कांग्रेसको जागरण अभियान : नेतृत्व भन्छ सफल, कार्यकर्ता निराश

२७ जेठ २०७६
banner

फाइल फोटो

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्न भन्दै वैशाख २५ गते सुरु गरेको पहिलो चरणको जागरण अभियानले पार्टी र कार्यकर्तामा उर्जा अभिवृद्धि गरेको जनाएको छ।

निर्वाचनमा नराम्रोसँग पराजित बनेको कांग्रेस आन्तरिक गुटबन्दी र आरोप प्रत्यारोपमा रुमल्लिँदा कार्यकर्तामा निरासा छाएको थियो। आन्तरिक विवावदकैबीच सुरु गरिएको जागरण अभियानले कार्यकर्तामा उर्जा अभिवृद्धि भएको कांग्रेसले दाबी गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जागरण अभियानले पार्टीमा उर्जा अभिवृद्धि गरेको बताएका छन्।
विज्ञप्तिमा ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको उल्लेख छ। 

सभापति देउवाले वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्ने स्वदेश र विदेशमा रहेका सबै नेपालीप्रति धन्यवाद दिएका छन्।

गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैप्रति धन्यवाद दिए ।

उनले विज्ञप्ति मार्फत जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन्।  सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न अपिलसमेत गरेका छन्। 

उनले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्ने बक्तव्यमा बताएका छन्।  जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने उनको बक्तव्यमा उल्लेख छ।

सभापति देउवाले जागरण अभियानले पार्टी र कार्यकर्तामा नयाँ उर्जा मिलेको बताएपनि जागरण अभियानमा नेताहरुले संगठन सुदृढिकरणलाई भन्दा पनि एकअर्काको आलोचनमा नै बढी समय बिताए। गुटगत राजनीतिमा रुमल्लिएको कांग्रेसका नेताले जागरण अभियानका क्रममा गुटको राजनीतिलाई स्थानीय तहसम्म पुर्याएको भन्दै कार्यकर्ता निरास बनेका छन्।

लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्ने

यसअघि फरकफरक अभिव्यक्ति दिँदै आएका नेताहरूले अभियानका क्रममा ‘साझा र संगठित एउटै आवाज’ बोल्ने भनिए पनि गुटबन्दीमा रमाउँदै आएका नेताहरूले मञ्चलाई पार्टी नेतृत्वविरुद्ध उपयोग गरेको आरोप पार्टी्भित्र लाग्न थालेको छ। पार्टीले जागरण अभियानले आन्तरिक गुटबन्दी मत्थर गर्ने अपेक्षा राखेको भए पनि संस्थापन इतर समूहका नेताहरू जागरण अभियानका कार्यक्रमहरूलाई आगामी महाधिवेशन केन्द्रित गरेर जिल्लास्तरीय नेता–कार्यकर्तासमक्ष प्रस्तुत हुँदै आएका छन्।

संस्थापन पक्षका नेताहरू पनि जवाफ दिन थालेका छन्।  पार्टीले आमजनतालाई सरकारले गरिरहेका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी दिँदै जनस्तरमा खस्किएको पार्टीको शाख फिर्ता गराउने लक्ष्य राखेर ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको थियो। 

जागरण अभियानमा सस्थापन इतर पक्ष आक्रामक हुँदा संस्थापन पक्ष भने रक्षात्मक बनेको छ। संस्थापन इतर पक्षले  पार्टीभित्र बोल्न र आलोचना गर्न पाउने हक कुण्ठित हुँदै गएको, आन्तरिक गुटबन्धीले पार्टीलाई कमजोर बनाएको र महाधिवेशन भएको तीन वर्ष पूरा भइसक्दासमेत पार्टीका विभाग गठन गर्न नसकेको भन्दै सभापतिको चर्को आलोचना हुने गरेको छ

एक महिनासम्म जिल्लामा बसेर पार्टीले दिएको जिम्मेवारीअनुसार जागरण अभियान सफल पार्न पार्टीले उनीहरूलाई सम्पादन गर्नुपर्ने कार्यसूचीसहित म्याण्डेट पनि दिएको थियो। तर, जिल्लाजिल्लामा खटाएका संस्थापन इतर समूहमा आबद्ध केन्द्रीय सदस्यहरू भने जागरण अभियानका क्रममा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध जनमत सिर्जना गर्न भरपूर प्रयास गरे। 

महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत कांग्रेसका केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागसमेत नेतृत्वविहीन अवस्थामा छन्

कांग्रेसले जागरण अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीभित्र एकता वृद्धिका लागि पार्टी सुदृढीकरणका गतिविधि अघि बढाउँदै जागरण अभिवृद्धि गर्ने, कांग्रेसको नेतृत्वमा प्राप्त राजनीतिक उपलब्धि सम्प्रेषण गर्ने, वर्तमान सरकारका जनविरोधी क्रियाकलाप आम नागरिकमा प्रस्ट्याउने, पार्टीलाई जनताको हितमा थप समर्पित गराउनेलगायत १५ वटा उद्देश्य राखेको थियो।

नेपाली कांग्रेसले पार्टी विधानलाई संघीय ढाँचामा लगेर संघीयताको संरचनामा प्रवेश गरेजस्तो देखाए पनि त्यहीअनुसारको संरचना भने बनाउन सकेको छैन।  कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत् पार्टी विधानलाई मुलुकको संघीय संरचनाअनुसार तयार गरेको थियो भने केन्द्रीय समितिबाट बहुमतका आधारमा पारित गरिएको थियो । तर विधानलाई संघीयस्वरूप दिए पनि पार्टीका संरचना भने त्यसैअनुसार तयार गरिएको छैन।

कांग्रेसभित्र ससाना विषयमा समेत गुटगत स्वार्थ हाबी हुँदै आएपछि पार्टीको संरचनाका दिशामा पनि परिस्थिति सहज बन्न सकेको छैन । पार्टीको संघीयस्वरूपका विषयमा समेत गुटहरू मिल्न नसक्दा निर्णय हुन नसकेको हो। संशोधित विधानअनुसार कांग्रेसको संरचना केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको छ । जसमध्ये हाल केन्द्रको संरचना, जिल्ला संरचना र केही क्षत्रीय संरचनासहित केही मात्रै पालिका संरचना चलायमान छन्।

बाँकी प्रदेश संरचना पूरै रिक्त छन् भने पहिले रहेका निर्वाचन क्षेत्र समेत धेरै जसो स्थानमा हेरफेर भएपछि नेतृत्व रिक्त अवस्थामा नै छ । यस्तै, गाउँपालिका संरचना समेत धेरै गाविस गाभिएर बनेपछि अन्योलकै अवस्थाबाट चल्दै आएको छ । यस्तै, वडा तहको संरचनासहित अन्य संरचनासमेत अलमलकै अवस्थाबाट गुज्रँदै आएको छ।

यसैगरी १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत कांग्रेसका केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागसमेत नेतृत्वविहीन अवस्थामा छन् । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू जिम्मेवारीबाट फुर्स्दिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १८२ विभाग रहने व्यवस्था छ।
 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l