नेपालको लक्ष्य सिंगापुरलाई हराउँदै उपाधि जित्ने

२६ आश्विन २०७५

banner

काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउसो १२: १५ मा सुरु हुनेछ । र, नेपाल र  सिंगापुरबीचको खेल फाइनल सरह हुनेछ । 

एसिया छनोट समूह बी बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ । किनकी यस खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ । 

अन्तिम खेलअघि नेपाल र सिंगापुरले समान खेलबाट समान अंक जोडेको छ । नेपाल र सिंगापुरले समान ५र५ खेलबाट समान १०र१० अंक जोडेको छ । तर, नेट रन रेटमा नेपाल अघि छ ।

सिंगापुरविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित रहदै विजेता बन्नु हुनेछ । यता, सिंगापुरको लक्ष्य पनि त्यहिँ हुनेछ ।

प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछैन । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन ।

नेपालले टी-ट्वान्टीमा सिंगापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसीसी टी(ट्वान्टी अन्तर्गत टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो ।

त्यसअघि सन् २००९ मा भएको एसीसी टी-ट्वान्टीमा नेपालले ९ विकेटको जित निकालेको थियो ।

गत महिना भएको ५० ओभरको खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो ।

यस छनोटबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोट स्थान बनाउदा अर्को एक टोलीको तय हुन बाँकी रहेको छ ।

यस छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन्  । 

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »