्ण कार्यहरू गर्न चुकेकोले पनि दूतावासप्रति श्रमिकहरू असन्तुष्ट रहने गरेको पाइन्छ ।

यहाँका संघ-संस्थाहरूको अवस्था के कस्तो छ ? नयाँ–नयाँ संघ-संस्थाहरू पनि खुलिरहेको सुनिन्छ ? कसरी चलिरहेको छ ?

हो यहाँ धेरै सङ्घसंस्थाहरू स्थापना भएका छन् । र, धेरै सङ्घसंस्थाहरू सामाजिक कार्यमा क्रियाशील भईरहेका पनि पाउँछौ । हजुरले भनेजस्तो विभिन्न नयाँ नयाँ सङ्घ संस्थाहरू खुल्ने कार्य पनि भईरहेको छ । यो एकदमै राम्रो पक्ष हो । देश र समाजको रूपान्तरण आखिर सामाजिक एकता र संघठनात्मक प्रक्रियाबाट नै सम्भव हुन्छ । यहाँका सङ्घसंस्थाहरूले नेपालमा विभिन्न खाले सामाजिक कार्यहरू गरिरहेका छन् । जस्तो कि– स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा, विपद राहत र विकास लगायत क्षेत्रमा अनन्त योगदान पु¥याई रहेको हामीले देख्न सक्छौ । दुःखद कुरा के हो भने– यहाँका ठूला–ठूला संस्थाहरू राजनीति गर्नमा मात्र व्यस्त छन् भने साना संस्थाहरू बरु विभिन्न सामाजिक कार्यमा कटिबद्ध रहेको पाइन्छ । सबै सङ्घसंस्थाहरू विना राजनीति आ–आफ्नो उद्देश्य पुरा गर्न निरन्तर क्रियाशील रहनुपर्दछ भन्ने नै मेरो मूल धारणा हो । 

नेपालले कतारबाट लिन सक्ने फाइदाहरू के–के हुनसक्छन ?

सर्वप्रथम श्रम सम्झौताबाट हामीले अहिले पनि फाइदा त लिई रहेका छौ तर पर्याप्त फाइदा लिन सकेका छैनौ किनभने हामीले शीपवान भन्दा सिप नभएका न्यूनतम पारिश्रिकमा काम गर्न बाध्य हुने श्रमिकहरू पठाएर श्रम क्षेत्रबाट लिने पर्याप्त फाइदा लिन सकेका छैनौँ । र, नेपालको सबै उत्पादनहरू यहाँ अन्तर्राष्ट्रिय व्यापार अन्तर्गत यहाँ ल्याउन सकिन्छ । जस्तो कि– हिमाली क्षेत्रका स्याउ, सुन्तला लगायत अन्य विभिन्न फलफुलहरू र जडीबुटीहरू, अमृत तुल्य नेपाली हिमाली पानी लगायत क्वालीटी र क्वान्टीटी सहित यहाँ ल्याउने हो भने गजब फाइदै–फाईदा हुन्छ । साथै, नेपालले कतारबाट फट्रिलाइजर, पेट्रोकेमिकल र अन्य व्यवसायीक प्रविधिहरू भित्राउन सक्यौ भने नेपाल पनि छिटै समृद्धिको बाटो दौडन थाल्छ । शुद्ध हिमाली पानी दिउँ, शुद्ध अरबी तेल लिऊँ । कति गजब छ । वास्तवमा कतारले हामी जे चाहन्छौ त्यो दिन सधैँ तत्पर छ तर हामी नै लिन तत्पर छैनौँ । समस्या यही भइरहेको छ । 

रोजगार व्यावसायीहरुको अनुसार कतारमा रोजगारीको अवसरहरू घट्दो छ भनिन्छ, सत्य के हो ?

कतार यति बेला ठुलो सङ्क्रमणमा छ । अर्थात, छिमेकी देशहरूले लगायको नाकाबन्दीले अप्रत्यक्ष वा प्रत्यक्षरुपमा कतारलाई प्रभाव पारेकै छ । भलै कतारले नाकाबन्दीलाई नै एउटा अवसर ठानेर आफै आत्मनिर्भर बन्ने योजनाबद्ध अभियानमा लागेको भए पनि अदृश्यरुपमा कतारको रोजगारीका अवसरहरू केही घटेको सत्य हो तर त्यसले बृहत्तरुपमा खासै ठुलो प्रभाव परेको पाँईदैन । नेपालीहरूलाई कतारमा अवसर नै अवसर छन् जताततै । बरु झन्, कतारमा २०२२ मा विश्वकप हुने भएकोले कतारलाई अरू थप शिपवान श्रमिकहरूको आवश्यकता छ । र, कतारको विकास योजना अनुसार पनि अझ धेरै रोजगारीका अवसरहरूको आवश्यकता रहेको देखिन्छ । यहाँले भन्नुभएजस्तो अवसरहरू घट्दो छैन ।

कतारले नेपालमा भिजा सेन्टर स्थापना गर्ने तयारीमा छ ? के छ यसको प्रभाव ?

भिजा सेन्टर भनेको कतार पठाउने जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा थियो त्यसलाई रोक्न डकुमेन्ट चेकीङ र प्रोसेसिङलगायत कामहरू गर्ने एउटा सहायता केन्द्र जस्तै हो । यो कुनै सिन्डिकेट हैन । यो त कतार आउन चाहनेहरुकोलागि सहयोगी केन्द्र हो ।

कतारबाट सिक्न पर्ने पाठ के हो ?
कतारबाट नेपालले सिक्नुपर्ने पाठ अनन्त छ । जस्तै– नेपालमा नाकाबान्दी भयो । देश २० वर्ष पछाडि फर्कियो भनिन्छ । यहाँ कतारमा पनि नाकाबन्दी भयो तर यहाँ केही नकारात्मक असर परेन । बरु उल्टै यहाँको परनिर्भरताको अन्त्य सँगै समग्र वृद्धिमा झन् वृद्धि भएको पाइन्छ । कतारको मुख्य उदाहरणीय पक्ष भनेको–ओपन डिप्लोमेसी, अन्तर्रा्ष्ट्रिय खुला सम्बन्ध, अर्थतन्त्र (ग्यास र पेट्रोल) र बलियो राष्ट्रियता हो । त्यसर्थ, नेपाली राजनीतिक दलहरू पनि राज्यको हितको निमित्त जस्तो सुकै कठिन परिस्थितिमा पनि एकजुट भएर रहनुपर्दछ । सरकार र विपक्षी दलबिच सहकार्य नभै कुनै पनि देशले विकासको लहर समातेको छैन । 

नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ ?

मध्यपूर्वमा मात्र २१ लाख भन्दा बढी नेपालीहरू छन् । मध्यपूर्वका नेपाली कामदारहरूले नेपाललाई लगभग २३ प्रतिशत भन्दा बढी जीडीपी योगदान गरिरहेका छन् । अझ भनौ त– खासमा नेपालको विभिन्न सङ्क्रमणकालीन अवस्थामा देशलाई पालेको मध्यपूर्वका कामदारहरूले नै हो । विगत ८ महिनादेखि मलेसिया बन्द हुनुले मात्र देशको जीडीपीमा ठुलो नकारात्मक असर परेको छ । यदि मध्यपूर्वमा भएका सबै नेपालीहरू देश फर्किए भने देशले रोजगारी दिन सक्छ ? वा देशले पाल्न सक्छ ? भूकम्प पीडितहरूलाई राहत दिन नसक्ने सरकारले हामीलाई रोजगारी दिन सक्छ भनेर हामीले कसरी पत्याउने । सरकारले हामी मध्यपूर्वमा भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण नै डोरीलाउरे र तोरीलाउरे को अवस्था रहिरहेको छ । नेपाल फर्कदा एयरपोटमा हामीलाई कस्तो अभद्र व्यवहार गरिन्छ, दुःख लाग्छ ।  हामीले त देशलाई पालिरहेको छौ । यो कुरा नेपाल सरकारले मनन गर्नुपर्छ । 

अन्तमा, कतार आउन चाहानुहुनेहरुलाई के भन्न चाहनुहुन्छ ?

मुख्य कुरा त सिप सिकेर, भाषा सम्बन्धी सामान्य ज्ञान हासिल गरेर, देशको बारेमा राम्रोसँग बुझेर, कतारको संस्कृति र अन्य विविध जानकारीहरू राम्रो हासिल गरेर आउनुहोला । सिप, इमानदारिता र लगनशीलता भएका नेपालीहरूलाई कतार अवसर नै अवसरहरू छन् । त्यसरर्थ, नेपाल सरकारले पनि कतारमा श्रमिकहरू पठाउनुभन्दा पहिला सिप, भाषा र देशको स्थिति बारे राम्रोसँग जानकार गराएर पठाउने व्यवस्था मिलाउनुपर्दछ । धन्यवाद ।  जनसवाल राष्ट्रिय दैनिकबाट

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |