उमेर र बल हुँदा सबैको भरिया, उमेर ढल्केर बिरामी पर्दा कोहि भएनन् साहारा

२२ कार्तिक २०७५

banner

बिनेश खनाल 

अर्घाखाँची । प्युठानको सिमाना नजिक पर्ने अर्घाखाँची जिल्लाको  भुमिका स्थान नगरपालिका १ ढाकावाङ राजिमेका काले घर्ती अथार्त ‘बिरेका काले ठुले दार्इ’लाई  राजिमे, आमडांडा, ओखटे, साम्नेगाउँ लगायत प्युठानको खरेन्डांडा, चुंजाठाटी , बिजुली आदि ठाउँका मान्छेहरुले नचिनेका सायद कमै होलान् । 
यि गाउँहरुमा ठुले दाईले धेरै जनाको भारी बोकेका छन् ,धेरैको काममा सहयोग गरेका छन् । आफ्नो बाल्य अवस्था देखी अहिलेसम्म उनले कति मान्छेको सेवा गरे,कति जनाको घरमा काम गरे उनी आफैलाई एकिन छैन । किनकि ठुले दाईको टाउको र पिंठ्युले जिन्दगीमा थुप्रै मान्छेहरुका अनगिन्ती भारी बोकेका छन् ।सानैमा बुवा ,आमा गुमाएका ठुले अरुको यस्तै काम गर्दै हुर्केका हुन् ।

बुवा आमाको निधन भएपछि उनले पढ्न पनि पाएनन् । सायद शिक्षाको कमि भएर होला उनी त्यति टाठो,बाठो पनि छैनन् । ठुले दाईले आफ्नो जीवनमा राम्रो काम र राम्रो कुरा सिक्ने मौका कहिल्यै पाएनन् ।

पाए त केवल ठुला-ठुला भारीको वजन कस्तो हुन्छ भन्ने । राम्रा कुराहरू उचित तरिकाले सिक्ने अवसर नपाएर पनि होला उनको चेतना स्तर,स्वाभव,शैली अहिलेसम्म पनि केटाकेटीको जस्तै छ । ठुले दाईले आफ्नो जीवनको करिब ६ दशक भन्दा धेरै यस्तै बच्चाको जस्तै ठट्यौली तरिकाले अरुको भरिया बनेर  बिताए ।

ठुले दाई एकदमै सोझा छन् । उनले आफैले  निर्णय कहिल्यै केही गर्न सक्दैनन् । अरुले जे भन्यो,जस्तो भन्यो त्यही मान्ने गर्छन् । जहिले पनि अरुको कुरालाई सहि ठान्छन् ।

अरुले जे काम गर्न भन्यो त्यही खुरुखुरु गर्छन । उनलाई पैसाको हिसाब गर्न पनि केही आउँदैन । पैसाको नोट के कतिको हो भन्ने हेक्का पनि राख्न सक्दैनन् । आजसम्म जति पनि काम गरे त्यो सवैबाट उनले केहि पनि पारिश्रमिक पाएका छैनन् ।

जिन्दगीमा कमाउंला ,विहे गरौंला,सम्पत्ति जोडौंला,भविस्य सुन्दर बनाउंला भनेर ठुले दाईले कहिले पनि अरुको काम गरेका थिएनन् । उनलाई जिन्दगीमा केही गर्नु थिएन ।उनले सोंच्थे त केवल बिहान,बेलुका खान कस्ले दिन्छ र बास बस्न कहाँ पाईन्छ भन्ने ।

त्यही दुई छाक खान र सुत्नको लागि ठुले दाईले खाली खुट्टा जिन्दगीभर धेरै जनाको काम गरे,भारी बोकिरहे । जवानीमा आफ्नो पाखुरामा भएभरको बल एक गास खान कता मिल्छ भनेर खर्चै ।

तर समय सधै एकैनास कहाँ हुँदोरहेछ र । पाखुरामा बल हुने उमेर छंदा सम्म मात्रै रहेछ । टाउको र  पिंठ्युले नाम्लोमा झुन्डिएको भारीको भार थेग्न सक्ने पनि जवानी र स्वस्थ हुँदा सम्म मात्रै रहेछ ।

अहिले ठुले दाईको जवानी अवस्थाले नेटो काटी सकेको छ । पहिलेको जस्तो काम गर्ने,भारी बोक्ने तागत छैन उनमा । आजभोलि केही काम गर्न सक्दैनन् उनले । जवानी छंदा पनि धेरै पटक भोकै रहे ,चिसोमा बाहिर सुते ,पोसिलो खान पाएनन् उनले ।

त्यसको असर अहिले उनलाई परेको छ । उमेर ढल्के संगै अहिले उनी विभिन्न रोग बाट ग्रसित छन् । उनको खास रोग के हो त्यो पनि पत्ता लागेको छैन उचित उपचारको अभावमा । ठुले दाइ दिनप्रतिदिन कमजोर हुँदै गएका छन् । काम गर्न सक्न छोडेपछि उनले खान पनि पाएका छैन । बस्नको लागि कुनै बास(स्थानको टुङ्गो पनि छैन ।

कतै मिल्यो र कसैले दया लागेर  दिईहाले भने खान्छन् उनले आजभोलि । होइन भने यत्तिकै भोकभोकै बस्छन् ,जहाँ पायो त्यहीँ सुत्छन । सन्तुलित खानाको अभाव ,त्यसैमा बस्नको लागि उचित ठाउँ नभएकोले बाहिर बाटोमा ,रुखको बोटमुनी,पेटिमा सुत्दा उनको स्वास्थ स्थिति बिग्रदैं गएको छ ।

उमेर र जवानी छंदा ज-जसको दुख गरे आज उनैले आफुलाई नराम्रो ब्यवहार गर्ने गुनासो गर्छन् उनी । अहिले आफु अस्वस्थ भएको पीडा सुनाउँदा झर्को मान्ने गरेको बताउछन् । खाना माग्दा नदिने ,दिईहाले पनि धेरै गाली गर्ने गरेको उनी सुनाउछन् ।

बौद्धिक क्षमता कमजोर भएको कारण समयमै केहि सोंच्न सकेनन् उनले । आफ्नो पैतृक सम्पत्ति कहाँ कति के छ भन्ने बारे पनि केही ज्ञान छैन उनलाई । मान्छेको बुद्धि ,दिमाग सवैको कहाँ एकैनासको हुँदोरहेछ र ।

ठुले दाईको बौद्धिक क्षमता कमजोर भयो त्यसैले जिन्दगीभर दुख पाईरहे उनले ।अहिले उनलाई उपचारको एकदमै खाँचो छ । तर यो धर्तीमा उनको आफ्नो भन्ने कोहि छैनन्  । उपचार गर्न कहाँ जाने,कस्ले लैजाने ,के लियर जाने केहि कुराको टुङ्गो छैन । ठुले दाईले आफु उपचार गरेर तन्दुरुस्त भए आफु फेरि पनि काम गरेर खाने बताउँछन् ।

ठुले दाईका पिडाहरु सवै मैले विगत लामो समय देखि सामाजिक काममा सक्रिय रहेका परिवर्तनशिल युवा क्लब भुमिका स्थान (१ का अध्यक्ष कृष्ण प्रसाद खनाल ,त्यस्तै दिल्लीमा कार्यरत समाजसेवी नरेन्द्र भुसाल ,मधु भुसाललाई लगायत सामाजिक संजाल मार्फत सवैलाई जानकारी गराएको थिएँ । उहाँहरुले आफू लगायत आफ्नो संस्था बाट पीडित 'बिरेका काले ठुले दाइ' को उपचारको लागि सहयोग अभियान चलाउने निर्णय गरेको हुँदा सहयोग गर्न इच्छुक सहयोगी मनहरुलाई निम्न खाता नम्बरमा जम्मा गराइदिन तथा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध छ ।

परिवर्तनसिल युबा क्लब- अध्यक्ष कृस्ण प्रसाद खनाल

                   मोबाइल -९८५७०६१०१३

     बैकं अफ काठमान्डु लिमिटेड 

GOVINDA KHANAL/KRISHNA KHANAL 

को संयुक्त नाममा रहेको क्लबको खाता नम्बर 

             ०५३८००००२१२७५२४

 

दिल्ली- नरेन्द्र भुसाल -८१७८१३०३७

दिल्ली -मधु भुसाल-  ९८१०४१७२७३

  

अन्य जानकारीको लागि - बिनेश खनाल ९८४८०६९०३

Leave a reply

HTML Tags are not supported

Post My Comment »