नेकपा ‘निरंकुशता’ तर्फ अगाडि बढेको हो?

डिसी नेपाल
१० भदौ २०७६ ८:२४

काठमाडौं। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको १५ महिना पूरा भएको छ। कम्युनिष्ट पार्टी भएपनि फरक पृष्ठभूमिकबाट आएका दल भएका कारण कतिपय सैद्धान्तिक र वैचारिक विषयमा नेताहरुबीच खुला रुपमा आरोप प्रत्यारोप हुने गरेका थिए। विशेष गरी पूर्व एमाले र माओवादीका नेताबीच समाजिक संजालमा नै पनि आरेप प्रत्यारोप हुने गरेका थिए।

तर पछिल्लो समय प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच सचिवालय बैठकमा नै आरोप प्रत्यारोप र भनाभन भएपछि त्यसले राष्ट्रिय चर्चा पायो।

गत बिहीबार उपचारका लागि सिंगापुर जानुपूर्व प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका थिए। बैठकमा कुनै एजेण्डा नभएको र आफ्नो स्वास्थ्य लाभको कामना गर्न आग्रह गर्दै ओलीले आफ्नो अनुस्थितिमा बैठक बोलाउने र निर्णय गर्ने जिम्मा अर्का अध्यक्ष प्रचण्डलाई दिएको र निर्णय गर्दा आफ्नो सहमति लिन आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले आफ्नो सहमति विना धेरै निर्णय भएको र अब चाँहि तपाइँको निर्णय किन लिने भनेपछि दुवै नेताबीच आरोप प्रत्यारोप सुरु भएको थियो। दुई नेताबीचको भनाभनको स्थितिले बैठकलाई नै प्रभावित बनाएका थियो।

ओलीले प्रचण्डलाई बैठक बस्ने र निर्णय गर्ने अधिकार दिएपछि प्रचण्डको अध्यक्षतामा सोमबार पहिलो पटक सचिवालय बैठक बसेको थियो। उक्त बैठकले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो।

बैठकले सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टीले विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ। पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न बैठकले निर्देशन दिएको छ।

पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएकोे हो।

बैठकले पार्टी नेताका बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिकरूपमा टिप्पणी गरे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय गरेको छ।
नेता कार्यकर्ताले पार्टीको केन्द्रदेखि तलसम्म कुनै कुरा व्यक्तिगतरूपमा उठाउनुपरेमा त्यसलाई पार्टी भित्र उठाउनुपर्ने निर्णय भएको बताउँदै पार्टीभित्र राख्नुपर्ने विषय सार्वजनिकरूपमा लगिए स्पष्टीकरण सोध्दै कारबाही गरिने भएको हो।

केही समय अगाडि नेकपा केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक संजाल फेसबुकमा अध्यक्ष प्रचण्डप्रति लक्षित गर्नै स्टाटस लेखे। त्यसको जपाफमा युवा संघका प्रमुख दीपशिखाले पनि थापालाई लक्षित गर्दै अर्को स्टाटस लेखे।

यसरी समाजिक संजालमा आफ्ना नेता कार्यकर्तामाथि नै आरोप प्रत्यारोप गर्दा कार्यकर्तामा गलत सन्देश जाने भन्दै प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेताहरुको विषयमा व्यक्तिगत टिका टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *