उप निर्वाचनः तयारीमा जुटे दलहरु

डिसी नेपाल
१ कार्तिक २०७६ १६:५५

काठमाडौं। दशैं सकिएसँगै दलहरु उप निर्वाचनको तयारीमा होमिएका छन्। आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि प्रमुख दलहरु चुनावी तयारीमा जुटेका हुन्। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यही कात्तिक १० गते भित्र सम्भावित उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरुलाई परिपत्र गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि उम्मेदवारबारे निर्णय गर्न भन्दै केन्द्रीय कार्यासमिति बैठक बोलाएको छ।

२०७४ मा भएको स्थानीय निर्वाचनबाट पूर्ति भएका पदहरु जनप्रतिनिधिहरुको मृत्यु र अन्य कारणले रिक्त भएका स्थानहरुका लागि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि एक स्थानमा र प्रदेशसभाका लागि ३ स्थानमा उपनिर्वाचन हुने छ। कास्की निर्वाचन क्षेत्र २ का तत्कालीन सदस्य रवीन्द्र अधिकारीको मृत्युपछि रिक्त भएको क्षेत्रमा उपनिर्वाचन हुने एकमात्र प्रतिनिधिसभा सिट हो।

यस्तै गण्डगी प्रदेशसभा सदस्यका लागि बागलुङ निर्वाचन क्षेत्र २ को ख मा, प्रदेश नम्बर ३ को भक्तपुर १ को क तथा प्रदेशसभा नम्बर ५ को दाङ क्षेत्र ३ को क का लागि गरेर प्रदेशसभाका तीन सिटका लागि मतदान हुनेछ। यी सबै सिटमा हालको नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको निधन भएका कारण पदहरु रिक्त भएका हुन्।

यस्तै एक उपमहानगरपालिका मेयर र दुई गाउँपालिका अध्यक्ष तथा ४४ जना वडा अध्यक्षका लागि पनि मंसिर १४ गते मतदान हुने छ। निर्वाचन आयोगले चुनाव मिति तोकिसकेपछि पनि केही वडा अध्यक्षको पद रिक्त भएकाले चुनाव हुने वडा अध्यक्षहरुको संख्या बढ्ने छ। निर्वाचन आयोगले चुनाव हुने वडा अध्यक्षको संख्या सार्वजनिक गरिसकेपछि पनि सरकारले थप २ वडा अध्यक्षका लागि चुनाव गराउन सिफारिस गरिसकेको छ।

सुनसरीको धरान उपमहानगर पालिकाको मेयरका लागि चुनव हुँदैछ। यहाँ तत्कालीन एमालेका उम्मेदवार मेयरमा विजयी भएका थिए। तर, उनको निधन भएपछि रिक्त भएको स्थानमा उप निर्वाचन हुन लागेको हो।

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि मतदान हुनेछ। यहाँ नेपाली काँग्रेसबाट विजयी अध्यक्षको निधन भएपछि रिक्त भएको स्थानका लागि मतदान हुने भएको हो।

यस्तै संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि पनि मतदान हुनेछ। यहाँका अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका थिए। उनको निधनपछि यहाँ चुनाव हुन लागेको हो।

उपनिर्वाचनमा सहभागी हुन विभिन्न २१ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। आयोगले उनीहरुलाई चुनाव चिन्ह पनि दिइसकेको छ।

चुनावी प्रतिस्पर्धामा २१ दल जाने भए पनि मुख्य प्रतिस्पर्धा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच नै हुने देखिएको छ। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि यो दल पहिलो पटक चुनावमा जान लागेको हो। रिक्त भएका धेरैजसो स्थानमा यही दल सम्बद्ध उम्मेदवारहरु विजयी भएकाले पनि नेकपा बलियो प्रतिस्पर्धी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *