‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

२८ चैत्र २०७५
banner

भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन्। 

स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले  हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका रुपमा विकास गर्दै लैजान जरुरी रहेकामा जोड दिए।  उनले भने, “देश र जनताको सुरक्षा मामिलामा सम्भावित खतराको पूर्वानुमान गरी राष्ट्रिय चुनौतीको सही आँकलन गरेर जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्व वर्गको आजको आवश्यकता छ।”
    
प्रधानमन्त्री ओलीले नेपालको  एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौँ नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए। 

उनले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्दै भने,  “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको छ।  आफ्नो विशिष्ट साङ्गठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्य, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।”
 
उनले नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त हुनुभएका आयुक्तमा कमाण्डरका रुपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिइएको बताए। नेपाली सेनाले पनि शुरु गरेको प्रविधिमा आधुनिकीकरणतर्फको पहलकदमीले प्रविधिमैत्री वातावरण बन्नेमा आफू विश्वस्त रहेको उनले बताए। 

प्रधानमन्त्री ओलीले नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेटतर्फ नौ महिला र केन्या तथा माल्दिभ्सका दुई सहित ६६ एवं सिसं ४७ पदिक हुद्दा क्याडेटतर्फ ११ जना गरी कूल ७७  क्याडेट तालीमका आयुक्तलाई बधाई ज्ञापन गरे। 

तालीममा प्रथम हुने सञ्जोग कार्की, जुनियरतर्फ धनहरि राई, उत्कृष्ट महिलातर्फ सङ्गीता अधिकारी र विदेशीतर्फ माल्दिभ्सका हिसान एरिसलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरे। अहिलेसम्म नेपालले विभिन्न राष्ट्रका १३  विदेशीलाई यो तालीम प्रदान गरेको छ।  कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालगायत उच्चपदस्थ अधिकारी एवं सुरक्षा निकायका उच्च तहका व्यक्तित्वको सहभागिता थियो। रासस

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।