मोदी आउने बाटोमा लुकाइयो तीनकुने पार्क

विमिस्टेक सम्मेलनको रौनकले काठमाडौं रंगिएको छ । त्यसमा पनि देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छेउमै रहेको तीनकुने पार्क बिहेकी बेहुली झैं चिटिक्क पारिएको छ ।

तीनकुने पार्क भएर विशिष्ट पाहुनाहरूको सवारी कुँद्ने भएकोले हरेक यस्ता महत्वपूर्ण अवसरमा तीनकुने पार्कको स्वरुप केही दिनकै लागि भएपनि चमत्कारिक ढंगले फेरिन्छ ।

तर विचरा तीनकुने पार्कको अन्तरकथा वेग्लै छ । कति विशिष्ट पाहुनाहरु आए, गए तर यो पार्कले उनीहरुलाई देख्नै पाएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै बर्षमा कति पटक आए र गए, तर तीनकुने पार्कले उनको अनुहारसम्म देख्न पाएन । आजको आगमनलाई समेत जोड्दा भारतीय प्रधानमन्त्री मोदीको यो चौथो भ्रमण हो ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छेउमै भएकोले नेपाल आउने जोसुकै विशिष्ट पाहुनाका लागि यो तीनकुने पार्क फन्को मारेर जानुको विकल्प छैन ।

विमिस्टेक सम्मेलनका लागि मोदी मात्रै हैन, उनीसँगै विमिस्टेक सदस्य देशका सरकार प्रमुखहरु पनि आएका छन् ।

तर दुर्भाग्य ती पाहुनाहरुको नजर छलाउन तीनकुने पार्कमा उही पुरानै प्रपञ्च रचिएको छ । जस्ता पाताले घेरेर तीनकुनेलाई कैद गरिएको छ ।

काठमाडौं छिर्ने वित्तिकै तीनकुने पार्कलाई देख्यो भने साइत बिग्रने डर सत्ताका शासकहरुलाई छ । उनीहरु ठान्दछन् यो कुरुप पार्कले देशको र सत्ताको लाज उडाउँछ रे । त्यसैले आफ्नो लाज छोप्न हरेक शासकले तीनकुने पार्कलाई कहिले जाली कपडाको सप्कोले कहिले जस्ता पाताले छोपेर कैद गरिदिन्छन् ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »