कथामा राउटेको जिवनी ‘आदिबिम्ब’

२९ आश्विन २०७५
banner

काठामाडौं । ‘आदिबिम्ब’ अनुसन्धान र साहित्यको सङ्गम हो । यस कथासङ्ग्रहमा समाविष्ट कथामा अनुसन्धानबाट प्राप्त तथ्यलाई साहित्यिक रङ भरिएको छ ।

अनुसन्धान र साहित्यको सक्दो समन्वय गरिएको छ । अनुसन्धान तथ्यमा र साहित्य कल्पनामा आधारित हुन्छ ।

यस कथासङ्ग्रहका कथामा बढि तथ्य र कम कल्पनाको उचित संयोजन भएको छ । काल्पनिक भन्दा यथार्थमा विशेष जोड दिई कथा रचना गरिएको छ । 

‘आदिबिम्ब’ कथासङ्ग्रहमा सङ्कलित कथाहरू जङ्गलका आदिवासी राउटेहरूकै जीवनका कथा–व्यथालाई केन्द्र मानेर रचना गरिएको छ । 

कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’को पहिलो प्रयास हुँदाहुँदै पनि आख्यानका माध्यमबाट राउटेहरूका जन्मपछिका विधि व्यवहार, संस्कार र संस्कृति, चालचलन, रीतिथिति, रहन–सहन, वेशभूषा तथा कष्ट साध्य जीवन भोगाइका सन्दर्भहरू व्यक्त भएका छन् । राउटेहरूको कालीगडी (काठका भाँडा बनाउने, कुँद्ने सीप), परम्परा धान्ने प्रचलन, अशिक्षा आदि कुरा मुखरित भएका छन् ।

परिवारका कुनै सदस्यको मृत्युपछि अर्काे जङ्गलको खोजी गरी बसाइँ सर्ने प्रक्रिया अवलम्बन गर्ने सन्दर्भ अघि सारिएको छ । उनीहरूमा चरम गरिबी छ साथै लैङ्गिक विभेद पनि त्यतिकै देखिन्छ । 

राउटे–राउटे बीचमा पनि मुखियाको शोषणका विरुद्धको आवाज उठाउनु, आन्दोलन गर्नु र मुखिया परिवर्तन गर्नेजस्ता पक्ष पनि सशक्त देखिन्छन्, ती घटना परिघटनाका प्रसङ्गहरूले प्रगतिवादी चेतना प्रतिबिम्बित गराएको अनुभूत हुन्छ । 

सङ्घर्षमय जीवन र सामन्ती व्यवस्थाको कोपभाजनमा परेको अवस्थाको चित्रण सान्दर्भिक छ । 

दैलेख जिल्लाको आसपासका जङ्गलमा बसोबास गर्ने राउटेहरूको जीवनमा केन्द्रित भएर लेखिएको पहिलो आख्यानात्मक कृति हुनु यसको निजी विशेषता हो ।

यसै सन्दर्भमा युवा साहित्यकार रामकृष्ण आचार्य ‘विशेष्य’द्वारा रचित ‘आदिबिम्ब’ नामक कथासङ्ग्रहले नेपाली साहित्यका फाँटमा एउटा नौलो गोरेटो कोर्न सफल भएको छ । प्रस्तुत कृतिमा भएका जीवन्त चरित्रले एक्काइसौं शताब्दीको युगलाई नै चुनौती दिएका छन् । 

पाठकलाई पत्यार नलाग्ने गरी वर्तमानको ढुङ्गेयुगमा पु¥याएको छ । यसो हुनुको प्रमुख कारण दैलेखमा जन्मिएका रामकृष्ण आचार्य सानैदेखि समाजबाट उपेक्षित नामधारी मानव राउटेसँग धेरै नजिकबाट परिचित रहे । 

तर आचार्यको यो पुस्तकले राउटे जातिको जनजीवनका यथार्थतालाई प्रस्तुत गरी जनसमक्ष ल्याउन सक्दो प्रयास गरेको छ । 

उनीहरूका जीवनमा जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्ड, रीतिरिवाज, रहनसहन, लवाइखवाइ र जीवनका भोगाइलाई ज्यादै नजिकबाट नियालेर सत्य तथ्यलाई प्रस्तुत गर्न अत्यन्तै सफल भएका छन् । यस्तो लाग्छ पाठक नै सँगसँगै राउटेसँग उठबस गरिराखेका छन् । 

यस सङ्ग्रहका कथामा मार्मिक, कारुणिक र जीवन्तता प्रदान गरिएको छ । जुन शब्दले व्यक्त गर्न सकिँदैन । 

प्रस्तुत कथासङ्ग्रहमा बीसवटा शीर्षक दिएर कथाकारले राउटे जातिका जीवनका विविध पक्षलाई उजागर  गर्दै आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भाषिक पक्षलाई विशेष महŒव दिएका छन् ।

कथासङ्ग्रह अत्यन्त रोचक, मर्मस्पर्शी र यथार्थपरक छ ।

समग्रमा नयाँ विषयवस्तुयुक्त यी कथाले नेपाली साहित्यमा नै नयाँ स्वाद प्रदान गर्ने छन् । नयाँ सन्तुष्टि दिने छन् । यसबाट एकातिर नेपाली कथा साहित्यमा विषयगत विविधिकरण हुने छ भने अर्काेतिर राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययन अझ संवृद्ध बन्दै जाने र बन्न प्रेरणा प्रदान गर्ने छ ।

आचार्यको प्रस्तुत कथासङ्ग्रह नेपाली साहित्यका प्रख्यात र प्रखर साहित्य–प्रतिभाले समेत नपहिल्याएका र अझै सर्वसाधारण जनताको दृष्टिलाई अज्ञानताको कुहिराले छोपिराखेको तथा अनकन्टार जङ्गलका छाप्रा र ओडारमा आफ्नै किसिमको रमाइलो जिन्दगी बिताउन रुचि राख्ने आफ्नै किसिमको विचार र मान्यताको परिपथमा परिक्रमा गर्ने, नितान्त बेग्लै भएर पनि विषादविनिर्मुक्त अलिखित जीवनको विविध पाटाका जीवन्त चित्रण हो ।

यसरी यस कथासङ्ग्रहलाई समन्ततः परिक्रमा गर्दा के प्रतीत हुन्छ भने यी कथाहरू राउटे जीवनका विविध आयामलाई केलाएर नयाँ लोकको अनालोकित बहुविध पक्षमा नवालोक प्रदान गर्ने कथाकारले सँगालेका यथार्थ पात्रसँगको जीवन्त क्रियाकलापसित सम्बन्धित सृजनात्मक अभिलेख हुन् जसले प्रसादमय अभिव्यक्तिका रूपमा प्रकटित भएर लेखकका निम्ति जति सुखद सन्तुष्टि प्रदान गर्न सफल भएका छन्, पाठकका निम्ति पनि त्यति सुस्वाद्य अनुभूति सञ्चार गर्न सफल भएका छन् । 

यस कथासङ्ग्रहमा सङ्ग्रहित यी कथाहरू हृदयस्पर्शी बुनोटमा विरचित, नूतन क्षितिजका आविष्कारक, नौलो जीवनका समुद्घाटक, नितान्त नौलो र मनोहारी परिवेश पस्कने कथाकारको गहिरो अनुभूतिलाई अङ्कित गरी कथाकृतिको रचनात्मक कौशल झल्काउने आख्यात्मक उत्कृष्ट आलेख ठहर्छन् र अनालोकित जीवनको उज्ज्वल आलोक प्रतीत हुन्छन् ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l