पूर्वकमैयाका परिवारको जीवन सुधारोन्मुख
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

धनगढी, २८ पुस - अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्नुहुन्छ।

कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उहाँ अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको हो। “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उहाँले भन्नुभयो।

अहिले आफ्नै व्यवसाय चलाएर मासिक रु २५/३० हजार कमाइ गर्ने गरेको उहाँको भनाइ छ। उहाँले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालका छन् ।

स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन् । पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा रु १० हजारसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउनुहुन्छ ।

मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उहाँले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाउनु भएको छ । आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाउनुभयो ।

दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर मनग्य आम्दानी गर्दैआउनुभएको छ। “मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।

आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहनुभएको छ। जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ।

मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् ।” मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन ।

सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउनुहुन्छ। जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ। रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)