भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठकमा हाई हेल्लो मात्र

डिसी नेपाल
१२ भदौ २०७६ १६:२९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर मन्त्रिपरिषद् बैठक नबसेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको बताएका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, “त्यो कानूनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो , हामी टेक्नोलोजीमा गर्न सक्छौँ भन्ने प्रमाणित भयो भनेका छौ । ”

प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले हेल्लो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेट पनि बस्न सक्ने बताए। विदेशमा जहाजबाट नै मन्त्रीपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनीयता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे।

उनले भने, “बाँदरको मुटुको अपरेसन किन गरियो ? पहिलेही मान्छेकोमा गरिएन । किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो । त्यो सफल भएपछि मान्छेकोमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो । क्याबिनेट होइन । हामी मन्त्रिपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।”

मन्त्रीपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसंग भिडियो कन्फरेन्सबाट मन्त्रीपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दे आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताएका हुन्।f




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *