कांग्रेस गुटको शिकार, भातृ संगठनको विवाद सतहमा

डिसी नेपाल
३० भदौ २०७६ ७:२३

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यतिबेला देशव्यापी रुपमा दोस्रो चरणको जागरण अभियानमा छ। पार्टीलाई कार्यकर्ता एवं जनतासँग प्रत्यक्ष रुपमा जोड्ने र सरकारका गलत कामको खबरदारी गर्ने उद्देश्यका साथ जागरण अभियानमा होमिएको कांग्रेस आन्तरिक रुपमा भने विभिन्न गुट उपगुटमा विभाजित बनेको छ।

आन्तरिक रुपमा पार्टी एकजुट हुन नसक्दा कार्यकर्तामा जागरण ल्याउने कार्यक्रम पनि त्यति प्रभावकारी हुन सकेका छैनन्। कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने विषयमा पनि विवाद कायमै छ। वर्तमान केन्द्रीय कार्यसमितिको अवधि आगामी फागुनमा सकिँदैछ। तर वर्तमान सभापति थप एक वर्ष आफ्नो कार्यकाल थप्ने तयारीमा छन्।

कांग्रेस विधानमा विशेष परिस्थितिमा निर्वाचित कार्यसमितिको म्याद ६/६ महिना गरी एक वर्ष थप्न सकिने प्रावधान छ। त्यही प्रावधानलाई टेकेर वर्तमान नेतृत्वले आफ्नो पदावधि एक वर्ष थप्ने रणनीति बनाएको छ। तर संस्थापनइतर पक्ष भने फागुनमै महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

पार्टी भित्रको यो र यस्तै विवादका कारण कांग्रेसले सुरु गरेको जागरण अभियान प्रभावकारी नभएको कार्यकर्ताले गुनासो गरेका छन्।  माउ पार्टीभित्र गुट उपगुट मौलाएको बेला कांग्रेसका भाृत संगठनभित्रको विवादमा पनि सतहमा देखिएको छ।

पार्टी भित्रको यो र यस्तै विवादका कारण कांग्रेसले सुरु गरेको जागरण अभियान प्रभावकारी नभएको कार्यकर्ताले गुनासो गरेका छन्।  माउ पार्टीभित्र गुट उपगुट मौलाएको बेला कांग्रेसका भाृत संगठनभित्रको विवादमा पनि सतहमा देखिएको छ।

शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो।

अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको थियो।

लगत्तै महासचिव शाहीले पनि अर्काे विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गरेका थिए।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो।

महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो। पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन।

यसैगरी नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा छ। सङ्घको ११औँ महाधिवेशनबाट निर्वा्िचत अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महीनादेखि केन्द्रीय समिति रिक्त छ। सङ्घको ११औँ महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो। अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिएका थिए।

काङ्ग्रेसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ ।

काङ्ग्रेसमा हाल नेपाल महिला सङ्घ, नेपाल तरूण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, मुस्लिम सङ्घ नेपाल, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन्।

त्यसमध्ये नेवि सङ्घ, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको पार्टी कार्यालयले जनाएको छ।

यसैगरी काङ्ग्रेसका नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल सांस्कृतिक सङ्घ, नेपाल गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएशन नेपाल गरी १८ शुभेच्छुक संस्था छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *