आफुले संसदमा बोलेका शब्द संसदीय रहेको प्रधानमन्त्री ओलीको दावी

१ जेठ २०७६
banner

काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमणमा रहेका बेला उले नीति तथा कार्यक्रममाथि संसदहरुले सोधेका प्रश्नको जवाफ दिनेक्रममा बोलेका शब्दलाई ‘असंसदीय शब्द’ भन्दै संसदको रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले गरेको रुलिंगप्रति प्रधानमन्त्री ओलीले आशंका उब्जाइदिएका छन् । 

बुधबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफुले बोलेका शब्द असंसदीय नरहेको र ती नहटाइएको दावी गरेपछि सभामुखको रुलिंगमै प्रधानमन्त्रीले अविश्वास प्रकट गरेका हुन् । जबकी सभामुख महराले स्पष्ट रुपमा नीति तथा कार्यक्रममाथि सांसदहरुका प्रश्न तथा जिज्ञासाको प्रधानमन्त्री ओलीले स्पष्ट पार्दा प्रयोग भएका असंसदीय शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

विमानस्थलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले गैह्रसंसदीय शब्द प्रयोग गरेको छैन, बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाउनुभएको हो ।’ 

प्रधानमन्त्री ओलीले संसदमा भएको सो घटना गणतन्त्रमाथिको प्रहार भएकोसमेत टिप्पणी गरेका छन् । उनले भने, ‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु  अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।’ 

सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा  जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो । सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । 

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित नगर्ने बरु मर्यादित बनाउने बताए । उनले भने, ‘नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्छ, सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक होइन ।’  

उनले भने, ‘असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।’  

आफ्नो भ्रमणबारे बोल्दै प्रधानमन्त्री ओली भ्रमण निकै फलदायी र सफल भएको प्रतिक्रिया दिए ।   भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकी प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किएका हुन् । 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |