नेपाल प्रहरी विशेष कार्यदल नेपाल प्रहरीको मेरुदण्ड हो : खनाल

२९ भाद्र २०७५

banner

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अप्ठेरो अवस्थाको चुनौति सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी विशेष कार्यदल नेपाल प्रहरीको मेरुदण्ड भएको बताए।

उक्त कुरा प्रहरी महानिरीक्षक खनालले शुक्रबार केन्द्रीय प्रहरी विशेष कार्यदल कपनको निरीक्षण तथा कार्यदलको नवनिर्मित भान्साघर उद्घाटन पछि आयोजित कार्यक्रममा बताए।

निरीक्षणको क्रममा उनले कार्यदल परिसरस्थित Simulator Firing Hall, Gym Hall र कार्यदलको पेशागत क्रियाकलापको अवलोकन गर्नुको साथै परिसरमा वृक्षारोपण समेत गरे।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको सदस्य भएर देश र राष्ट्रको सेवा गर्ने विशेष जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै यस अवसरको प्रयोग गरेर गर्व गर्न सक्ने वातावरण बनाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।

तालिममा मेहनत गरेर खारिएको, सीपमूलक र स्वअनुशासित प्रहरी कर्मचारीले दृढता र उच्च नैतिकता साथ कार्यक्षेत्रमा व्यवसायिकता प्रदर्शन गर्न सक्ने भएकोले सोही अनुरुप नतिजा केन्द्रीत भएर कार्य गर्नुपर्ने समेत प्रहरी महानिरीक्षक खनालले बताए।

प्रहरी कर्मचारीले जीवनका उर्जाशील समय नेपाल प्रहरी संगठनमै व्यतित गर्ने भएपछि आफ्नो जिम्मेवारीलाई महसुस गरेर देश र राष्ट्रको सेवा गरी परिवार, समाज र राष्ट्रको विश्वास जित्नु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले कार्यदललाई अझै सक्षम र सबल बनाउन सीप, दक्षता र योग्यता अनुसार कटिबद्ध भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहराले स्वागत मन्तव्य तथा भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नवनिर्मित भान्साघर कुल २९ लाख ९७ हजार १ सय ९ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।

कपनस्थित उक्त कार्यदलले महत्वपूर्ण व्यक्तिको सुरक्षा गर्ने, बम निष्क्रिय गर्ने, खोज तथा उद्धार कार्य गर्ने, विशेष अपरेशनल कार्य गर्नुको साथै यस्ता महत्वपूर्ण काम सम्बन्धी तथा यूएनमा मिसनमा खटिने प्रहरी कर्मचारीहरुलाई तालिम समेत दिँदै आएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »