कांग्रेस किन यति कमजोर भयो ? 

२८ माघ २०७५
banner

फाइल फोटो

दुई तिहाइ बहुमतको सरकारले मनोमानी ढंगले काम गरिरहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला सरकारको कामलाई खबरदारी गर्ने, सरकार गलत दिशामा हिँड्यो भने सही बाटोमा ल्याउने जिम्मा पाएको प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने गुनासो समेत बढ्न थालेको छ।

प्रमुख प्रतिपक्षले नातावाद र कृपावादमा सरकारसँग मोलमोलाइ गरेको, आफ्नो पालामा राजनीतिक नियुक्ती पाएकालाई थमौती गर्न सरकारसँग मोलमोलाइ गरेको आरोप पनि लाग्ने गरेको छ। लोकतान्त्रिक पद्धतिमा यसलाई सुखद् मान्न सकिँदैन। 

सत्तापक्ष गलत बाटोमा हिँडेमा उसलाई खबरदारी गर्नकै लागि लोकतान्त्रिक पद्धतिमा प्रतिपक्षलाई समेत शक्तिशाली बनाइएको हो। तर, प्रतिपक्षीको रुपमा पाएको अधिकारलाई समेत दुरुपयोग गर्दै प्रतिपक्षले समेत सत्तँपक्षसँग मिलेमतोमा अनुचित बाटो समात्नु निन्दनीय हो।

यसले सत्ताको आडमा मनोमानीतिर उन्मुख सरकारलाई गलत बाटो समात्नबाट रोक्दैन बरु उसलाई गलत बाटो समात्न प्रोत्साहित गर्छ। खबरदारी गर्ने निकायलाई केही दिएर आफ्नो पनि दुनो सोझ्याउन पाइन्छ भने सत्तापक्षले केही दिन हिच्किचाउँदैन । राज्यस्रोतमा हालीमुहाली भएको सत्तापक्षले प्रतिपक्षलाई केही दिन गाह्रो पनि छैन किनकि आफ्नो जाने हैन जाने राज्यस्रोतको हो। 

नीति र कार्यक्रम बिनाको कांग्रेस नेतृत्व भएका कारण वर्तमान सरकारको मनोबल झन बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षको भूमिका झन कमजोर हुँदै गएको छ

सरकारले एकपछि अर्को गल्ती गर्ने, हेपाहा र मिचाहा प्रवृत्ति देखाउँदै मनोमानी गर्दासमेत प्रतिपक्ष कमजोर भएका कारण सरकारको मनोमानी झन बढेको छ। कांग्रेस आफैंमा संगठनात्मक रुपमा कमजोर पार्टी हो। कांग्रेस नेतृत्वबाट नीति पनि आएन र कार्यक्रम पनि आएन।

नीति र कार्यक्रम बिनाको कांग्रेस नेतृत्व भएका कारण वर्तमान सरकारको मनोबल झन बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षको भूमिका झन कमजोर हुँदै गएको छ। प्रतिपक्षको नेतृत्वले नीति बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र सैद्धान्तिक रुपमा अगाडि बढ्नुपर्ने थियो।

तर, समग्र देशको हित र पार्टीको सैद्धान्तिक बाटो त्यागेर व्यक्तिगत अनि गुटगत लाभको लागि प्रतिपक्ष सक्रिय छ। देश र पार्टीभन्दा नेतृत्वलाई व्यत्तिःगत र गुटगत चिन्ता छ। यस्तो पाराले प्रतिपक्ष कसरी वाचडग बन सक्ला?

जुझारु, शसक्त युवा नेता कांग्रेसमा नभएका होइनन्। इमान्दार, त्यागी, सिद्धान्तमा अडिग कार्यकर्ता नभएका पनि होइनन्। कांग्रेस मासवेशी पार्टी हो। अहिले पनि कांग्रेसप्रतिको आस्था र झुकावमा कमी आएको छैन। तर नेतृत्व भ्रष्ट, परिवारवादी, गुटवादी हुँदै गएको छ। आफ्नो र गुटको लाभका लागि कांग्रेस नेतृत्वले पार्टीको नीति सिद्धान्तलाई पन्छाएर अगाडि बढ्न सक्छ भन्ने सत्तापक्षलाई थाहा छ।

लेखक : जगदीश दाहाल

कांग्रेस नेतृत्वको यही कमजोरी राम्रोसँग बुझेका कारण सत्तापक्ष यही कमजोरीको बलमा कांग्रेससँग खेलिरहेको छ। प्रतिपक्षलाई सत्तापक्षले खेलाइरहेको छ, झुलाइरहेको छ। सरकारमा गएको शक्तिले कांग्रेस नेतृत्वको कमी कमजोरीलाई बुझेरै उसलाई मोलमोलाइमा फसाएको छ। व्यक्तिगत र गुटगत लाभमा मख्ख पर्ने कांग्रेस नेतृत्वलाई त्यही ललिपपमा भुलाएर सत्तापक्ष मनोमानी गरेर हिँड्न सफल भयो।

अहिले सरकारले जतिपनि गल्ती गर्छ, त्यसलाई प्रमुख प्रतिपक्षले सशक्त रुपमा विरोध गर्न नसक्नु भनेको त्यसमा प्रतिपक्षको पनि समर्थन देखिनु स्वभाविक नै हो।

आफ्नो र गुटको लाभका लागि कांग्रेस नेतृत्वले पार्टीको नीति सिद्धान्तलाई पन्छाएर अगाडि बढ्न सक्छ भन्ने सत्तापक्षलाई थाहा छ। कांग्रेस नेतृत्वको यही कमजोरी राम्रोसँग बुझेका कारण सत्तापक्ष यही कमजोरीको बलमा कांग्रेससँग खेलिरहेको छ

आज मुलुकमा जे जति अस्वाभाविक क्रियाकलापहरु, मनोमानी ढंगले एकलौटी  रुपमा सत्तापक्षले जे जे गरेको छ, त्यसमा कांग्रेसको समर्थन, सहयोग छैन भनेर भन्न सक्ने अवस्था देखिएन। ‘मौनम् सम्मति लक्षणम्’ भनेजस्तै विरोध नगरेर चुपचाप बस्नु भनेको समर्थन भन्ने बुझिन्छ। अहिले कांग्रेसले त्यही गरेको छ, सरकारको मनोमानीको समर्थन गरेको छैन तर विरोध पनि नगरेर मौन समर्थनको संकेत दिएको छ।

यसो हुँदा जनता र राष्ट्रलाई समस्यामा पार्ने मात्र होइन, लोकतन्त्र र विधिको शासनमा आँच पुग्ने काम हुन्छ। सरकारी ओहदाका उच्च व्यक्ति, राजनीतिक दलका उच्च व्यक्ति र समग्र मुलुकको संवैधानिक व्यवस्था र संवैधानिक आयोगका पदाधिकारीको साख गिराउने काम भइरहेको छ। सत्ता पक्षको मनोमानीका कारण यी समस्या आए भने प्रतिपक्षको हैसियतमा सरकारको यी कामको विरोध गर्न नसक्दा यसमा सरकार जत्तिकै दोषी प्रमुख प्रतिपक्ष पनि देखियो।

यस्तो कामले मुलुकलाई कमजोर बनायो, मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउने काम भयो। परम्परागत चाडपर्व, राष्ट्रिय पर्वमा, धार्मिक सांस्कृति रुपमा पाइने विदाहरुमा कटौती, भेनेजुयला काण्ड, सरकारलाई भारतलगायतका  मुलुकले हेर्ने दृष्टिकोण आदिलाई विश्लेषण गर्दा सरकारले राम्रो काम गरिरहेको जस्तो देखिँदैन भने प्रतिपक्षले पनि सरकारका गलत कामको विरोध गर्न नसकेर यी कामका लागि सरकारलाई समर्थन नै गरेको देखिन्छ।

३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्ड, सिण्डिकेटलगायतका विषयमा सरकारमाथि आम जनताले विश्वास गर्न सक्ने अवस्था देखिएन। सुरक्षा निकायका प्रमुखमाथि भ्रष्टाचारको चार्ज लाग्नु, न्यायपालिकालाई कमजोर पार्ने खेल हुनुले सरकारप्रतिको जनविश्वास गुमेको छ। प्रतिपक्षबाट पनि यस्ता कुराको उजागर नहुनु र यी विषय जनतासमक्ष लैजान नसक्नु प्रतिपक्षको कमजोरी हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले विश्वास गर्न सक्ने दल नेपाली कांग्रेस नै हो। तर कांग्रेस धेरै कमजोर भइसक्यो। कांग्रेसले जनताको विश्वास जितेर फेरि बहुमतको सरकार गठन गर्ने संभावना निकै क्षिण हुन थालेको छ। कांग्रेसमा त्यागको भावना र संस्कार बाँकी रहेन। मैले त्याग गर्दा कांग्रेस सशक्त र बलियो हुन्छ भन्ने कोही नेता छैन।

म बाहिर बस्दा पार्टी सशक्त हुन्छ भने बाहिर बस्छु भन्ने कोही नेता छैन। सैद्धान्तिक धरातलमा टेकेर हिँड्ने परिपाटी मरेको छ। कांग्रेसमा यस्तो हुनु दुर्भाग्य हो। हिजो बिपी, गणेशमान, किसुनजीको जस्तो त्याग गर्न सक्ने नेता देखिएन। त्यसकारण कांग्रेसले जनताको विश्वास जित्ने र एकमना सरकार गठन गर्ने संभावना क्षिण हुँदै गयो।
विकल्प

यस्तो असमन्जस्यको परिस्थितिबाट कांग्रेस बाहिर निस्किन केही रणनीति बनाउनु पर्छ। हामी बिपीको सिद्धान्तमा अडिग छौं, विपीको सिद्धान्त सही रहेछ, बिपीको विचारलाई त्याग्ने, परिमार्जन वा संशोधन गर्ने बेला भएको रहेनछ भनेर नेतृत्वले बुझ्नु पर्छ।

बिपीले नेपालको सन्दर्भमा संवैधानिक राजतन्त्र र प्रजातन्त्र एक भएर अगाडि बढ्नुपर्छ  भनेर जुन सिद्धान्त प्रतिपादन गरेका थिए, त्यसमा कांग्रेस फर्किएर पुनर्विचार गरेर त्यसलाई अंगाल्न आवश्यक छ।

बिपीले नेपालको सन्दर्भमा संवैधानिक राजतन्त्र र प्रजातन्त्र एक भएर अगाडि बढ्नुपर्छ  भनेर जुन सिद्धान्त प्रतिपादन गरेका थिए, त्यसमा कांग्रेस फर्किएर पुनर्विचार गरेर त्यसलाई अंगाल्न आवश्यक छ

कांग्रेसमा सबैभन्दा पहिला नेताहरुले त्याग गर्न आवश्यक छ। त्यो सबैभन्दा पहिला शेरबहादुर देउवाबाट सुरु गर्नुपर्छ। उहाँ पटक पटक प्रधानमन्त्री हुनु भयो। पार्टीको सभापति पनि हुनु भयो। अब उहाँले त्याग देखाउनु भयो भने उहाँ र पार्टीको हितमा हुन्छ। त्यसैगरी रामचन्द्र पौडेलले पनि त्याग गर्नुपर्छ। उहाँले मैले केही नपाएपनि त्याग गर्छु भनेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।

कम्युनिष्टहरु संगठित भएर यही चरित्र प्रस्तुत गर्ने र यसैगरी आर्थिक गतिविधिमा आँच पुर्याउने र अन्तर्राष्ट्रिय सम्बन्धम आँच पुर्याउने गर्ने, अनि कांग्रेसले विचार र सिद्धान्त मिल्ने दलहरुसँग र विपीले प्रतिपादन गरेको सिद्धान्त अनुसार संवैधानिक राजतन्त्र र संसदीय पद्धति तथा समाजवादी सिद्धान्तको आधारमा मुलुकको अर्थतन्त्र अगाडि बढाउँछौं अनि धर्म सापेक्ष हिन्दु राष्ट्रलाई मुलुकलाई संसारमा चिनाउने संकेतका रुपमा राख्छौं भनेर अगाडि बढ्नुपर्छ। त्यसकालागि विचार सिद्धान्त मिल्ने सबै राजनीतिक दललाई एकताकालागि आह्वान गर्नुपर्छ। अहिले देशको माग पनि यही हो। 
 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |