निर्मला हत्या प्रकरणः प्रहरी सफलता नजिक, डीएनए रिपोर्टको पर्खाई

२० मङ्सिर २०७५

banner

काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘केही दिनमै सरकार भेटिँदैछ ।’ उनको यो भनाई ४ महिना पहिला बलात्कारपछि मारिएकी कञ्चनपुरकी निर्मलाता पन्त प्रकरणका सम्बन्धमा थियो । सरकारका प्रवक्ताले यति हौसियर पक्कै पनि यस्तो जवाफ दिएका होइनन् । पक्कै पनि केही सफलता मिलेकाले उनको मुखबाट यो फुत्किएको हो । 

‘केही दिनमै भेटिन्छ’ भनेपछि उनी कुरा सार्वजनिक हुने भयले फेरि सम्हालिएर बोले ‘मिति त तोक्न सक्दैनौ नी ।’ मन्त्रीको कुरामाथि थप खोजी गर्दा बुधबार राजधानीबाट समातिएका कञ्चनपुरका किशोर नै सो घटनाको दोषी रहेको निश्कर्षमा प्रहरी र सरकार पुगेको देखिन्छ । डीसीनेपालसँगको कुरामा प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘धरै नजिक पुगेका छौं । यसबाहेक थप अहिले नभनौं ।’ 

यसअघि पक्राउ परेका व्यक्ति नै दोषी भन्दै सदमा गृहमन्त्रीले बोलेको र ती व्यक्ति निर्दोष भएको तथा प्रहरीले नै मुख्य अभियुक्त भनेका व्यक्ति निर्दोष भएपछि सरकार तथा प्रहरीप्रति नै विश्वास गुमेको थियो । र यो मुद्दा यति जटिल बनेको थियो । त्यसैले पनि अन्तिम प्रमाण नजुटुन्जेल प्रहरी दोषी पक्राउको सूचनालाई गोप्य राखेको बुझ्न कठिन छैन । 

प्रहरी प्रवक्ता सुवेदीले अनुसन्धान प्रक्रियामै रहेकाले सबै भन्न नमिल्ने बताए पनि उनले ‘नजिक पुगेको’ भनेर त्यसै भनेका होइनन् । 
कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले पनि ‘अब जे हुन्छ काठमाडौंमै हुन्छ’ भनेर राजधानीमा पक्राउ परेका किशोर नै दोषी भएको संकेत गरे । उनले भने, ‘यो विषयमा कञ्चनपुर प्रहरीलाई थाहा छैन, यहाँ पक्राउ परेका सबैलाई छोडेका छौं ।’

यो घटनामा पीडित परिवार र आम जनताको विश्वास गुमाएको प्रहरीले विश्वास प्राप्त गरेपछिमात्र प्रमाणसहित अभियुक्त सार्वजनिक गर्ने तयारी प्रहरी मुख्यालयले गरेको स्रोतले बतायो । स्रोतका अनुसार पक्राउ परेका किशोरको डीएनए रिपोर्ट पर्खेर प्रहरी बसेको छ । यद्यपी मिडियामा पक्राउ परेका व्यक्तिले अपराध स्वीकार गरेको भन्नेसम्मका समाचारहरु आएका छन् । तर, डीएनएको रिपोर्ट प्राप्त नभएसम्म प्रहरी पनि ढुक्क हुन नसेको अवस्था देखिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष