किन कमजोर बन्यो विप्लव समूह?

डिसी नेपाल
१७ साउन २०७६ ११:१५

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएपछि यतिबेला विप्लव समूह गम्भीर मोडमा पुगेको छ। एकपछि अर्को गर्दै धमाधम नेता कार्यकर्ता पक्राउ परेपछि विप्लव समूहको संगठन धरासायी बनेको छ।

नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ। प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरू समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आबद्ध भएकाहरू समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको छ।

सुरक्षा संयन्त्रले पनि विप्लव समूह सांगठनिक रुपमा कमजोर हुन पुगेको विश्लेषण गर्न थालेका छन्। नेपाली प्रहरीका अनुसार हालसम्म विप्लव समूहका ६ सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने पार्टी परित्याग गर्ने क्रम रोकिएको छैन।

विप्लव समूह कमजोर भएको निष्कर्ष निकालेको सरकारले प्राथमिकतामा पछिल्लो समय वार्ता भन्दा पनि पेलेरै जाने रणनीति लिएको बताइन्छ।

पक्राउ पर्नेहरूमा स्थायी समिति सदस्य १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ८, जिल्ला इन्चार्ज ४३ जनासहित १ सय ३६ जना छन्। यसबीचमा आफैंले बोकेको बम पड्केर विप्लव समूहका ६ जना कार्यकर्ता मारिएका छन्। प्रहरी कारवाहीमा ३ जनाको मृत्यु भएको छ भने १ प्रहरी र १ सर्वसाधारणले पनि यसबीचमा ज्यान गुमाएका छन्।

आफ्ना नेता कार्यकता धमाधम पक्राउ पर्न थालेपछि र प्रहरीले देशभर विप्लव समूहका गतिविधिलाई निगरानीमा राखेपछि विप्लव समूहले पार्टीका पोलिटब्युरो र स्थायी समिति भंग गरेर सचिवालय बनाएको छ। पछिल्लो समय आफ्ना समूहका सूचना चुहिन थालेको निष्कर्षसहित नेकपाले आफ्ना विभिन्न जिम्मेवारीमा रहेका नेताको जिम्मेवारी हेरफेर गरेको बताइएको छ।

यसैगरी १७ जना केन्द्रीय सदस्यलाई उनीहरूको जिम्मेवारीबाट हटाइएको छ। १८ जनालाई जिम्मेवारीबाट हटाइएपछि ५१ जनाको विप्लव समूहको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ।

यसअघि स्थायी समितिमा रहेका विप्लव, खड्गबहादुर विक, हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढा मगर सचिवालयमा छन्। यस्तै, वीरजंग र अनिल शर्मा विरहीसहितका पोलिटब्युरो सदस्यलाई समेत समेटेर सचिवालय गठन गरिएको बताइएको छ।

हाल स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्कीसहित माथिल्लो स्तरका नेता कार्यकर्ता सरकारी प्रतिबन्धपछि प्रहरी नियन्त्रणमा छन् ।

पार्टीभित्र शुद्धीकरण गर्न विप्लव समूहले पोलिटब्यूरो र स्थायी समिति भंग गरेको बताइएको छ।  जिम्मेवारीबाट हटाइएका कतिपय नेतामाथि पार्टी विरुद्ध सुराकी गरेको आरोप समेत लगाइएको छ।

केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त हुनेहरूमा आजाद केसी, भेषराज भुसाल, सन्ध्या, सम्झना घर्ती, बाबुराम विक, प्रतीक, मकर, उत्तम, असिनालगायत रहेको सो समूहका एक नेताले जानकारी दिएका हुन्।

पछिल्लो समय विप्लव समूहले सरकारसँग वार्ता गर्न जोड दिइरहेको छ। सरकारले पनि सरकारी वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डेमार्फत वार्ताको पहल गरिरहेको जनाएको छ। तर विप्लव समूह कमजोर भएको निष्कर्ष निकालेको सरकारले प्राथमिकतामा पछिल्लो समय वार्ता भन्दा पनि पेलेरै जाने रणनीति लिएको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *