राष्ट्रिय सभामा सरकारमाथि खनिए सत्तारुढ दलकै सांसद (भिडियो)

डिसी नेपाल
२९ फागुन २०७६ १५:५९

काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन्। त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराए। संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्नेसम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उनले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरे। सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोखे।

उनले भने, ‘जवाफ नदिने, बोले पनि हुने , नबोलेपनि हुने । ठिक बोले पनि हुने बेठिक बोले पनि हुने । मन लागे बोले नि हुने, मन नलाए नबोले नि हुने । यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ। सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ। जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ। त्यसैले उद्घाटन व्यापक रुपमा मन्त्रीले भ्याउने, हरे शिव । उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ? संसदमा के बोलियो त्यसमा ध्यान दिन पर्यो।’

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उनले आग्रह गरे। उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा भने कमै उपस्थिति जनाउने गरेको तर्फ पनि उनले ध्यानाकर्षण गराए।

उनाले भने, ‘के बोल्ने ? देखेको कुरा बोल्ने । हेर्नु भनेको र देख्नु भनेको फरक फरक विषय हो। प्राय सबैले हेर्छन् । देख्न चाही साह्रै थोरैले देख्छन् । बह्मज्ञानीहरुले देख्छन्, इमान पुर्वक हेर्नेले देख्छन्। सर्वसाधरण जनताले इमानका साथ ध्यान पुर्वक हेरे भने देख्छन्। त्यसैले ७४ साल पछिको आमनिर्वाचन पछिको सरकारले गरेको काम प्राय सबैले हेरे तर सर्वसाधरण, दुरदृष्टि राख्ने ज्ञानीहरुले मात्रै देखे। जे देखिन्छ, त्यही बोल्नु, देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो। देख्ने एकथोक बोल्ने अर्कोथोक । इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो। त्यसैले अहिले कुरा उठ्या छ। यो व्यवस्थाका विरुद्धमा कुन्नी कोको कोको आए अरे । यसप्रकारका कुरा उठ्या छ । संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुदैन । संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्न बस्नुपर्यो नि अध्यक्ष महोदय । यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क गरे।

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराए। भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रित गर्न पनि उनले आग्रह गरे। मलुकमा व्याप्त भ्रष्टाचार कोरोना भाईरस जस्तै भाईरस भएको भन्दै उनले न्यूनीकरणका लागि राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले मुलुकका अन्य समस्याहरुको न्यूनीकरण गर्दे सही बाटोमा लैजान र समाज रुपान्तरणका लागि आवश्यक अभियानहरु सञ्चालन गर्नका लागि सरकारलाई सहयोग गर्दे अघि बढ्नुपर्ने बताए।

उनले राजनीतिक क्षेत्रमा आएको परिर्वतन अनुसार सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नसकेका कारण त्यसले प्रतिगमनको आधार तयार पार्दे गएको तर्क गरे। विगत देखिनै राजनीतिक सफलतालाई नै सम्पुर्ण सफलता ठान्ने र अंहकारी व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेका कारण परिर्वतनलाई प्रतिगमनले उल्टाउने गरेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि प्रतिगमन दोहोरिने हो कि भन्ने चिन्ता थपेको बताए। राजसंस्थावादीहरु फेरि पनि जुर्रमुराउने प्रयास गरिरहेको भन्दै विगतको इतिहास दोहोरिन नदिन सबैलाई सचेत हुन आग्रह गरे।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। समयमै निर्माण सम्पन्न नगर्दा वातावरण प्रतिकुल हुनुको साथै त्यसले सर्वधारण पनि मारमा पर्ने गरेकाले समयमै विकास निर्माणको कामहरु सम्पन्न गर्ने गरि अघि बढ्नुपर्ने बताए। उनले सरकारका कर्मचारी र सेवाग्राही दुवै प्रविधिमैत्री नहुँदा सेवाग्राहीले समयमा सेवा नपाएको तर्फ पनि गम्भीर बन्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *