'सगरमाथा, गौतम बुद्ध र गोर्खाली'

२४ पौष २०७५
banner

डा. दीपक पन्त

काठमाडौँ । आजको समयमा संसारभरि छरिएर रहेका हामी नेपालीहरु मूलत तीन वटा कुरामा गर्व गर्दछौँ।  नेपाल सगरमाथाको देश हो, नेपाल गौतम बुद्ध जन्मेको देश हो, अनि नेपाल गोर्खालीहरुको देश हो । मैले आजसम्म यति नै सम्मानपूर्वक सबै नेपालीले उच्चारण गर्ने अर्को चौँथो विषय भेटेको छैन। यो तीनवटा कुरा हामी सम्पूर्ण नेपालीको पहिचान हो भन्ने सम्बन्धमा हामी सदा एकमत नै छौँ।

सगरमाथा, बुद्ध, र गोर्खाली, यी तीनै विषयलाई नेपालको पहिचानको रुपमा जन्माउने पृथ्वीनारायण शाह हुन् भन्नेमा कसैको दुई मत हुन सक्दैन। पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए सगरमाथा शायद चीनमा पर्थ्यो होला, बुद्ध भूमि लुम्बिनी भारतमा पर्ने थियो होला, र गोर्खा र गोर्खाली भन्ने शब्द चै एउटा दुर्गम पाखा पर्वतको कुना कन्दरामा कता कता हराउने थियो। 

अझ भन्ने हो भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण समयमा नगरेको भए यी ससाना राज्यहरु दुईतर्फ अवस्थित विशाल शक्तिशाली माछाहरुका मुखका आहारा हुने थिए। नेपाल भन्ने शब्द पनि कतै सुन्नमा आउने थिएन। यसर्थ पृथ्वी नारायण शाहलाई नेपालको राष्ट्रपिता र राष्ट्र माताको रुपमा बिभुषित गर्दा पनि उनलाई दिने सम्मान होचो नै हुन्छ  भन्दा अत्युक्ति हुँदैन।

१) सगरमाथा  

कुनै विदेशीलाई आफ्नो परिचय दिनु पर्दा र त्यस्को लागि विश्व मानचित्रमा नेपाल कहाँ पर्छ भनेर पहिल्याउनु पर्दा हामी माउन्ट एवरेस्टको नाम लिन्छौ, मेरो देश सगरमाथाको देश हो भनेर गर्वले छाती फुलाउछौ किनकि संसारमा यस्तो अद्भुत सर्वोच्च शिखर अन्यत्र कहीँ छैन। 

सगरमाथामाथि के गर्व गर्नु, त्यो कुनै नेपालीले बनाएको होइन, त्यो एउटा प्रकृतिको देन हो जुन संयोगले नेपालको भूभागभित्र पर्न गएको हो भन्ने तर्क आउन सक्छ, तर त्यसो होइन । त्यसको जवाफका लागि हामीले फेरी पृथ्वी नारायण शाहको नेपाल एकिकरणको सफलतालाई नै सम्झनु पर्छ जसमा हामी सबै नेपालीको पुर्खाको पसिना परेको छ र त्यो सफल अभियानप्रति हामी अवश्य गर्व गर्न सक्छौं। 

 २) गौतम बुद्ध 

नेपालका विषयमा गर्व गर्ने अर्को विषय हो भगवान गौतम बुद्ध । नेपालको लुम्बिनीमा शाक्य राजाको वंशजका रुपमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको इतिहास छ। आज बुद्धको दर्शन, ज्ञान र पथ भारत वर्ष संसारभरी फैलिएको छ। शान्तिका अग्रदुत बुद्धका विशाल गगनचुम्बी मुर्ती र संरचनाहरु एशियाका धेरै देशहरुमा शोभायमान छन्।

उनको दार्शनिक, वैज्ञानिक र तार्किक ज्ञानमा जति बैचारिक गहनता छ त्यति नै सरलता, सहिष्णुता र सहजता पनि छ भन्ने कुरा यहाँ भनिरहनु पर्दैन। विज्ञान र आध्यात्मको अनुपम संगमलाई साथ लिएर उनले प्रतिपादन गरेका अहिंसा, सत्य, क्षमा, र शान्तिका उपदेशहरु अकाट्य छन् र यसमा गर्व गर्ने सौभाग्य पनि हामीले पृथ्वी नारायण शाहको एकीकरणको सफलताबाट नै पाएका हौं। 

एकातर्फ अत्यन्त मनमोहक र विस्मयपूर्ण हिमवत श्रृंखला भएको र अर्कोतर्फ बुद्धको जन्मभूमि भएको यो सानो देश नेपाललाई हामीले शान्ति, योग, ध्यान, ज्ञान, र  आध्यात्मको केन्द्रको रुपमा स्थापित गर्न गाहारो देखिन्न जस्ले गर्दा युद्ध र अशान्तिले छट्पटिएका विकसित तर भौतिकवादी देशहरु पर्यटकीय दृष्‍टिकोणले आकर्शित होउन्। प्रत्येक वर्ष नेपाल भित्रिने पर्यटकमध्ये अधिक संख्या बुद्धको जन्मस्थलको कारणले हुने गरेको यथार्थ त छँदै छ।  

 ३) गोर्खाली  

गोर्खालीको पहिचानले नेपालभित्र हामी नेपालीहरुबीच त्यति ठूलो अर्थ नराख्न सक्छ तर विदेश जाने प्राय यस्तो नेपाली शायदै नहोला जस्ले आफुलाई गोर्खाली भन्न नरुचाओस्। भारत, युरोप, अमेरिका लगायतका देशहरुमा गोर्खाली शब्दले अनौपचारिक रुपमै भएपनि विशेष सम्मान र स्थान पाउदै आएको छ। 

यो गोर्खालीको पहिचान भारत स्वतन्त्र भएपछि भारतीय वा बेलायती सेनामा काम गर्न जाने नेपालीहरुको कारणले मात्र रहन गएको होइन किनकी आधुनिक समयमा हाम्रा गोर्खाली दाजु भाइहरु विदेशी सेनाको एक अंग भएर लड्दा आफ्नो पहिचान र अस्तित्वको लडाईं लडेका पनि होइनन्।

त्यो हामीहरुको छुट्टै वाध्यता हो । तिमीहरु त साहसी हौ, इमान्दार जाति हौँ, भनेर हौस्याइदिएका कारणले हाम्रो वीरताको प्रदर्शन भएको र त्यसैबाट हामी वीर गोर्खाली भएको सोचाइ राख्नु पर्याप्त हुँदैन होला। 

एकापट्टि हामो आर्थिक बिपन्नता र अर्कोपट्टि हामीलाई दिइने पारिश्रमिक नै प्रमुख कारण रहेकाले अरु देशको स्वार्थका लागि लडेका लडाईंहरुमा देखाएको वीरतालाई मात्र हेर्ने हो भने गोर्खालीको अर्थ साँघुरिन सक्छ।

यसो भनिरहँदा विदेशमा सैनिकको रुपमा जाने  नेपाली दाजु भाइहरुलाई अवमूल्याङ्कन गर्न खोजिएको होइन, उहाँहरुले जे गर्नु भएको छ त्यो सम्मानजनक छ । हामीले बिर्सनु हुँदैन कि एउटा समय थियो जतिखेर हामीले हाम्रो आफ्नै लडाईं लडेका थियौँ र सम्पूर्ण संसारलाई कब्जा गर्ने अंग्रेजको सैनिकलाई आथ्थु आथ्थु पारेका थियौँ।

आफ्नो देशमा आक्रमण गर्ने विदेशी शक्तिलाई वीरताका साथ पराजित गरेका कारणले गोर्खालीको ख्याति हुन गएको यथार्थ हामीले बिर्सनु हुँदैन र त्यो सेना पृथ्वी नारायण शाह कै थियो। नेपाल इतिहासको कुनै कालखण्डमा विदेशी शक्तिले कहिल्यै पराजित नगरेको भूमि नेपाल नै हो। गोर्खामा जन्मेका पृथ्वी  नारायण शाह गोर्खाली सेनाका राजा र युद्धका कमाण्डर थिए र गोर्खाली गौरवका प्रतिनिधि पात्र तथा जन्मदाता। गोर्खाली हुनुमा गर्व गर्नु तर गोर्खालीका जन्मदातालाई बिर्सनु त्यो कसरी सम्भव होला। 

केही दशकयता पृथ्वी नारायण शाह र एकीकरणको इतिहासप्रति नकारात्मक दृष्‍टिकोण स्थापित हुने प्रयास भै रहेको छ। विशेषगरी माओवादी जनयुद्धकाल र त्यसपछिको समयमा पृथ्वीनारायण शाहलाई अधिनायकवादी, क्रुर, तानाशाही, हिन्दूवादी, इत्यादि शब्दहरु समेत प्रयोग गरिएको र देशको राष्ट्रनिर्माताको रुपमा स्थापित मान्यतालाई खण्डित पार्ने प्रयास गरिएको छ। 

पृथ्वी नारायण शाहले नेपालका बिभिन्न जनजाति राजाहरुमाथि बिजय प्राप्त गरेको, उनीहरुलाई हिँसात्मक ढंगले समाप्त पारेको, नेपाली भाषा र हिन्दू संस्कृतिलाई अधिनायकवादी शैलिमा राष्ट्र भाषा र धर्मको रुपमा स्थापित गरेको भन्ने तर्कहरु लेखहरुको माध्यमले पढ्न र गैर जिम्मेवार्पूर्ण भड्किलो भाषण मार्फत सुन्न पाईन्छ। 

यो पृथ्वी नारायण शाह विरोधी चर्को स्वर दशकअघि भएको जनआन्दोलनताका देशमा ब्यवस्था परिवर्तन हुने क्रममा शुरु भएको हो र यसको उद्देश्य नेपालमा राजपरिवारको शासनलाई अन्त्य गर्ने बहानामा प्रवेश गरेको थियो। 

त्येतिबेला देशको अस्तित्व र पहिचानमाथि नै प्रश्न उठ्ने गरी पृथ्वी नारायण शाहको सालीक समेत ढालिएको थियो । तत्पस्चातको नयाँ सरकारले नेपालले एकता दिवस मान्दै आएको पुष २७ को पृथ्वी जयन्तीलाई खारेज गरेर क्रमबद्ध रुपमा नेपालको इतिहाँस मेटाउने प्रयत्न गरेको देखिन्छ। 

यो नेपाल र नेपालीपनको जगलाई नै उखाल्ने काम बाहेक अरु केही हुन सक्दैन। देशमा वाक स्वतन्त्रता छ, बोल्न, आफ्नो बिचार राख्न पाईन्छ र आधारहिन तर्कहरुले जनमानसलाई बहकाउन त्येति गाह्रो नहुन सक्छ। तर त्येसो भन्दैमा इतिहासलाई मोड्ने गरी देशको मौलिकता र पहिचानमाथि नै प्रहार गर्नु भनेको आत्मघाती काम मात्र हो। 

पृथ्वी नारायण शाहलाई माइनस गर्दा नेपाल र नेपाली भन्ने शब्द नै रहदैन, सगरमाथा, बुद्ध र गोर्खालीको कुरो त परै जाओस् । पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरण गलत थियो भनेर तर्क गर्नु भनेको देशलाई उही पुरानो राजा रजौटाहरुको गाउँहरुमा टुक्र्याई देशलाई बिखण्डन गर्ने तर्फ उन्मुख हुनु हो।      

पृथ्वी नारायण शाह र नेपालको इतिहासलाई अध्ययन गर्न पाईन्छ, समालोचना गर्न पाईन्छ, र यथार्थ र प्रमाणलाई आधार मानेर आलोचना गर्न पनि पाईन्छ तर यस्तो आलोचनाको उद्देश्य देशमा अराजक बिचारहरुलाई प्रोत्साहन दिनु र देशलाई कमजोर र खण्डित पार्नु नभै सत्य तथ्य र जानकारीको अभिलेख राख्नुमात्र हुनु पर्दछ। 

त्यसका लागि कुनै पुर्वाग्रह नराखी निरपेक्ष ढंगले वस्तुगत अध्ययन र शोध गर्नुपर्ने हुन्छ। किताबहरु खुला छन्, हाम्रो संस्कृति अझै जीवित छ, रितीरिवाज अझै मास्सिसकेको छैन र पुरातात्विक दृष्‍टिकोणले महत्वपूर्ण अभिलेखहरु पनि सुरक्षित नै छन्। 

पृथ्वी नारायण शाह कस्ता थिए, किन एकीकरण गरे, त्यो कति आवश्यक थियो, उनको जनताप्रति कस्तो व्यवहार थियो, क्रुर थिए कि दयालु थिए, उनको न्याय ब्यवस्था कस्तो थियो इत्यादिको मूल्याङ्कन गर्नु भन्दा अघि हामीले त्यती बेलाको समय कस्तो थियो भन्ने कुरा सोच्नु पर्दछ।

पृथ्वी नारायण शाहको जीवनकाल १७२० देखी १७७५ सम्मको अवधि हो, त्यो भनेको धेरै अघिको समय हो। उनले २० वर्षको कलिलो उमेरमा गद्दी चढेका थिए र गद्दी चढ्ने बित्तिकै एकीकरणको अभियान शुरु गरिहालेका थिए जस्ले उनको दुरदर्शिता देखाउँछ। 

उनी गोरखाका राजा थिए र उनले गरेको एकीकरण अर्थात राज्यको सीमा बिस्तार त्यतीबेला अवश्यै पनि गोरखा निवासीहरुको लागि धेरै गर्वको विषय थियो भन्ने अनुमान गर्न सकिन्छ। त्यतिखेरका शाशकहरुको काम भनेकै जनताको रक्षा गर्ने र आफ्नो देशको सीमा बढाउने थियो । यथास्थितिवादी शाशकहरुले सीमाको रक्षा गरेर जति छ त्यतिमै चित्त बुझाउथे भने प्रगतिशिल र सफल शाशकले सीमा बढाउथे।

त्यो दृष्‍टिले हेर्दा उनले एउटा शाशकको कर्तब्य अत्यन्त सफलतापूर्वक निर्वाह गरेका थिए भन्नु पर्दछ । अनि सीमा बढाउने काम भनेको नै युद्ध गर्नु थियो । त्यति बेला  संसारका सबै शाशकहरु युद्ध गर्थे, जस्तो अहिलेको समयका धेरैजसो सरकारहरु प्रजातन्त्रवादी वा लोकतन्त्रवादी र जनमुखी भएका छन् र देशको अर्थ, शिक्षा, स्वास्थ्य र सुरक्षाका नीतिहरु बनाउछन र कार्वान्वयन गर्छन्। 

तेतिखेरको विश्वलाई आजको चक्षुले हेर्दा बर्बर, अत्याचारी, दुराचारी, अमानवीय लाग्छ किनकि आज समय धेरै परिवर्तन भै सकेको छ।जतिखेर पृथ्वी नारायण शाह नेपालमा एकीकरण गर्दै थिए त्यतिखेर अमेरिका लगायत कैयौ युरोपियन देशहरुमा दासत्व प्रथा थियो जहाँ सेताहरुले अफ्रिकाका कालाहरुलाई जन्जिरले बाधेर हाटबजारमा बेचबिखन गर्थे, कालाहरुमाथि सेताहरुले गर्ने निर्मम बलात्कार, हत्या, शारीरिक यातना बिरुद्ध कानुन थिएन र यो दासत्वको पिडा पृथ्वी नारायण शाहको मृत्‍यु भएको अर्को सय वर्षपछिसम्म कायम नै रहेको इतिहास साक्षी छ। 

संसारभरी राजाहरुको राज्य थियो। संसारभरी राजाहरु जनतामाथि एकलौटी तानाशाही शासन गर्थे। कुनै पनि जनतामाथि आफ्नो लहडले भौतिक कार्वाही गर्नु शाशकहरुको लागि असामान्य थिएन। पृथ्वी नारायण शाहलाई तानाशाह, सामन्ती जस्ता विशेषण दिएर दोशी ठहर्याउने हो भने यो संसारका प्रत्येक देशले आफ्नो इतिहासप्रति लज्जित भएर आफ्नो देशलाई आफै बिखण्डन गर्नु पर्ने हुन्छ। 

अमेरिकाका आदिबासीमाथि युरोपियनहरुले कसरी बिजय प्राप्त गरे, जर्मनी, इटाली इत्यादि मुलुकमा कसरी एकीकरण भयो, त्यतिखेरका भारत, चीन, जापानमा कस्ता शाशकहरु थिए, यी सबैको लेखाजोखा गर्ने हो र पृथ्वी नारायण शाहलाई तुलनात्मक मूल्याङ्कन गर्ने हो भने त्यतिबेलाको उनको आदर्श, मूल्य मान्यता, न्याय प्रणालीमाथि धेरै गर्व गर्न सकिन्छ। 

विश्वका कतिपय बिकसित देशको दाँजोमा नेपालमा भएको एकीकरण कुन अनुपात कैयौ गुणा कम हिंसात्मक थियो भन्ने यथार्थ मनन् गर्नु पर्ने हुन्छ। करीब डेढ दशकअघि मात्र भएको माओवादी जनयुद्धलाई छोडेर नेपालमा विश्वका कैयौ देशहरुको तुलनामा न त कहिल्यै नरसंहार भएको थियो न अन्याय र दमन नै भन्ने समय सापेक्ष अध्ययनले प्रष्ट पार्न सक्छ। 

यस्को लागि पृथ्वी नारायण शाहको अर्ती उपदेशहरुबाट पनि धेरै आँकलन गर्न सकिन्छ। संसारका सबै देशहरु एकीकरण पूर्वको समयमा फर्कने हो भने संसारको मानचित्र नै अर्कै हुन्छ। आजका कुन देशका जनता यो चाहलान्। पृथ्वी नारायण शाहले नेपालका जनजाति जनता वा उनिहरुको संस्कृतिमाथि आक्रमण गरेका थिएनन, उनले त्यतिखेरका राजाहरुमाथि आक्रमण गरेका थिए, र ती राजाहरु छेत्री, नेवार, किरात, शेर्पा, मगर सबै जातिका थिए।

पृथ्वी नारायण शाहले एकीकरण नगरेको भये अरु कसैले गर्नु पर्थ्यो र त्यो अवसर सबैलाई थियो। त्यो एकीकरण शेर्पा राजाले गरेको भये पनि हुन्थ्यो, अथवा नेवार वा किराँत राजाले । यति सानो गाउँगाउँमा राजैराजा भएको देशलाई आधुनिक नेपाल नबनाएको भए यी सबै गाउँहरुलाई दुईतिर अवस्थित भिमकाय छिमेकीले आहारा बनाउने थिए।

पृथ्वी नारायण शाह सनातन हिन्दू मूलका थिए तर उनको एकीकरण धर्म प्रचार वा धर्मान्तरणको अभिप्रायले गरिएको थिएन किनकि सनातन हिन्दू संस्कृतिले अन्य आस्था भएका सम्प्रदायमा गएर धर्म प्रचार गर्दैन र धर्मान्तरण पनि गर्दैन। 

यो सनातन धर्मको आफ्नै चरित्र हो किनकि यो संस्कृतिमा त्यस्तो किसिमको परम्परागत धर्म परिवर्तनको प्रावधान समेत छैन । पृथ्वी नारायण शाहको समयमा पश्चिमी देशहरु औपनिवेशिक होडबाजीमा ब्यस्त थिए। उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, इत्यादि माहाद्विपहरुमा त्यहाँका आदिबासीहरुलाई बिस्थापित गर्दै आफ्नो राजनीतिक नियन्त्रण, एकतन्त्रीय भाषा र धर्मको साम्राज्य फैलाउने क्रम तिब्रताका साथ भै रहेको थियो। 

अफ्रिकाको दक्षिण कोणबाट युरोपेली देशहरु प्रवेश गरेर त्यहाँ भएका आदिबासी मुलबासीहरु माझ युद्धस्तरमा धर्म प्रचार र धर्मान्तरण गर्दै थिए भने अफ्रिकाको उत्तरबाट मुसलमानहरु पसेर मिस्र देश हुँदै मध्य अफ्रिकासम्म आफ्नो धर्म फैलाउदै थिए। 

उनीहरुको नीति अफ्रिकाका मौलिक संस्कृतिहरुलाई बिस्थापित गर्ने र राज्यहरुलाई एकधर्ममा परिवर्तन गर्ने थियो भन्ने इतिहासमा पढ्न पाईन्छ । इसाइ र मुसलमान मिशिनरीहरु दुबै औपनिवेशिक चरित्रका भएकाले आज विश्वका बिभिन्न देशहरुका मौलिक धर्म, संस्कृति र भाषाहरु धेरै संख्यामा लोप भै सकेका छन्। 

विश्वका बिशाल भूगोल भएका देशहरुमा एउटा मात्र धर्म र एउटा मात्र संस्कृति छ । त्यति मात्र नभै ती औपनिवेशिक मिशिनरी धर्महरुबिच यही धर्म प्रचार र धर्म परिवर्तनको प्रतिस्पर्धाले तरबार र बन्दुकको टकराव रहदै आएको हो जुन अहिलेसम्म चलिरहेको देख्न पाईन्छ। 

नेपाल यस्तो विदेशी उपनिवेशबादबाट अछुत रहदै आएको हो। श्रीलङ्का, भारत, बर्मा, र आजको पाकिस्तानसम्म आइपुगेको यो शक्ति नेपालको गोर्खाली वीरहरुको खुकुरीसँग पराजित भएर फर्केकोमा नेपालको इतिहासले गौरव गर्न सक्छ। 

नेपालको सांस्कृतिक विविधता र मौलिकता यहाँको अर्को विशेषता हो जस्को हामी न त खास कहिल्यै उल्लेख गर्छौ न गर्वले पहिचान हो भनेर सम्झन्छौ।  यहाँको धार्मिक सहिष्णुता विश्वको लागि अनुकरणीय हुन सक्छ । यो सगरमाथा, बुद्ध र गोर्खालीको देशमा हजारौ वर्षदेखि भाषिक, सांस्कृतिक र धार्मिक विविधता संरक्षित र सम्बर्धित हुँदै आएको छ। पृथ्वी नारायण शाहले जहाँ जहाँ र जुन जुन सम्प्रदायलाई एकीकरण गरे त्यहाँको भाषा र धर्मलाई सम्मान र सम्बर्धन गरेकै हुन भन्ने प्रमाण खोजी रहन पर्दैन, समाजलाई अलिकति नियालेर हेर्दा प्रष्ट हुन्छ। 

तर यसको श्रेय पृथ्वी नारायण स्वयमलाई भन्दा सनातन हिन्दू परम्परालाई नै दिनु पर्छ। अब सनातन हिन्दू, किरात र अन्य आदिबासी संस्कृतिहरुमा धर्म प्रचार गर्ने र धर्म परिवर्तन गर्ने प्रावधान नै नभएपछि के गर्ने ? एक सम्प्रदायले अर्को सम्प्रदायमा गएर संख्या बढाउने उद्देश्यले धर्मको व्यापार गरेको नेपालमा कुनै इतिहाँस छैन। 

त्यही कारणले आज नेपालमा विविध आदिबासी, स्थानीय माटो मै जन्मेका मौलिक परम्पराहरु जस्ताकोतस्तै छन्। अलि अलि एक अर्कोबाट प्रभावित हुनु सामान्य हो तर कोही कसैको घरघरमा आफ्नो परम्परा लाद्न जाने चलन छैन। पृथ्वी नारायण शाहले उपत्यका जितेपछि त्यहाँको स्थानीय नेवार परम्परालाई अङ्गीकार मात्र गरेनन् देशको नाम नै गोर्खा नराखी नेपाल राखे । उपत्यकाका चाडपर्व, कुमारी पूजा, मन्दिर, कला सबैको संरक्षण र सम्बर्धन गरे। 

कुनै औपनेवेशिक विदेशी मिशिनरी धर्मले नेपाल एकीकरण गरेको भए आज नेपालमा यति विविधता र पहिचानहरु हुने थिएनन् । नेपालमा एकात्मक एकतन्त्रीय विदेशी संस्कृति मात्र रहने थियो र नेपाली जनताले आफ्नो आफ्नो मौलिक पहिचान सदाको लागि त्याग्नु पर्ने थियो । त्यति मात्र होइन, भाषिक विविधता पनि रहने थिएन । आज बोलिने बिभिन्न मात्रृभाषाहरु सबै इतिहास मात्र बन्ने थिए। 

नेपाल सनातन हिन्दू, किरात, बोन, बुद्धिस्ट, र विभिन्न आदिबासी संस्कृतिहरुको उद्गमस्थल हो । यी संस्कृतिहरु एक अर्कोलाई सम्मान गर्ने, बाँच र बाँच्न देउ भन्ने प्रकृतिका भएकाले र धर्म प्रचार र संख्यात्मक धर्म परिवर्तनको उद्देश्यले अभिप्रेरित नभएकाले यो सद्भाव र शान्ति कायम रहन गएको हो । धर्म प्रचारले धर्म परिवर्तन, धर्म परिवर्तनले आपसी वैमनश्यता र साम्प्रदायिक हिंसा समेत हुने विश्वका अन्य देशहरुको सयौ वर्षको इतिहासले देखाइसकेको छ । नेपाल शायद एउटै मात्र यस्तो देश हुन सक्छ जहाँ आजसम्म कुनै सम्प्रदायिक वैमनश्यता र हिंसा भएको छैन। विश्वकै सामु यति सानो देशमा यति धेरै विविधता भैकन पनि आपसी सदभाव कायम भएको एउटा अनुपम नमुनाको रुपमा नेपाललाई लिन सकिन्छ । हामीले गर्व गर्ने चौथो विषय यो हुन सक्छ । 

तर नेपाललाई जनताको प्रत्यक्ष अनुमोदन विना धर्मनिरपेक्ष घोषणा गरेपछि बितेको दशकयता देशमा धार्मिक ध्रुविकरण बढ्दै गएको छ । विदेशबाट आयातित औपनिवेशिक मिशिनरी धर्महरुको उद्देश्य धर्म प्रचार र धर्म परिवर्तन नै भएकाले त्यसले नेपालकै माटोमा उब्जेका मौलिक संस्कृतिहरु जस्तै किरात, बोन, बुद्धिस्ट, सनातन र अन्य आदिबासी मुलबासी पहिचानहरुलाई बिस्थापित गरेर एकात्मक संस्कृति स्थापित गर्दै मात्र लैजादैन कि भोलिका दिनहरुमा सम्प्रदायहरुबिच तनाव, असहिष्णु टकराव र अतिबाद समेत ल्याउने देखिन्छ। 

पृथ्वी नारायण शाहको देनले आजसम्म यिनै विदेशी प्रभावबाट देशलाई बचाइराखेकाले नेपालमा सबै संस्कृतिहरुबिच सद्भाव कायम रहदै आएको हो। आजको उदारवादी सरकार, स्वतन्त्रता, मानव अधिकार, समानता, सामाजिक न्याय, इन्टर्नेट र विज्ञानका श्रेष्ठतम प्रविधि भएको उत्तर(उत्तर आधुनिक कालमा आउँदासम्म नेपालका राजनैतिक नेताहरुले खुल्लम खुल्ला मानव अधिकार उलंघन, असमानता, भ्रस्टाचार, विदेशी हस्तक्षेप, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुलाई नजिर बनाएका छन भने त्यतिबेलाका पृथ्वी नारायण शाहबाट कति प्रगतिशिल छलाङ अपेक्षा गर्ने ?

नेपालको अस्तित्व, एकता र नेपाली हुँ भनेर गर्व गर्ने पहिचानका स्रस्टा तथा दुरदृष्‍टि, वीता, स्वाभिमान, र सहिष्णुताका प्रतिक पृथ्वी नारायण शाहको जन्मदिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवस भनेर धुमधामकासाथ मनाउनु पर्नेमा तत्कालिन सरकार यसप्रति अनुदार रही बिखण्डन्बादीहरुको एजेण्डालाई प्रोत्साहन दिनु सम्पूर्ण राष्ट्रकै निम्ति खेदजनक छ र यो सबैको निम्ति प्रत्युत्पादक मात्र हुन्छ। 

सरकारले न्याय र विवेक नदेखाए पनि विभिन्न संघ सस्थाहरु, समुदाय, स्वतन्त्र बुद्धिजिवी, र जनताले यो दिनलाई श्रद्धापूर्वक सम्झने नै छन्। यही कुरालाई बिचार गरेर आगामी दिनहरुमा सरकारले आफुलाई सुधारेर लग्नेछ भन्ने अपेक्षा गर्दछु। 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |