चीन–अमेरिका व्यापार युद्धको व्यापक असर पर्ने राष्ट्र संघको चेतावनी

२३ माघ २०७५
banner

न्यूयोर्क (एजेन्सी) । व्यापारसम्बन्धी संयुक्त राष्ट्रसंघकी एक उच्च अधिकारीले चिनियाँ सामानमा अर्को महिनादेखि शुल्क बढाउने संयुक्त राज्य अमेरिकाको कदमबाट विश्व अर्थतन्त्रमा व्यापक असर पर्ने चेतावनी दिएकी छन् ।

मार्च १ सम्ममा द्विपक्षीय व्यापार सम्झौताबारे कुनै सहमति हुन नसके चिनियाँ सामानहरूमा शुल्क बढाउने अमेरिकी योजना छ । 

अमेरिका र चीनबीचको व्यापार युद्धका असरबारे व्यापारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको एउटा अध्ययन प्रतिवेदन आएपछि पछिल्लो चेतावनी सार्वजनिक भएको हो ।

सो प्रतिवेदनले संरक्षणवादका कारण एशियाली मुलुकहरू अझ बढी प्रभावित हुन सक्ने औंल्याएको छ ।  अमेरिका र चीन एउटा व्यापार विवादमा अल्झेका छन् र त्यसका कारण दुवै मुलुकले अरबौँ डलर मूल्यका एकअर्काका सामानमाथि भन्सार शुल्क बढाएका छन् ।

गत डिसेम्बरमा दुवै मुलुकले नयाँ शुल्क बढाउने बारेको निर्णय ९० दिनका लागि कार्यान्वयन नगर्ने सहमति गरेका थिए । त्यसअनुसार उनीहरूले मार्च १ सम्ममा नयाँ सहमति गरिसक्नुपर्नेछ । त्यसो नभए अमेरिकाले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा १० देखि २५ प्रतिशतसम्म शुल्क बढाउने जनाएको छ ।

व्यापारसम्बन्धी राष्ट्रसंघीय निकाय युएन कन्फ्रेरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्टले व्यापार युद्ध चर्केको खण्डमा त्यसको व्यापक असर पर्ने जनाएको छ । एउटा पत्रकार सम्मेलनमा सो संस्थाकी प्रमुख पामेला कोक हेमिल्टनले भनिन्, “त्यसको व्यापक असर पर्नेछ। पूरै अन्तर्रा्ष्ट्रिय व्यापार प्रणालीमा एकदमै नकारात्मक असर पर्नेछ ।’ उनका अनुसार गरीब र साना मुलुकहरूले बाह्य असरहरू झेल्नुपर्ने हुन्छ ।

अमेरिकी र चिनियाँ व्यापार युद्धको सबैभन्दा ठूलो असर पूर्वी एशियाली आपूर्ति प्रणालीमाथि पर्नेछ । युएन कन्फ्रेरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्टको अध्ययन प्रतिवेदन अनुसार पूर्वी एशियाली उत्पादकहरूमाथि ठूलो असर पर्नेछ । जसअनुसार सो क्षेत्रमा निर्यात १६० अर्ब डलरले घट्नेछ । तर असर अन्यत्र पनि देखिनेछ । कोक हेमिल्टन भन्छिन्, “मुद्रासम्बन्धी युद्ध हुनेछन् र मुद्राको अवमूल्यन र मुद्रास्फीतिका कारण जागिर गुम्नेछन् र उच्च बेरोजगारी सिर्जना हुनेछ ।’ 

अमेरिकी र चिनियाँ व्यापार युद्धले पूर्वी एशियाको आपूर्ति सञ्जाल अन्यत्र सर्नेछ, तर अमेरिकी कम्पनीहरूले त्यो स्थान लिने अवस्था देखिँदैन । राष्ट्रसंघीय प्रतिवेदन अनुसार अमेरिकी शुल्क बढ्ने २५० अर्ब डलर बराबरका चिनियाँ सामानमध्ये अमेरिकी कम्पनीहरूले ६ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन् ।

अर्कोतिर चिनियाँ शुल्क लाग्ने ८५ अर्ब डलर बराबरको अमेरिकी सामानमध्ये चिनियाँ कम्पनीहरूले करिब ५ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन् । अध्ययन प्रतिवेदन अनुसार युरोपेली निर्यात ७० अर्ब डलरले बढ्नेछ भने जापान, क्यानाडा र मेक्सिकोको निर्यातमा २० अर्ब डलरभन्दा बढीले वृद्धि हुनेछ । फाइदा पुग्ने अन्य मुलुकहरूमा अष्ट्रेलिया, ब्राजिल, भारत, फिलिपिन्स र भियतनाम हुनेछन् ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l