कविता- मलाई माया गर्नु अंकल तर सुमसुम्याएर होइन

१५ आश्विन २०७५

banner

मलाई माया गर्नु अंकल तर सुमसुम्याएर होइन

अंकल,
साझको प्रहर
जव पहिलो चोटी तपाईं हाम्रो घर आउनु भयो
म सम्झन्छु,
हातमा मलाई भनि चोकोफन  ल्याउनु भयो
काखमा बसेकी मलाई
कडा हातले गालामा समाउनुभयो
सुर्ती वास आउने मुँह नजिक ल्याइ  
आफ्नो छिपिएको दारी लाउनु भयो ।
रिसाएर म फनक्क फन्की तपाईं बाट टाढा भागे
राक्षस,
कस्तो हुन्छ भन्दा, मलाई अंकलै जस्तो लागे
फेरी अर्को दिन अर्को चकलेट
सबै मिठा प्रकारहरु
बदलिएन्न तपाईंको बानी
बरु बदलिए मेरा शरीरका आकारहरु
म अझै सम्झन्छु अंकल
कोदोको भारी  बोकी  निस्केकी मेरी आमा
अनि हलो  बोकी   निस्किएका मेरा बाबासंगै
चकलेट बोकी मेरो घर तिर निस्किएका तपाईंका कदमहरु
म अझै सम्झन्छु, अंकल
बाहिर झरीले भिजेका बलेसीहरु
भित्र अन्यौलताको पसिना अनि रक्त मझेरीहरु
नाइ नाइ भनेर चिच्याएका चिचाहटहरु
म अझै सम्झन्छु, अंकल
लुटिएका मेरा रमाहटहरु
तपाईंको बल अगाडि फगत लाचार मेरा उम्कने इक्ष्याहरु
मेरो मनहरु शरीर संगै छेडिए
म लाचार त्यसै त्यही परे
पाप लतपतिएका टालो लिएर तपाईं निस्कनु भयो  
त्यस पछाडि हरेक दिनका तपाईंको छुवाइले मलाई झस्काउन थाल्यो अंकल
त्यती बेला मैले कसैलाई पनि भनिन  
हिजो पनि तपाईं आउनु भयो
मेरो लागि फेरी उही चकलेट ल्याउनु भयो
मलाई काख राख्ने प्रयास गर्नु भयो
म अटेरी भएर
न तपाइको नजिक आए न तपाईंको चकलेट खाए
म आज आँफै संग झस्किन्छु अंकल
तपाईं मेरो आफ्नै अंकल हो
नछुनुस भन्दिन म,
गालामा छुनुस, हात मा छुनुस, टाउकोमा  
जुन ठाउँमा छुदा म आमालाई भन्न सकौ अंकल
तर तपाइ यस्तो यस्तो ठाउँमा छुनु हुन्छ
म कसरी भन्नु, आमा अंकलले यहाँ यहा छुनु भयो
तपाईं मेरो आफ्नै अंकल हो
माया नगर्नुस भन्दिन म,
तर जसरी माया गर्नु हुन्छ, मैले कसरी आमालाई भन्नु
आमा अंकलले...
साचै अंकल म डराउने भको छु
सबै तिर सबै आफ्नै अंकल जस्तो लाग्छ
सबै पुरुषहरुमा म तपाईंलाई देख्छु अंकल

सबलाई  भनिरहन्छु,  
मलाई छुनुस अंकल तर अठ्याएर होइन
मलाई माया गर्नुस अंकल तर सुम्सुम्याएर होइन

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष