कविता- सेतो संसार

२१ आश्विन २०७५

banner

सेतो संसार (कविता)
दीपक एम.सी.

म रङ्गबिहिन मान्छे
सेतो संसारकी मान्छे
मेरो रङ्ग सबै खोस्यौ
तर पनि सपना भने रङ्गीन देख्छु
सक्छौं भने त्यसलाई पनि रोकेर देखाउ
मैले रोपेको फूलले
रातो कोपिला निकाल्छ
अनि बिस्तारै फक्रीदै जादा
रातै फूल फुलाउछ
सक्छौं भने त्यसलाई पनि रोकेर देखाउ

ए पृथ्वीका सर्वश्रेष्ठ प्राणी भनिने मान्छेहरु!
एउटा निर्दोष चेलीलाई कति टड्पाउछौ
सिउदोको रातो सिंदुर पखाले संगै
यो भिडमा मलाई पृथक बनायौ!
दैवले मेरो लोग्ने खोस्यो!
तिमीहरूले भने
मेरै लोग्नेले ल्याइदिएको
१२ हाते रातो पटुकी
मखमलको चोली
अनि रातै फरिया खोस्यौ
मेरो लोग्ने फिर्ता ल्याउन नसक्ने तिमीहरूलाई
ती सबै खोस्ने अधिकार कस्ले दियो!

आमा!
म सानो छदा तिमीले राखेको झोलीबाट
काइयो निकालेर कपाल कोर्थे!
रातो लालीले ओठ रङ्गाउथे
रातो टिकीले निधार!
रातो सिम्रीक सिउदोमा
ठ्याक्कै आमाको जस्तै गरी भर्थे१
मलाई गाली गर्थ्यौ- के के भन्थ्यौ!
म रुन्थे!
अनि फकाउदै सम्झाउथ्यौ
'ठूली भए पछि तेरो बिहे हुन्छ
त्यसपछि यी सबै लगाउन पाउछेस्!'
बिहे भनेको के हो थाहा थिएन
तर पर्खीरहे त्यसैलाई !
तर आज तिमीले भनेको सबै खोसे१

तिमीहरूले रातो जति सबै खोस्यौ
रातो चुरा रातो पोते
रातो सिंदुर रातो कपडा
सबै सबै!
तर अझै पनि रजस्वला हुदा
रातै रगत बग्दछ!
सक्छौ भने त्यो पनि खोसेर देखाउ१

तिमीहरूले यो धर्तीलाई पनि दुई भागमा बाड्यौ!
एउटा तिमीहरूका लागि - रङ्गीन संसार
अर्को हामी जस्ताका लागि - सेतो संसार
याद राख हे रङ्गीन संसारका मान्छेहरु
तिमीहरु दमनले आजित भएर बिद्रोह हुनेछ
सेता कपडा लगाएकाहरुले सेतै झन्डा बोकेर आउनेछन!
अनि तिमीहरु विरुद्ध उत्रनेछन
याद राख जे पनि हुन सक्छ!
तयारी गरेर बस!
रातै खोला बग्न सक्छ!
अनि जितेरै छोड्ने छौ त्यो युद्ध !
अनि रातै रङ्ग दलेर
बिजय उत्सव मनाउनेछौ!
त्यो दिन आउनेछ- अवश्य आउनेछ!

कवि परिचय:
झिम्रुक गाउपालिका २, बादिकोट, प्युठानमा जन्मिनुभएका दीपक एम सी पेशाले माध्यमिक तहका स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ। उहा हाल गौमुखी मा बि, ठुलाबेसी प्युठानमा अध्यापनरत गर्नुहुन्छ। साहित्य लेखनमा क्रियाशील उहाले विभिन्न गजल, मुक्तक, कविता तथा कथाहरु लेख्नुहुन्छ। प्रस्तुत कवितामा बिधवा महिलालाई नेपाली समाजले हेर्ने दृस्टिकोण, उनले भोग्नुपरेको समस्या र दमन तथा उनको बिद्रोहलाई चित्रित गरिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »