यस्तो छ तीजको धार्मीक र सांस्कृतिक महत्व

२६ भाद्र २०७५

banner

सुरेन उप्रेती 

आजभोलि हरेक पत्रपत्रिका टिभीका च्यानलहरु, यूटुव, फेसबुक म्यासेन्जर, भाइबर आदि सोसल मिडियाहरुलाई तीजले रातै र तातै बनाएकोछ।  तीज आउनु भन्दा महिनौ दिन अगाडि देखि घरघरमा पार्टीहरु शुरु हुन्छन्। टोल टोलमा पार्टीहरु हुन थाल्छन्। समूह समूहका तडक भडक सहितका पार्टीहरु हुन्छन। मुलुक भित्र मात्र नभएर नेपालीहरु पुगेका हरेक देश र शहरहरुमा पार्टीहरु चल्छन्। नेपालीहरुको अलि घना बसोबास भएका शहरहरुमा त प्राय हप्तान्त आउन पाउँदैन। 

तीजका गीत गाउनका लागि गायिकाहरु देश विदेशबाट आमन्त्रण हुन्छन्। प्रत्येक पार्टीहरुमा जाँदा फरक फरक पहिरन श्रृङगारमा महिलाहरु उपस्थित हुन्छन्। नाक कान घाँटीको अशली रुप नदेखिने गरी गहँना लगाउँछन्। ती कार्यक्रम र भेलाहरुमा कसका गहँना ठूला र राम्रा हुन भन्ने मुल्याङकन हुन्छ। त्यसका लागि अघोषित जजबनेर आँखाहरु तेर्सिएका हुन्छन्। कसले महँगा साडी लगाएको छ तुलनाका तराजुमा तौल लिइन्छ। तीब्र गतिमा बढेको सोसल मिडियाको प्रयोगले गर्दा कसै सँग केही लुक्ने सम्भावना पनि भएन। कुन ठाउँमा जाँदा कसले कुन पहिरन र गहनाहरु लगाएका थिए भन्ने भिडियो र तश्विरहरुले यत्रतत्र पुगेर वकपत्र दिइरहेकै हुन्छन्।

हुन त यो तीजले साडीहरु कूर्ता सुरुवालहरु लेहेंगाहरु देखि बिभिन्न गरगहनाका उधमीहरु निर्यात कर्ता र विक्रिकर्ताहरुलाई राम्रै आम्दानी गराइ रहेको छ। धेरैलाई रोजगारगी दिएर खाडीमुलुकमा गएर हाँडीमा भुटेको मकै हुनबाट जोगाएको छ। तर ती सबै श्रृङगारका सामान र बस्त्रहरु छिमेकी मुलुक भारतबाट आयातित हुने गर्दछन्। यसबाट छिमेकिमुलुकले एक मुष्टरुपमा अरबौं रकमको आम्दानी गर्न सफल भएको छ। अब रह्यो गहनाको कुरा। गहनाहरु पनि बनाउँनेमात्र त नेपालमा हो। अरु सबै आयातित हुन्छन। 

यी “सुन भन्दा कम छैन हराउँदामा डरछैन” भन्ने गहनाहरु पनि भारतबाट नै आयातित छन्। बजारमा आएका यी प्लास्टिकका गुलाबका फूलझैं नक्कली सुनका गहना बनाएर भारतले निकै राहत दिएको पाइन्छ। तर सुनका पारखी महिलाहरुका चनाखा आँखाहरुका कसीमा ती गहनाहरु पनि आत्म समर्पण गर्न विवश हुन्छन्। पुलिसको पोलिग्राफ चेकिङका अगाडिको कसूरदार झैं लुगलुग काम्न थाल्छन।

यो तीजको होडबाजीले मध्यम बर्गिय र निम्न बर्गिय आर्थिक अवस्थामा गुज्रने परिवारहरुलाई नै बढी पिडित बनाएको पाईन्छ। आफ्नो पारिवारिक अवस्थाकोको ख्यालै नगरी अरु सँग तुलना गराउँछ। पारिवारिक कलह जन्माउँछ। नेपालको कूल जनसंख्याको दुईतिहाइ जनसंख्या यही बर्गमा पर्दछन् । यो तीजको लहर, रहर, र लहडले समाजलाई कुनै विकृत र विषम परिस्थिति तर्फ उन्मुख त गराउँदै छैन। यो चिन्ताको र चासोको विषय झाँगिदै गएकोछ।

तीज पर्वलाई नेपाली समाजले आत्मसात गर्दै मनाउँदै आएको कुरा ठ्याक्कै तीथिमिति छैन। तर यसको पौराणिक कथाहरुलाई हेर्ने हो भने हजारौं बर्षको इतिहाँस भएको अड्कल गर्न गाह्रो हुँदैन । तीज पर्वको शुरुवातका विषयमा सत्ययुगमा नै पर्वतराज राजाकी छोरी पार्वतीले भगवान शीवलाई पति पाउँ भनेर कामना गरेकी थिइन। तर पर्वतराज राजालाई शीवको भेष भुषा खानपान आनी बानी पटक्कै मन परेको हुँदैन। उनले नारदलाई बोलाएर छोरीको विवाह गर्नु पर्ने उमेर भएको बताउँछन् । नारदलाई अशल र गुणवान बर खोज्न अनुरोध गर्दछन्। नारदले केहीबेर शोचमग्न भएर सबै भन्दा अशल र गुणवान बर बिष्णुभगवान नै हुन भन्ने सल्लाह दिए। 

बाबु पर्वतराजलाई नारदको कुरा मन्जुर भएको देखेर पार्वतीलाई पिर पर्यो। उनले उनका सहेंलीहरुलाई आफ्नो चिन्ता व्यक्त गरिन्। उनका सखीहरुले पार्वतीलाई कसैले नभेट्टाउने ठाउँमा लगेर लुकाए। पार्वतीले त्यहीं बालुवाको शिवलिङ्ग स्थापना गरेर पूजा गर्न थालिन। उनको पूजाबाट प्रशन्न भएर शिवजी प्रकट भए। पार्वतीको कठोर तपश्या र ध्यानबाट मन्त्रमूग्ध भएर शिवपार्वतीको विवाह भयो। पार्वतीलाई लुकाउने या हरनेकामको मुख्य नेतृत्व आलिका नामक सहेंलीले गरेको थियो। त्यसैले हरतं आलिका भएर हरितालिका बनिएको हो भनिन्छ।

यो हरितालिका भाद्रशुक्ल द्धितिया देखि शुरुभएर पन्चमी सम्म मनाउने प्रचलनबाट शुरुभएको हो। तिज पर्वलाई हिन्दु महिलाहरुको सबभन्दा ठूलो चाहाडको रुपमा मनाइन्छ। द्धितियाका दिन चेलीहरुलाई माइतिघरमा बोलाउने। मिठा मिठा कुराहरु खिर ढकने पुलाउ मोहनभोग बिभिन्न तरकारीहरु र अचार बनाएर खाने चलन छ। पाए सम्मका फलफूलहरु खान्छन। खानपिन गरेर बेलुका चाँडै सुत्ने अनि विहानको राती नै उज्यालो भूँइमा खस्न नपाउँदै ढकने तथा खिर खाने चलन छ। त्यस बेला खाने खानालाई दर भनेर चिनिन्छ। दर खाएर केहि समय विश्राम गर्दछन्। विहान झिस्मिसे उज्यालो हुँदा नुहाउँछन् र निर्जल र निराहार ब्रत बस्तछन्। दिनभर शीवजीको मन्दिर भएको ठाउँमा भेलाभएर शीव र पार्वतीको पूजा आरधना गर्दछन्। भक्ति गीत तथा नारीका बेदना युक्त गीतहरु गाएर नाचगान गर्दछन्।

मन्दिर नभएका गाउँठाउँहरुमा सबै दिदी बहिनीहरु पार्क तथा चउरहरुमा भेला भएर नाचगान गर्दछन् । पार्क र चौरीहरु पनि नभएका ठाउँहरुमा कुनै मानिसका घरमा भेलाभएर नाचगान गर्ने तथा घरको भित्ता र भूँइमा बिभिन्न रंगले भगवानका जनवार र मानिसहरुका चित्रहरु बनाउने प्रचलन छ । त्यो रंग पनि बिभिन्न झारपात तथा मसीहरुबाट बनाइन्छ। ती चित्र बनाउने कामलाई जिैउतीलेखने भनिन्छ। विवाह गरेर तीजमा माइती आएका चेलीहरुले आफ्ना दुख र पिडाहरुलाई पनि गीतबनाएर पोखने चलनछ। कतै श्रीमानले सताएक कुराहरु गीतमा पोख्दछन् र हलुका भएको महषुस गर्दछन्। जाँड पनि स्वामीलाई रक्शी पनि स्वामीलाई एक पेट खाने अन्न छैन हामीलाई।

कतै माइत जान नपाएको र काम गर्नु परेको गुनाशो गीतबाट यसरी पोख्छन्। तिज आयो भनेर सबै जान्छन् माईत आफ्नो माइती मंगलान् पारी छैन साहित यो रमाइलो बेलामा जानु पर्यो मेलामा म चेलीको आशु झर्यो दैलो ठेलामा कतै शिक्षा र चेतना फैलाउने गीतहरु गाउँछन् ।नारीहरु पनि सक्षम छौं।

एउटा हात पुरुष हो अर्को हात नारी हो । केही फरक छैन बराबरी हो। कति विकाश गरी सके अरु देशका नारीले हामीलाई छोड्दैन घाँसको भारीले जस्ता हामी पनि केहि गर्न सक्छौं। हामी पनि पुरुष सरह सामाजिक रथका एउटा पाङग्रा हौं भन्ने उत्थानका गीत बनाएर गाउँछन्।

राता साडी कूर्ता सुरुवाल आदिमा सजिएर आफु सँग भएका गर गहनाले सजिएर दिन भरी केही नखाइ ब्रत बस्तछन्। विवाहित महिलाहरुले आफ्ना पति र परिवारको दीर्घायूको कामना गर्नुका साथ सुख र संबृद्धिको कामना गर्दछन्। अविवाहित नारीहरुले पनि शीव पार्वतीको पूजा र आराधनाले अशल र गुणी पति पाउँछन् भन्ने विश्वास छ। ब्रत बस्नाले असल र गुणी पति पाइन्छ भन्ने विश्वास गर्दछन्। बर्षदिन सम्म घरखाएर फर्किएका चेलीहरुले एक दिन नै भए पनि माइतिघरमा भेला हुन पाउँदा खुशी व्यक्त गर्दछन्।

जन्मेदेखिका साथिसंगी सँग भेट भएर दुख सुखका कुराहरु बाँडेर हल्का भएको अनुभूति गर्दछन्। तीज पर्वले हाम्रो संस्कृति परंपरालाई निरन्तरता दिंदै आएको छ। हाम्रा परंपरा रीतिरिवाज जस्ता धेरै कुराहरुलाई लोपहुनबाट बचाएको छ। जान्दा अमृत नजान्दा मृत भनेझैं यस पर्वलाई हाम्रो आय औकात र समाजले धान्न सक्ने रुपमा मात्रै मनाउँदै गयौ भने दीर्घकालिन सकारात्मक सन्देशवाहक भएर जानेछ। यसमा देखिएका विकृत र विसंगतीहरुलाई समयमै निस्तेज गर्न नसक्ने हो भने यसले सामाजिक बैमनश्यता उब्जाउँदै गलत मार्ग तर्फ डोर्याउने खतरा बढ्दै जानेमा दुईमत नहोला। समाजका सचेत परिवर्तनकामी यूवा तथा नेतृत्व बर्गले बेलैमा ध्यान पुर्याउनु जरुरी देखिन्छ। २०७५ सालको तीजको उपलक्षमा सन्सारभर छरिएर रहेका समस्त चेलिहरुलाई हार्दिक शुभकामना।

लेखक : उप्रेती अटवा क्यानडामा बस्दै आएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »