सहमति कार्यान्वयनमा लैजान डा. केसीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ। वरिष्ठ चिकित्सक गोविन्द केसीले नौं बुदे सहमति तत्काल कार्यान्वयनमा लैजान सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

वरिष्ठ चिकित्सक केसीले अनसन तोडाउने क्रममा आफूसँग गरिएको नौं बुदे सहमति मन्त्रीपरिषद बैठकबाट अनुमोदन गराउने भनिएको उल्लेख गर्दै सो काम तत्काल पूरा गर्न पनि सरकारलाई स्मरण गराए। करिव दुई साता उपचारपछि मंगलबार डिस्चार्ज भएका उनले महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग गरिएको नौं बुदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न पनि ढिलाई गर्न नहुने स्पष्ट पारे। उनले आफूसँग गरिएको सहमति कार्यान्वयनमा नआए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

वरिष्ठ चिकित्सक केसीले अस्पतालबाट डिस्चार्ज भएकै दिन मंगलबार आफ्नो १५ औं अनसन तोडाउने क्रममा गरिएको सहमति अक्षरशः कार्यान्वयनमा लैजान ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। त्यसक्रममा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्य दल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर गरेका पदाधिकारीहरुलाई कार्वाही गर्ने लगायतका सहमति कार्यान्वयनमा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारलाई स्मरण गराएका छन्।

वरिष्ठ चिकित्सक केसीले सरकारले आफूसँग गरेको सहमति जस्ताको जस्तै कार्यान्वयनमा लैजाने विश्वास पनि व्यक्त गरे। वरिष्ठ चिकित्सक केसीको माग अनुसार मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधार गर्ने प्रतिवद्धतासहित गत श्रावण १० गते सरकारले ९ बुदे सहमति गरेको थियो।

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »