नेपाली महिला घरेलु कामदारका रुपमा युएई जान बाटो खुल्दै, यस्तो छ नयाँ समझदारी

२८ माघ २०७५
banner

काठमाण्डौं । लामो समयदेखि घरेलु महिला कामदार पठाउन प्रतिबन्ध रहेको युएईमा सरकारले फेरि घरेलु कामदारका रुपमा महिला कामदार पठाउन सकारात्मक देखिएको छ । सामाजिक सुरक्षाको ग्यारेन्टी सहित नेपाली श्रमिक पठाउने गरी हुन लागेको नयाँ श्रम समझदारी अनुसार महिला श्रमिकका लागि छुट्टै हकहितको व्यबस्था समेटिने भएमा संयुक्त अरब इमिरेट्स (युएई) मा महिला कामदार पठाउन सरकार सकारात्मक भएको हो ।  

नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले युएई र ओमानसँग नयाँ श्रम समझदारीबारे छलफल गरेर फर्किसकेको छ । छलफलका क्रममा नेपाली टोलीले महिला कामदारको हकमा सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि युएई र ओमान सरकारले छुट्टै कानुनी नीति बनाउनु पर्ने माग राखेको थियो । 

नेपाल सरकारले लामो समय देखि खाडी लगायत मुलुकमा नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाउँदै आएको छ । नयाँ समझदारी अनुरुप महिला कामदारहरु युएईमा घरेलु कामदारका रुपमा समेत जान पाउने भएका हुन् । ओमानसँग भने घरेलु कामदारका रुपमा महिला कामदारहरु पठाइने बारे कुरा नभएको प्रतिमण्डलले जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘महिला कामदारहरुको हकमा हामीले फरक धारबाट कुरा उठाएका छौँ । युएई सरकारसँग महिला कामदारको हकमा छुट्टै नीति भएको कारण हामीले राखेको प्रस्ताव अनुसार सामाजिक सुरक्षाको ग्यारेन्टी सहित काम गर्ने वातावरण सिर्जना भएमा हामीले घरेलु कामदारका रुपमा महिला कामदार पठाउने सम्बन्धमा पनि कुरा राखेका छौँ ।’

ओमान सरकारसँग महिला कामदार सम्बन्धी छुट्टै नीति नभएकाले नेपाली महिलाहरु घरेलु कामदारका रुपमा पठाउने गरी कुनै पनि कुराकानी नभएको सहसचिव घिमिरेले बताए । घिमिरेले भने, ‘ओमान सरकारको महिला कामदारको हकहितका सम्बन्धमा छुट्टै नीति नभएकाले हामी ओमान सरकारसँग घरेलु महिला कामदार पठाउने बारे विषय नै प्रवेश गरेनौँ ।’ ओमानमा घरेलु कामदार बाहेकका अन्य विभिन्न कामदारका रुपमा भने महिला कामदारहरु जानसक्ने गरी टोलीले छलफल गरेको जनाएको छ । 

घरेलु कामदारका रुपमा खाडी लगायत मुलुकमा वैदेशिक रोजगारीका लागि जाने महिला कामदारहरु घरेलु हिंसामा पर्ने, यौन शोषणको शिकार बन्नु पर्ने, काम र पारिश्रमिकको टुंगो नहुने लगायतका यावत विषयले गर्दा सरकारले महिला घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको थियो । 

सरकारले घरेलु कामदारको रुपमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएपनि अबैधानिक बाटो हुँदै घरेलु कामदारको रुपमा लुकिछिपी रुपमा महिलाहरु जाने समस्या बढ्न थालेको छ । यस्तो समस्या बढ्दै गएपछि महिला कामदारलाई पनि समाजिक सुरक्षाको ग्यारेन्टी भएका मुलुकहरुमा घरेलु कामदारको रुपमा पठाउन सरकार सकारात्मक भएको हो । 

युएई र ओमानसँग गर्न लागेको नयाँ श्रम समझदारीमा पनि महिला कामदारका विषयमा सुरक्षा ग्यारेन्टी सहितको वैदेशिक रोजगारी सिर्जना गर्न सरकारले कदम अघि बढाएको छ । भर्खरै नेपालले गरेको युएई र ओमानसँगको छलफलमा सबै नेपाली श्रमिकहरुलाई अनावश्यक व्ययभार नभर्ने तथा उनीहरुको आधारभूत हक अधिकार सहित सामाजिक सुरक्षाको ग्यारेन्टी हुने गरी नयाँ श्रम समझदारी गर्न दुवै देश सकारात्मक देखिएका छन् । 

दुवै देशबीच शून्य लागतमा नेपाली श्रमिक जान पाउने पक्रिया पारदर्शी हुने, न्यूूनतम तलब सुविधा सहित सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको मापदण्डअनुसार श्रमिकहरुका सम्बन्धमा व्यबस्था हुनुपर्ने उल्लेख छ । 

छलफलका क्रममा नेपाली टोलीले श्रमिकहरुको ओभरटाइम सुविधा, करार अबधि, विमा, स्वास्थ्य सेवा, विरामी बिदा पाउने व्यबस्था तथा आफन्तको मृत्यू भएमा बिदा पाउने व्यबस्था लगायतका सर्तहरु समझदारीमा समेटिनुपर्ने उल्लेख गरेका थिए । श्रमिकहरुलाई कुनै समस्या भएमा उपयुक्त न्याय हुनुपर्ने विषयमा पनि जोड दिइएको नेपाली टोलीका संयोजक घिमिरेले बताएका छन् ।

नेपाल सरकारले खाडी लगायतका मुलुकमा नेपाली श्रमिकहरुको श्रम को सम्मान सहित सौहार्दपूर्ण वातावरणमा रहेर काम गर्न सक्ने स्थिति सिर्जना गर्न नयाँ श्रम समझदारीको लागि पहल गरेको जनाएको छ । विचौलीया लगायत विभिन्न कारणबाट श्रमिकहरु नठगिने गरी सुरक्षित वैदेशिक रोजगारीको यात्रा सुरु हुने सरकारले विश्वास लिएको छ ।

श्रम समझदारीमा के कस्ता थप विषय वस्तु समेट्ने र दुवै देशको सम्बन्धलाई सुमधुर बनाउने भन्ने बारे दुवै देशका प्राविधिक टोली बिच थप छलफल हुने समेत मन्त्रालयले जनाएको छ । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l