तिलगङ्गा–गुह्येश्वरी सडक बन्द    

१ जेठ २०७६
banner

काठमाडौँ । सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला सङ्ग्रहालयका रुपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगङ्गा–गुह्येश्वरी सडक बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य रहेको खुल्ला सङ्ग्रहालय भएकाले यसको संरक्षणका लागि सडक बन्द गर्नुपरेको जनाइएको छ ।

सडक बन्द गर्न युनेस्कोको मुख्य कार्यालयले सन् २०१२ मे ११ तारिखका दिन नेपाल सरकारकालाई पत्र लेखी तिलगङ्गा–गुह्येश्वरी सडक बन्द नगरेर पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिएको थियो । अधिवक्ता तुलसी सिम्खडाले यो सडक बन्द गराउन सर्वोच्च अदालतमा हालेको रिटमा नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई पटक/पटक सडक बन्द गर्न पत्राचार गरेको थियो ।

युनेस्को र सर्वोच्च अदालतका आदेश एवं मन्त्रालयको पटक/पटकको पत्राचार कार्यान्वयन गराउन कोषले गत पुस ३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरी सडकमा पर्खाल लगाउन ठेक्का आह्वान गरेको थियो । जसअनुसार पिआर कन्स्ट्रक्सन भक्तपुरसँग गत वैशाख १२ गते सम्झौता भएको थियो । सम्झौता बमोजिम निर्माण व्यवसायीले वैशाख ३० गते सोमबारदेखि काम शुरु गरेकाले सडक बन्द भएको कोषका सदस्य सचिव डा ढकालले बताए।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3