गुलियो चिनीमा लुकेको ‘तितो’ नियत

२५ आश्विन २०७५

banner

खेमराज थापा

काठमाडौं । नेपाल औद्योगिक उत्पादनका दृष्टिकोणले सिमेन्ट र साबुन बाहेक कुनै पनि उत्पादनमा आत्म निर्भर छैन र पनि ती वस्तु विदेशबाट आयत भइरहेकै छन् । यस्ता वस्तुमा आयत प्रतिबन्ध लगाइएको पनि छैन ।

अब प्रश्न उब्जिन्छ, चिनी जस्तो दैनिक उपभोग्य वस्तु त्यो पनि दशैंको मुखमा किन आयात प्रतिबन्ध ? यसको चित्त बुझ्दो जवाफ र आयत प्रतिवन्धपछि बजारमा देखिएको मूल्य असन्तुलनका कारण सरकार र संसदबीच हालका दिनमा चिनीको मूल्यलाई लिएर शक्तिसंघर्ष चलिरहेको छ ।

सरकार र सबैलाई थाहा छ दशैंमा चिनीको माग बढ्छ । माग बढ्ने आपूर्ति कम हुने हो भने मूल्य बढ्छ यो त अर्थशास्त्रको सर्वमान्य सिद्धान्त नै हो । अँझ मौद्रिक नीतिमा पीएचडी गरेका अर्थमन्त्री यूजराज खतिवडालाई यो विषयमा जानकारी नहुने विषय नै भएन । न त नेपाली चिनी उद्योगको उत्पदानले नेपाली बजारलाई धान्ने क्षमता छ । 

यस्तो अवस्थामा चिनीमाथि लागेको प्रतिबन्ध सरासर गुलियो चिनीमा लुकेको ‘तितो’ नियत नै हो । नेकपाकै सांसद विरोध खतिवडाले संसदमै भनेका थिए, ‘चिनीको चास्नीमा को को झिँगा बनेका छन् विस्तारै खुल्दै जाला ।’ उनको यो भनाइले पनि चिनीको मुल्य बढाउन सरकार र चिनी उद्योगबीच मिलीभगत भएको पुष्टि हुन्छ । 

त्यतिमात्र होइन सत्ता रुढ दलकै अर्का सांसद लेखराज भट्ट सार्वजनिक लेखा समितिका सदस्यले अँझ सरकारमाथि गम्भीर आरोप लगाउँछन् । उनले समितिको बैठकमै चिनीमा करिब एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको चलखेल भएको बताएका छन् ।

उनकै नेतृत्वमा लेखा समितिले एक उपसमितिसमेत गठन गरेको थियो । सो समितिले चिनीमा भएको चलखेलबारे अनुसन्धान गरि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । बिहीबार बसेको लेखा समितिको बैठकले चिनीमा अनियमितता भएको भन्दै यस्तो निर्देशन दिएको हो । 

सत्तारुढ दलकै सांसद विरोधमा उत्रिनुलाई सामान्य रुपमा लिनु उचित होइन । पक्कै पनि यसमा सरकार र उद्योगीबीच कुनै कनेक्सन रहेको लेखा समितिको दावी छ । त्यसैले पनि यो विषय अब अख्तियारसम्म पुगेको हो । 

मागमा आत्मनिर्भर नभएको दैनिक उपभोग्य वस्तुको माग बढ्ने सिजन आएको समयमा सरकारलाई के वाध्यता आइलागेको हो प्रतिबन्ध लगाउन सरकारले जनतालाई जवाफ दिनुपर्ने हो । तर, सरकारका विभागीय मन्त्री आपूर्ति मन्त्री मात्रिका यादव भने संसदीय समितिको विरोधमै उत्रिएका छन् । उनले संसदीय समितिको सिफारिसअनुसार चिनीको मुल्य कायम गर्न नसकिे बताएका छन् । 

लेखा समितिले चिनीको खुद्रा मुल्य ६३ रुपैयाँ तोक्न निर्देशन दिएको छ । तर बजारमा भने यसको मुल्य पसलैपिच्छे फरक छ । डिपार्टमेन्टल स्टोरमा ५९ रुपैयाँ प्रतिकेजी मूल्य रहेको चिनी खुद्रा पसलसम्म पुग्दा ८० रुपैयाँसम्म पुगेको छ । यो काठमाडौं राजधानीकै मुल्य हो । राजधानी बाहिर दुरदराजमा भने चिनीको मुल्य ‘सुन’ जस्तै छ । 

दशैंको बेला जनतालाई राहत दिनुपर्नेमा उल्टै ढाड सेकिने गरि मुल्य वृद्धिको वातावरण बनाउने विभागीयमन्त्री मात्रिका यादव र अर्थमन्त्रीले यसको विषयमा स्पष्टीकरण दिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चको भनाई छ । 

एक अध्यायअनुसार नेपालमा चिनीको माग ४० प्रतिशत स्वेदशी उत्पादनले पुरा गर्छ भने ६० प्रतिशत आयतमा निर्भर छ । यस कारण पनि आगामी दिनमा आयतमा लागेको प्रतिबन्ध नहटे मुल्य थप बढ्ने निश्चित छ । 


 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »