Sawar

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा पछिल्ला दिन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नाम चर्चाको केन्द्रमा छ। बहालवाला मन्त्री रबिन्द्र अधिकारीको चर्चा कम हुँदै र देउवाको संलग्नताको चर्चा चुलिँदै गएको छ।

देशका दुई प्रमुख दल संलग्न यस अगाडिका र अहिलेको सरकार समेतको संलग्नता यो भ्रष्टाचार प्रकरणमा देखिन्छ। एकले अर्कोलाई पोलापोल गर्ने क्रम सुरूदेखि अहिलेसम्म चलिरहेकै छ। यही बीचमा एउटा चर्चा पनि थपिएको छ कि वाइड बडी प्रकरण पनि एनसेल प्रकरण जस्तै ढिसमिस भएर सेलाउने बाटोमा अगाडि बढ्दैछ। ठूला दल र तिनका नेताको संलग्नता ढाकछोप गर्न यो प्रकरणलाई कमजोर पारिदैछ। यस्तो दावी साना दलका नेता र स्वयं लेखा समितिका सदस्यहरूले गरेका छन्।

वाइड बडी घोटालाबारे लेखा समिति सदस्य एवं सांसद हृदयेश त्रिपाठीले एउटा गम्भीर खुलासा गरेका छन्। उनले यो भ्रष्टाचार काण्डमा ठूला दलहरूको संलग्नता रहेकोले राष्ट्रिय सहमतिकै आधारमा यो काण्ड ढिसमिस हुने बताएका छन्। ठूला दलका ठूला नेताहरू समेत यो प्रकरणमा संलग्न रहेको भन्दै ती दलहरूले आन्तरिक सहमति गरेर यो प्रकरणलाई साम्य पार्ने त्रिपाठीले दावी गरे। जसरी एनसेल काण्ड साम्य पारियो त्यसरी नै वाइड बडी घोटालामा पनि राष्ट्रिय सहमति हुने उनले आफ्नो अनुभव भन्दै सुनाएका छन्।

सरकारको नेतृत्व गरेको दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को बलियो धार मधेसवादी दलका नेता संलग्न रहेका र लहरो तान्दै जाँदा यी ठूला पार्टी नेतृत्व नै दोषी देखिने भएकोले यो प्रकरणलाई राष्ट्रिय सहमतिको ढाँचामा साम्य पारिने उनको भनाइ छ।

यो प्रकरणमा विस्तारै प्रमुख दलको टोन डाउन हुँदै जाने सम्भावना उनले साता अगाडिकै लेखा समिति बैठकमा ठोकुवा गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »