Chakku

काठमाडौं। माघे सङ्क्रान्ति आउन एक दिन मात्र बाँकी रहँदा टोखाका चाकु व्यवसायीलाई भने चाकु बनाउन भ्याइनभ्याइ छ। विशेष गरी यस सिजनमा चाकुको बढी खपत हुने भएकाले उनीहरुलाई चाकु बनाउने चटारो नै  हुन्छ। कला, संस्कृतिले भरिपूर्ण टोखा चाकु उत्पादन हुने स्थलको रुपमा पनि चर्चित छ।

माघे सङ्क्रान्तिमा चाकुसँगै तिलको लड्डु पनि उत्तिकै प्रयोग हुने भएकाले टोखाका व्यवसायीहरु तिलको लड्डु पनि बनाउन व्यस्त देखिन्थे। यसै व्यवसायी मध्ये एक हुन बुद्ध श्रेष्ठ।

उनी टोखाका स्थानीय वासिन्दा हुन्। टोखा नगरपालिकाको कार्यालयबाट पाँच मिनेटको दूरीमा उनको घर रहेको छ। पुर्खौदेखि त्यहाँ बसोबास गर्दै आएका व्यवसायी श्रेष्ठ आइतबार विहान १२ बजेतिर उनको चाकु उत्पादन हुने स्थल पुग्दा बनाइसकेको चाकुलाई बजारसम्म पुर्याउनको लागि प्याकिङमा व्यस्थ देखिन्थे। चाकु उत्दापदनकै लागि भनेर उनले छुट्टै घर बनाएका छन्।

त्यहाँ पुग्दा चाकु निर्माणको प्रक्रिया एकै कोठामा देख्न सकिन्थ्यो। कोही सख्खरलाई पलाग्न व्यस्थ थिए भने कोही पग्लिसकेको चाकुलाई पुन ठड्याइएको काठमा राखेर नरम बनाउन लागि परेका थिए त कोही बनिसकेको चाकुलाई प्याकिङ गर्दै थिए।

श्रेष्ठले झण्डै २० वर्षदेखि चाकु व्यवसाय गर्दै आएको बताए। पुर्खादेखि गरिँदै आएको चाकु उत्पादन कसरी गरिन्छ भनेर उनले आफ्ना दुई छोरालाई पनि सिकाउँदै आएका छन्। दुई छोराले करिब तीन वर्षदेखि चाकु बनाउने तरिका सिकिरहेको उनले बताए।

कसरी बनाइन्छ चाकु ?
चाकु बनाउन मुख्य रुपमा सख्खर र पानीको आवश्यक पर्छ। सख्खर उखुबाट बनाइन्छ। पहिले पहिले उखु टोखामै फलाएर सख्खर बनाउने गरिँदै आएपनि पछिल्लो समय जग्गाको अभावमा सख्खर नेपालको तराई भेगबाट ल्याएर प्रयोग गरिरहेको बुद्ध श्रेष्ठ बताउँछन्। उनले बताएअनुसार उनले एक पटकमा एक बोरा सख्खरबाट चाकु बनाउने गर्छन्।

एक बोरा सख्खर कुनै एउटा भाडोमा हाल्ने, जसको लागि उनले दुई माना जति पानी प्रयोग गर्ने गरेको बताए। पानी हालिसकेपछि सख्खर र पानीको उक्त मिश्रणलाई १२० देखि १२५ सम्मले तापक्रममा करिब डेढ घण्टासम्म पकाउनु पर्ने हुन्छ। यति गरिसकेपछि पकाउन पुग्यो कि पुगेन भनेर जाँच गर्नुपर्ने हुन्छ।

पाक पुग्यो भने पकाइएको सख्खर र पानीको मिश्रण कडा र पाक पुगेन भने नरम हुने हुँदा त्यही अनुसार चाकु बनाउने गरेको श्रेष्ठले जानकारी दिए। यसरी तयार पारिएको मिश्रण पछि गएर एकैठाउँमा जोडिएर हल्का कडा हुन आउछ। त्यसपछि त्यसलाई एउटा ठड्याइएको काठमा १० मिनेटसम्म चलाउनु पर्छ र पछि त्यसलाई सानो सानो टुक्रा पारेर प्लास्टिकमा प्याकिङ गरेर बजारसम्म लैजानको लागि तयार हुन्छ।

चाकुको महत्व
चाकु अरु बेला भन्दा विशेष गरी माघे सङ्क्रान्तिमा बढी प्रयोग गर्ने गरिन्छ। नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजा गरी मनाइने यो चार्ड घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ।

व्यवासायी बुद्ध श्रेष्ठका अनुसार चाकु स्वास्थ्यका लागि पनि लाभदायी छ।

चाकु खानाले शरीरमा गर्मी पैदा हुने हुँदा जाडो याममा निकै फाइदा हुने उनले बताए। उनले भने– चाकु सुत्केरी र बालबच्चाको लागि झनै उपयोगी हुन्छ। सुत्केरी महिलाहरुमा हुने दुध नआउने समस्यासँग जुध्न र चिसोबाट बालबालिकालाई जोगाउन चाकुले धेरै मद्दत पुग्ने उनको भनाइ छ।

नेपाली बजारमा कस्तो छ यसको अवस्था
बुद्ध श्रेष्ठले जनाएअनुसार बजारमा चाकुको अवस्था राम्रो रहेको छ। चाकुको माग दिनप्रतिदिन बढ्दो छ। उनले भने– तर माग अनुसार हामीले चाकु उत्पादन भने गर्न सकेका छैनौं। अहिलेको आधुनिक समयमा पनि पुरानै प्रक्रियाबाट चाकु उत्पादनमा लागि परेकाले उपभोक्ताको मागलाई पूरा गर्न नसकिरहेको उनले बताए।

पहिलो दुई सय तीन सय बोरा सख्खर प्रयोग गरेर पनि उपभोक्ताको मागलाई धान्न सकिन्थ्यो त अहिले हजार बोरा जति सख्खर प्रयोग गर्दा पनि मागलाई धान्न धाउधाउ परेको उनको भनाइ छ। नयाँ प्रविधि प्रयोग गरी तयार गरिएको चाकु भन्दा पुरानै तरिकाबाट तयार पारिएको चाकुको स्वाद मिठो हुने हुँदा पुरानै प्रक्रियाबाट यसको उत्पादन गरिरहेका छौं, जसले गर्दा समय धेरै लाग्ने गर्छ र उत्पादन पनि कम हुन्छ, उनले थपे।

आफूले उत्पादन गरेको चाकु अष्ट्रेलिया, चाइना लगायतका विभिन्न देशमा समेत निर्यात गर्ने गरेको उनी बताउँछन्। श्रेष्ठले अन्य देशको तुलनामा भन्दा प्राय चाइनामा चाकु बढी निर्यात गरिरहेको बताए। यसरी विदेश पठाउदा ल्याब टेस्टको आवश्यक पर्दछ। तर उनले यस्तो खाले ल्याब टेस्ट नेपालमै गराउन नसकिरहेको बताउँदै यसको व्यवस्था गरिदिन सरकारसँग माग गरे।

चाकु व्यवसायबाटै बेरोजगार युवालाई रोजगार
श्रेष्ठले चाकु मात्रै उत्पादन गर्दैनन्। उनले चाकुसँगै विभिन्न प्रकारको तिलको लड्डु पनि उत्पादन गर्छन्। तिलको लड्डु बनाउन छुट्टै ठाउँ रहेको उनले बताए। जसको लागि उनले हाल ३५ जना युवाहरुलाई रोजगार समेत दिइरहेका छन्।

कोही आफन्तै पर्ने भएपनि प्राय विभिन्न जिल्लाबाट आई काम गरिरहेको र उनीहरुलाई खान बस्न राम्रो सुविधाका साथै मासिक झण्डै १७–१८ हजारसम्म तलब समेत दिइरहेको उनी बताउँछन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »