कविता - 'पिपुल्स वार'

८ मङ्सिर २०७५
banner

भन्न त यहाँ
जनताको लडाइँ भनिन्छ
“पिपुल्स वार”
तर जित हुन्छ नेताको 

ठाउँ, गाउँ, शहर र देशको 
विभिन्न प्रयोगशालामा
धमाधम प्रयोग गरिन्छ
जनताहरूलाई लडाइँ लड्न
त्यो प्रशासनसंग
त्यो सरकारसंग

केर्न लगाइन्छ 
आफ्नै देशका भित्ताहरु
तोड्न फोड्न लगाइन्छ
सडक, पुल र सरकारी भवनहरु
लुट्न र खोस्न लगाइन्छ
छरछिमेकका 
मेहनत र सिरीखुरी
भुट्न लगाइन्छ
आफ्नै टोल र गाउँका
काका काकी र 
मामा माइज्यूलाई

गरीब दुस्खी जनताको
पसीना बटुलेर
भयङ्कर बाढी उर्लाइदिन्छ
उनीहरुको बगेको रगतले
शासकलाई तर्साइदिन्छ

जनता बलियो भएपछि
शासक कमजोर हुन्छ
अनि जनताको काँध चढेर
नेता बन्छ 
शासक

तर बिचरा सिदासाधा
जनतालाई थाहै हुदैन

नेताको जितमा
फेरि जनता हार्छ

फेरि पहिले जस्तै
शासक जति
बलियो हुँदै जान्छ
जनता त्यति
कमजोर हुँदैजान्छ

प्रकृया दोहरिन्छ
तिनै जनताको
नयाँ नेता निस्कन्छ

फेरी जनतालाई 
प्रयोग गरिन्छ
अनि त शुरू हुन्छ
अर्को
“पिपुल्स वार”

राकेश कार्की
लस एन्जेलस
 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3