जातीको आधारमा प्रदेश सीमाङ्कन घातक : नेता भण्डारी
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

रोल्पा, २८ पुस - नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो। हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गर्नुभयो।

सभाका अर्का वक्ता नेकपा (एमाले) स्थायी समिति सदस्य पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर नेकपा (एमाले)ले राष्ट्रघाती काम गर्न नसक्ने बताउनुभयो। संसद्मा जबर्जस्त ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् सचेतक गोकुलप्रसाद घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्री, नेकपा (माओवादी क्रान्तिकारी)का केन्द्रीय सदस्य कुमार शाह लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो।

५ नं प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका विरुद्ध सङ्घर्ष गरिरहेको संयुक्त आन्दोलन समितिको तेस्रो चरणको अन्तिम कार्यक्रमका रुपमा जनसभा आयोजना गरिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले जानकारी दिनुभयो। रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)