चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

२९ भाद्र २०७५
banner

लस एन्जलस। स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो।

स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो।

सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।

स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।

अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन।

स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ।

मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए।

चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन्।

स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ।

बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ।

स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l