कविता- भोकाएको कुर्सि- राजबाबु श्रेष्ठ

२३ भाद्र २०७५

banner

        कविता

अत्याचारको कालो पर्दा
चिरुँ जस्तो लाग्छ
कस्तो छ त त्यो कुर्सि हेर्न
विना अनुमतिको सिङ्गो दरबार
छिरुँ जस्तो लाग्छ ।


छिरें पनि एकदिन हुत्याउँदै
मलाई ती छेकिरहेका भित्तालाई लात्तले ठेल्दै
कस्तो छ त त्यो पावरको लस्सा
हेर्न मलाई कौतहूल थ्यो
चुइगम झैँ कुर्सिमा अनवरत टाँसिई रहने
गएर यसो के टुसुक्क बसेको थें फगत
म पनि टाँसिएकै टाँसिए भएँ त्यसरी
जसरी तत्कालिन टाँसिईरहन्थे त्यहाँ
हे भगवान! ए मेरी बास्सै!
कत्राकत्रा उडुस रगत चपाउन नपाएर
दाँत उद्याएर बसेका रहेछ्न्।


मलाई पनि चुस्न सम्म चुसे
सक्दो चपाए मेरा रगतका हड्डीहरू
अनि हेर्दाहेर्दै रित्तिएँ छु, अनि बनेछु म पनि
त्यही उडुसकै तेर्हदिने अंशियार दाजुभाइ
हो त्यसरीनै मैले पनि चुस्न र चपाउन थालें
आफ्नै देशका विकाशका चिउरा
मेरो यो स्वार्थको बङ्गराले ।


अग्रगामीको सपनाको नारा त
अझै पनि सिङ्गोदरबारको चौरमा
ब्याडमिन्टन खेल्ने
खेलाडीको एडिडासको जुत्ताले
धुलोपिठो पारिरहेको रहेछ
जसको दृश्य
दरबारको अग्लो पर्खालले रतन्धो झैँ
ड्याम्मै छेकेको छ
हर्के र बिर्खेहरूको आँखामा।


झुपडीको सपनाको तूलमा त अझै पनि
लेखिदैं छ अग्रगामी प्रगतीका नाराहरू
चोकचोक र गल्लीगल्लीहरूमा
जसरी हिंजो लेखियाथे
आज पनि र भोलि पनि लेखिईरहने छ
भोकाएको बूढो कुर्सि न जलाउनुजेल
फेर्नुको त कुनै विकल्प छैन
भन्छु म त ।


राजबाबु श्रेष्ठ 'सागर'
महूत्तरी, गौशाला न. पा. वडा न.१

Leave a reply

HTML Tags are not supported

Post My Comment »