बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा

२२ कार्तिक २०७५

banner

बुटवल । बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ।

बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए। एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए।

कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका लागि पार्टीको झण्डा बोकेर हिँडेकी एउटी नेतृले छोरी जन्मेपछि आफ्ना सबै चाहना र लक्ष्यहरू त्यागेर पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आएका विचार र भावनाहरू यस आत्मकथामा उल्लेख भएको बताए। उनले निकै शिष्ट र मर्यादित भाषामा लेखिएको आत्मकथा पुराना पुस्तामा रहेको संस्कार, सभ्यता र कुरीतिहरू अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि रुचिकर हुने बताए। 

कार्यक्रममा लेखक सरस्वती ज्ञवालीले पारिवारिक जिम्मेवारी पूरा गर्न आफ्ना लक्ष्य र उद्देश्यहरू त्यागेर गुमनाम जिन्दगी बिताएको तथा त्यही गुमनाम र अन्धकार जिन्दगीबाट बाहिर निस्किन ‘लालटीनको उज्यालो’ ल्याएको बताए। लेखक ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी श्रीमतीसमेत हुन्। 

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लालटीनको उज्यालोले महिलालाई अँध्यारो जिन्दगीबाट बाहिर निस्कन प्रेरणा दिने बताए। 

कार्यक्रममा साहित्यकारहरू गिरी श्रीस, दीपक ज्ञवाली, दलबहादुर गुरुङ, मिनाक्षी न्यौपानेलगायतले लालटीनको उज्यालोले नेपाली समाजमा महिलाले भोगिरहेका अन्धकार जीवनका भोगाइहरू बाहिर ल्याएको चर्चा गरे। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »