नियात्रा : स्याफ्रुबेसीका साँझहरू

७ आश्विन २०७५

banner

गोवर्धन पूजा

साँझ परेपछि पुगियो स्याफ्रुबेसी। हिँड्न त सबेरै हिँडेको हो काठमाडौँबाट तर लामो बस र कच्ची बाटोको कारण घाम नडुबी स्याफ्रुको रौनक हेर्न पाइएन।

हामी पत्रकार, साइकलयात्री र आयोजकहरूसहित तीन बसका यात्रुलाई एकै पटक स्वागत गरे स्याफ्रुवासीले। कलात्मक काठको भाडामा राखिएको खुँदोको सर्बत र गलामा खाँदा पहिरिएर प्रवेश पायौँ स्याफ्रुमा। निम्तो थियो ग्रामीण गरिबी निवारणका लागि ग्रामीण पर्यटन कार्यक्रम (टीआरपीएपी)को र व्यवस्थापन थियो हिमालयन एक्सपिडिसन्सको।

प्रथम माउन्टेन वाइक रेस नाम दिइएको सो कार्यक्रममा  २१ जना साइकलयात्रीले तामाङ सम्पदा मार्गमा साइकलदौड पूरा गर्ने कार्यक्रम थियो। दुई जना महिलाको मात्र सहभागिता रहेको सो प्रतियोगितामा उनीहरू प्रथम र दोस्रो हुने निश्चित थियो। यसैले होटेल पिसफुलमा सँगै बसेका नेपाली युवती निर्जला ताम्राकार र अमेरिकी पर्यटक केली बौमालाई ‘रिजल्ट आउट’ भयो भन्दै बधाई दिएका थियौँ।

वरिपरि पहाडी स्वरूप हुनु बेसीको विशेषता हो। यस्तै थियो स्याफ्रुबेसी। नजिकै रहेका टाकुराहरू घाम डुबेपछि  एकआपसमा मिल्दै गरेझै भान पर्दथ्यो। अनि अग्लिएर गर्व गरिरहेका लाङटाङ र गोसाइँकुण्ड हिमालहरूले स्याफ्रुको सुन्दरता थपेको अड्कल गर्न सकिन्थ्यो।

साढे दुई सय जति घरहरू रहेको स्याफ्रुबेसीमा रहेका होटेलहरू पर्यटकलाई राम्रै सेवा दिन सक्ने क्षमताका थिए। विदेशी पाहुनाहरूलाई विदेशी खाना खुवाउन सक्ने क्षमता भएका होटेल व्यवसायीहरूले हामीलाई मीठो नेपाली खाना खुवाए।

रात राम्ररी बित्यो। भोलिपल्ट बिहानै बेलायती राजदूतद्वारा साइकलदौडको औपचारिकतालाई रिबन काटेर पूरा गरियो। दौडिए स्याफ्रुबेसीबाट गोल्जुलङतिर  साइकलयात्रीहरू । एक टोली हामी पछिपछि उकालो लाग्यौँ, तर केही बसमै गए।

आधा बाटो पुगेपछि तृष्णा केसीलाई जस्तै मलाई पनि थकान महसुस भयो र चढियो चिलिमेको जिपमा। त्यसपछि सुरु भयो यात्राको वास्तविक रमाइलो। प्रहरी जवान राजन ढकाल, सुकुमार तामाङ, असई रामप्रसाद लामिछाने, इन्जिनियर राजन ढुङ्गेलसहितका थियौँ हामी। सैनिक सेवाका विकास बानियाँ, उमेश भट्टराई, सोजित सिलवालसहितलाई चालक कामी तेन्जिङले दौडाएर पार्वतीकुण्ड पनि घुम्न पुर्याए। हामी फर्कदा दौड सकिसकेको रहेछ र प्रतियोगीले पुरस्कार पाइसकेका रहेछन्। । पुरुषतर्फ सुरेशकुमार दुलाल, सुरे राई र पदम सावेहाङले पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरे ।
साँझ गेल्जुङमै बित्यो सांस्कृतिक कार्यक्रम हेरेर। तिब्बत र नेपालबीचको ऐतिहासिक लडाइँ बिम्बित गर्ने घोडानाच रमाइलो लाग्यो। गेल्जुङको तामाङ जातिको मौलिक कला देखिन्थ्यो त्यो नाचमा। गणेश हिमाल जाने पर्यटकहरू माथिमाथिको बाटो गएर छायामा परेको गोल्जुङमा आन्तरिक पर्यटकले रात रमाइलो पारे। खुसी देखिन्थे गाउँलेहरू र घरमा हुर्काएको भाले काटेर पाहुना पुज्न आतुर देखिन्थे। छेवाङ घलेको घरमा थियौ हामी चार यात्री। बालकृष्ण थापा, विमल गौतम, तृष्णा केसी अनि म।

 साँझको सांस्कृतिक कार्यक्रमपश्चात् कोदोको ढिँडो र कुखुराको मासु चाख्यौ। पेट भरिएर पनि मन भरिएन। यसैले जूनको उज्यालोमा कौसीमा बसेर पत्रकारहरूका जिन्दगीका बारेमा कुराकानी गरिरह्यौँ।     बिहान सात बजे बसस्टपमा पुगिसक्नुपर्ने उर्दी थियो । यसैले सबै जना सबेरै उठ्ने सोचमा थियौँ।

पाँच बजे आँखा खुलेपछि हिमाल हेर्ने चाहनाले घर बाहिर निक्लियौँ । गणेश हिमाल र साङजेन हिमाल, मुसुक्क हाँसिरहेका थिए।  रोजगारी र शिक्षाका लागि गोल्जुङ छाडेका युवाहरूप्रति आशावादी गेल्जुङलाई हात हल्लाउने तरखरमा थियौँ, हामी । घरपतिहरूले मायालु भावमा भने - खोइ के कस्तो भयो जे भएपनि राम्रै सम्झनु होला है।

धनभन्दा मन ठूलो हो भन्ने हामीले जानेको कुरा गेल्जुङवासीमा पनि देख्यौँ। बाटो, बत्ती र टेलिफोन पुगेर पनि विकासको मैदानमा दौडिन नसकेको गेल्जुङबाट बिदा लिएर स्याफ्रुमै फर्कियौँ।
दुइटा बसका  साथीहरू चिया नै नखाई काठमाडौँतिर लागे। हामी भने तिब्बती रोटी खान लोभियौँ। पिसफुल होटेलका छेवाङ स्याङयोले हाम्रो इच्छा पूरा गरिदिए ।

हतारियौँ काठमाडौँ फर्किन तर त्रिशूलीमा पुगेपछि रोकियो हाम्रो यात्रा। ससुराले बुहारीको हत्या गरेकोमा उचित कारबाही नभएको  विरोधस्वरूप यातायात बन्द रहेछ। साँझ मात्रै खुल्यो बाटो। दिनभर सुसाएको त्रिशूलीसँगै सुस्तायौँ। राती घर आइपुग्दा जून आधा आकाशमा थियो तर मनले भने डाँडाकाँडाको पूरा चित्र सँगाल्दै थियो। स्याफ्रुका साँझहरूलाई मनको एल्बममा सम्झाएर राख्ने योजना गर्दै। मैले डायरीको पानामा टिपे - स्याफ्रुवेसी १९ फागुन, २०६२|

हाल : बोस्टन , अमेरिका 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष