जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रियकरण गरिने

३ पौष २०७५
banner

प्रतिनिधिमुलक तस्विर

देवराज सुवेदी 

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा हुने जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । 

सतहत्तर वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा घोषणापत्र जारी गर्नेछ । 

सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका योजना निर्माणको आवश्यकताको बोध हुने, स्थानीय तहको योजनामा मूल प्रवाहीकरण गर्न सहयोग गर्ने, जलवायु परिवर्तनका कारणले कृषि, जलस्रोत, वन तथा जैविक विविधतामा पारेको असरका बारेमा छलफल हुने बताइएको छ।

देशलाई जलवायुमैत्री उन्मुख देश हुनका लागि मद्दत गर्ने, जलवायु परिवर्तनसँगै अनुकूलित योजना निर्माण र परिवर्तन न्यूनीकरणका गतिविधि सञ्चालन गर्नका लागि नीति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालालाई निर्देशित गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 

उनका अनुसार प्रत्येक जिल्लाबाट प्रमुख उपप्रमुख, एकजना सदस्यसहित तीन जनाको उपस्थिति रहने छ । सम्मेलनमा सहभागी हुनका लागि १५ गते ११ बजे ७७ वटै जिल्लाका प्रमुख राष्ट्रिय झण्डा बोकेर सुन्दरीजलबाट सुरुङमार्ग हुँदै काउले दोबान निस्कने योजना रहेको प्रमुख तामाङले बताए। 

राष्ट्रिय झण्डा गुफा डाँडामा पु¥याएर गाडिनेछ । सम्मेलन हुने स्थान गुफाडाँडामा जाने मोटरबाटो खन्ने, धारा पानीको व्यवस्थापनका साथै चउर सम्याउने काम भइरहेको तामाङले बताए । विगतमा काठमाडौँको सुविधा सम्पन्न होटलमा गरिने कार्यक्रमभन्दा राम्रो र स्तरीय बनाउनका लागि जिल्ला सम्मन्वय समितिको पहललाई सकारात्मकरुपमा लिइएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अन्तर्राष्ट्रियस्तरका दातृ निकायलाई जलवायु परिवर्तनको असर, सिन्धुपाल्चोकमा कस्तो असर देखिएको छ भन्ने विषयमा जानकारी दिन सम्मेलन गुफाडाँडामा आयोजना गरिएको हो । संयोजक तामाङले भने, “सो सम्मेलनमा भाग लिनेहरुले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गमा पनि प्रवेश गर्ने मौका पाउनेछन् ।” 

सम्मेलनबाट जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिनेछ । तामाङका अनुसार सम्मेलनमा छ जना विज्ञबाट जलवायु परिवर्तनले सिन्धुपाल्चोकको आर्थिक, सामाजिक, पर्यटकीय, कृषि, पानीको स्रोत, वातावरणीय रुपमा कस्तो असर पारेको छ ? भन्ने विषयमा पनि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत हुनेछ । 

“हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्यधिक कार्बनको सामना गरिरहेका छौँ,” तामाङले भने, “दुई ठूला विकासशील देश भारत र चीनले उत्सर्जन गरेको कार्बनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ, त्यसैले नेपालको विकास र यसको प्रभाव न्यूनीकरण गर्न दुवै छिमेकीले रोयल्टी दिनु पर्दछ ।” 

उहाँले भारत र चीनबाट रोयल्टी पाउनु पर्ने माग पनि सम्मेलनमा अघि सारिने जानकारी दिए। विगत वर्षमा प्रायः गरेर पाँचतारे होटलमा गरिने यस्ता कार्यक्रम यस वर्ष प्रत्यक्षरुपमा जलवायुसँग सरोकार रहेको स्थानमा गरेर स्थलगत तथा एक प्रकारले भन्ने हो भने प्रयोगात्मक ढङ्गले सिन्धुपाल्चोकमा गर्नका लागि जिल्ला सम्मन्वय समितिले खेलेको यो भूमिकाको सबैतिर प्रशंसा गरिएको छ । 
 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।