सरकारले आँखा खाेलेर हेर्नु पर्ने गरी काम गरेकै हाे ?

डिसी नेपाल
१ कार्तिक २०७६ ७:३१

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार उनकै दलले आयोजना गरेको चियापान कार्यक्रममा मुलुकमा ‘केही नभए’ भन्नेलाई आँखा खोलेर हेर्न आग्रह गरे। उनले सम्भ्रान्त परिवारले केही नभएको जस्तो देखेपनि सरकारले गरेको कामका विषयमा बुढाबुढीलाई गएर सोध्न आग्रह गरे।

‘आफ्नो स्वार्थ भएकाहरुले आँखा चिम्लेर केही पनि भएन भन्ने गरेको छन्। उनीहरुलाई आँखा खोलेर जनताका लागि भएका काम हेर्नुपर्छ।’
प्रधानमन्त्रीले सरकारले जनताका लागि धेरै काम गरेको दाबी गरे।

प्रधानमन्त्रीले बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत रहेको फेहरिस्त नै सुनाए।

प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा काम गरेको दाबी गरेको भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा आफूहरुकै कारणले कतै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने त होइन भन्दै प्रश्न गरे।

प्रचण्डले जनताले कम्युनिष्ट पार्टीलाई माया गरेर झण्डै दुई तिहाइ बहुमत दिएको तर सरकार गठन भएको डेढ वर्षसम्म पनि जनताले अनुभूति हुने गरी काम नभएको भन्दै यस्तै अवस्था रहे आफूहरुकै कारणले गणतन्त्र खतरामा पर्न सक्ने उल्लेख गरे। उनले वर्तमान व्यवस्थालाई अरु कसैले हल्लाउन नसक्ने भन्दै कम्युनिष्ट पार्टी नसुध्रिए वर्तमान व्यवस्था खतरामा पर्ने बताए।

दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सवत्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली सरकारको वचाउमा देखिएका छन्। तर पार्टीभित्रै सरकारको काम गर्ने शैलीको विरोध हुन थालेको छ। सरकारले गरेको कतिपय राम्रा कामको समेत कार्यकर्ताले खुलेर प्रचार गर्न नसकेको स्वयं प्रधानमन्त्रीले नै गुनासो गर्दै आएका छन्।

प्रचण्डले भने पछिल्लो समय कम्युनिष्ट पार्टीका नेतामा अराकता, व्यक्तिवादी चरित्र मौलाएको भन्दै पार्टीमा अनुशासन कमजोर हुँदा आफ्नै कारणले कम्युनिष्ट पार्टी नै सिद्धिएका उदाहारणसमेत दिने गरेका छन्।

सरकारले दीर्घकालीन महत्वका काम गरेपनि जनताको दैनिक जीवनसँग जोडिएका कामलाई ध्यान नदिँदा सरकारले गरेका राम्रो कामको जससमेत लिन नसकेको राजनीतिक विश्लेषकहरुको भनाइ छ। विशेष गरी सडक, खानेपानी, महंगी नियन्त्रण, सुशासन, सुरक्षाको प्रत्याभूतिलगायका विषयमा सरकारले ध्यान दिन नसक्दा जनस्तरबाट आलोचनाको शिकार हुनु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *