रवि लामिछानेको विषयमा संसद बैठकमा चर्काचर्की (भिडियो)

डिसी नेपाल
३ भदौ २०७६ १७:५९

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको अनुसन्धानका लागि पत्रकार रवि लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जालदेखि सडकसम्म तातेको छ । रवि पक्राउ परेपछि रविका समर्थकहरुले चितवनमा लगातार आन्दोलन गरिरहेका छन् । यो विषय मंगलबारको प्रतिनिधिसभा बैठकमासमेत उठेको छ ।

मंगलबार संसदमा बोल्दै सांसदहरुले रविको समर्थनमा भइरहेको आन्दोलनले अनुसन्धानलाई प्रभावित पार्ने बताएका छन् । संसदमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान भइरहेका बेला अनुसन्धान प्रभावित पार्न खोजिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘न त रवि लामिछाने दोषी हुन् भन्ने प्रमाणित भइसकेको छ, न निर्दोष हुन् भन्ने प्रमाणित नै भएको छ । को हो दोषी र को हो निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिदैन ।’

त्यस्तै उनले यस्तो बेलामा सबै राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरेकी छिन् । त्यस्तै सांसद नारायणप्रसाद खतिवडाले रविका समर्थकले सडकबाट फैसला सुनाइरहेको प्रति आपत्ति जनाएका छन् । उनले भने, ‘उनका समर्थकहरु सडकबाट फैसला सुनाउँदैछन् । हुल हुज्जत गर्दै अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेका छन् ।’ त्यस्तै उनले निष्पक्ष अनुसन्धान गर्न र अपराधी जो सुकै भए पनि कारवाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *