भिजुअल प्रविधिमा फड्को मार्दै नेपाल प्रहरी

१८ माघ २०७५
banner

काठमाडौं । सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे। नेपाल प्रहरी तथा अन्य सबै निकायलाई त्यो घटनाका अभियुक्तलाई पत्ता लगाउन निकै सकस परेको थियो। अन्तिममा सिसी टिभिकै कारणले सो हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ परेका हुन्।

त्यस्तै काठमाडौं विजुलीबजारमा मोटरसाईकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए। आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो।

सिसीटिभी प्रयोगका केही महत्वपूर्ण प्रतिनिधि उदाहरण मात्र हुन्। सिसीटिभी भिजुअल प्रविधि हो। यस प्रविधि अन्तर्गत र्‍यापिड सूचना प्रणाली र ड्रोन समेतको प्रयोग नेपाल प्रहरीमा प्रचलनमा छ। अपराध रोकथाम तथा नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यस्ता प्रविधिको प्रभावकारी प्रयोग हुँदै आएको छ।

प्रभावकारी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाउने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्राथामिकताको आधारमा भिजुअल प्रविधि उच्च प्राथमिकतामा परेको हो।

भिजुअल प्रविधि जडान, मर्मत तथा नियन्त्रण प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले गर्छ। निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजीब सुब्वा भन्छन्, ‘यस्ता खालका प्रविधिले नेपाल प्रहरीलाई सञ्जय दृष्टि प्रदान गरेको छ। क्षितिज भन्दा टाढा पनि प्रहरीको कमाण्ड क्षमता हुनुपर्छ भन्ने कुरा यो प्रविधिले देखाउँछ।’

भिजुअल प्रविधि अन्तर्गतको र्‍यापिड सूचना प्रणाली नेपाल प्रहरीमा भित्रिएको आधुनिक प्रणाली हो। ‘फोरजी ताररहित प्रविधिमा यो प्रणाली आधारित छ। एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज यसबाट शेयर गर्न सकिन्छ।

विपद तथा आपतकालीन अवस्थामा अन्य संचार माध्यममा सम्पर्कविहिन भएको अवस्थामा यो प्रविधि प्रभावकारी हुन्छ। आपतकालीन अवस्थामा १५ मिनेटमै यस प्रविधि जडान गरी संचालन गर्न सकिन्छ। अति विशिष्ट व्यक्ति, विशिष्ट व्यक्ति तथा अन्य सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ।

प्रहरी नायब महानिरीक्षक डा. सुब्वाले भने, ‘नेपाल प्रहरीमा हाल ५० सेटसहित यो प्रविधि प्रयोगमा छ। घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि ७ वटै प्रदेशमा प्रयोग गर्ने नेपाल प्रहरीको लक्ष्य रहेको छ।’

‘अनम्यान्ड अरियल भेहिकल’को छोटो नाम ड्रोन हो। भिजुअल प्रविधि अन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा गरिन्छ। उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग हुँदै आएको छ। सुरक्षा लगायतका प्रहरी कार्यका लगि ड्रोन उडान गरी भिडियो फुटेज लिने गरिन्छ। हाल नेपाल प्रहरीमा ३ ड्रोन र २ ड्रोनपाइलट छन्। आगामी दिनमा ड्रोनको प्रयोगलाई अझै विशिष्टिकृत गर्ने योजना नेपाल प्रहरीको रहेको छ।

भिजुअल प्रविधि अन्तर्गत पर्ने सिसीटिभीको प्रयोग अपराधको निगरानी गर्न गरिन्छ। नेपाल प्रहरीले २०६१ देखि सिसीटिभी प्रयोगमा ल्याएको हो। सुरूमा प्रहरी प्रधान कार्यालय परिसर वरिपरी घट्न सक्ने अपराधलाई नियन्त्रण गर्न ८ सेट सिसीटिभी जडान गरिएको थियो। पछि काठमाडौं उपत्यकामा २०६४ मा १० वटा, २०६७ मा ४८ वटा र भिडियो राख्न डिभिआर जडान गरी हुनसक्ने अवाञ्छित गतिविधि निगरानी सुरू गरिएको हो।

१८औं सार्क सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंका विभिन्न स्थानमा १५३ वटा आईपी क्यामरा जडान गरी त्यस्ता गतिविधि निगरानी गर्न सुरु गरेको थियो। हाल आएर भिजुअल प्रविधिको प्रयोग, प्रभावकारिता र विस्तारका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, ‘प्रविधिको विकाससँगै यसको प्रयोग गरी अपराध गर्ने उदाहरण देखा परेकोले अपराध रोकथाम तथा अनुसन्धानमा प्रविधिको प्रयोग महत्वपूर्ण छ। सहरी क्षेत्र, राजमार्ग लगायतका संवेदनशील क्षेत्रमा सिसिटिभीलगायतका भिजुअल प्रविधि जडान गर्ने, विस्तार गर्ने, कामलाई अभियानकै रुपमा नेपाल प्रहरीले अगाडि बढाएको छ।’

पछिल्लो समय सिसीटिभीको प्रयोग क्रमशः बढ्दो छ। देशका मुख्य शहर, सीमा प्रवेश नाका, राजमार्गलगायतका महत्वपूर्ण स्थानमा आव २०७३/०७४ मा ५०७ वटा, आव २०७४/०७५ मा ९९० वटा र चालु आव ०७५/०७६ मा ८५७ वटा सिसीटिभी क्यामरा थप जडान भएका छन्।

काठमाडौं, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा ७ वटै प्रदेशहरूमध्ये विराटनगर अन्तर्गत ३६२ वटा, जनकपुर अन्तर्गत ४४७ वटा, हेटौंडा अन्तर्गत ४७५ वटा, पोखरा अन्तर्गत ४७० वटा, दाङ अन्तर्गत ४५७ वटा, सुर्खेत अन्तर्गत ११२ वटा र दिपायल अन्तर्गतका जिल्लामा ११९ वटा सिसीटिभी जडान भएका छन्।यो क्रम जारी छ। राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा २,९१६ वटा क्यामराबाट निगरानी गरी विभिन्न घट्नामा फरार अपराधीलाई फुटेजको माध्यमबाट पहिचान गरी सफल अनुसन्धान कार्यमा सहयोग भइरहेको छ। यसै प्रभावकारितालाई मध्यनजर राख्दै सिसीटिभी राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य नेपाल प्रहरीको रहेको छ।

नेपाल प्रहरीले हालै लागू गरेको समुदाय/प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भिजुअल प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउन जोड दिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने, ‘नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रविधिको प्रयोगलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्र सरकारसँग बजेट माग, विभिन्न पालिकाहरुसँग समन्वय गरी काम गर्दै आएको छ। साथै विभिन्न संघ÷संस्थासँग सहकार्यका कार्यक्रमहरू पनि सशक्त रुपमा संचालन गरिएका छन्।’

लामो दूरीका सवारी साधन एउटै चालकले मात्रै लगातार चलाउँदा दुर्घटना हुन सक्छ। त्यसैले त्यस्ता सवारीमा चालक परिवर्तन हुनुपर्ने मान्यता छ। यसका लागि भिजुअल प्रविधि अन्तर्गत ‘ड्राइभिङ चेक मोबाइल एप’ प्रणाली नेपाल प्रहरीले सुरू गर्दैछ।

यस एपले लामो दूरीका सवारी साधनमा चालक परिवर्तन भयो कि भएन भन्ने पत्ता लगाउन मद्दत गर्छ। प्रहरी नायब महानिरीक्षक डा. सुब्वाले भने, ‘कुनै एक निश्चित विन्दुमा चालकको फोटो खिचिन्छ। चालक परिवर्तन गर्नुपर्ने स्थानमा पुग्दा पहिलेकै चालक हो कि परिवर्तन भयो भन्ने थाहा पाउन फोटो र चालकको अनुहार जाँच गरिन्छ।’

भिजुअल प्रविधिकै आधारमा कर्तव्यज्यान, चोरी, डकैतीलगायतका घटनामा सफल अनुसन्धान भएका घटना प्रशस्त छन्। मानिसले देख्न नसक्ने घटना भिजुअल प्रविधिले जानकारी दिन सक्छ। प्रभावकारी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि यो प्रविधिको प्रयोग महत्वपूर्ण छ।

भिजुअल प्रविधि नागरिक सुरक्षाकै लागि हो। त्यसैले नेपाल प्रहरी, स्थानीय निकाय, विभिन्न संघसंस्था र जनस्तरमै पनि यो प्रविधिको सराह्रना गरिएको हो।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l