जलवायु परिवर्तनका कारण पर्वतारोहणको जोखिम बढ्दो

डिसी नेपाल
१६ कार्तिक २०७६ ८:०५

नवीन सिं खड्का

बीबीसी । विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका प्रभावका कारण पर्वतारोहणसम्बन्धी जोखिम बढिरहेको पर्वतारोहणविज्ञ तथा वैज्ञानिकहरूले चेतावनी दिएका छन्।युरोपको आल्प्समा तापक्रम बढेकाले बरफ तथा हिउँको पत्र पातलिएको र त्यसले गर्दा चट्टान खस्ने तथा पहिरो जाने घटना धेरै हुन थालेको उनीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घको यसै साता आयोजित बैठकमा उनीहरूले त्यस्ता चिन्ता व्यक्त गरेका हुन्। हिमनदी पग्लने क्रमका कारण पनि पर्वतारोहीहरूको चुनौती बढेको छ।

बढेको जोखिमका कारण पर्वतारोहणका प्रचलित मार्ग या त छाड्नुपरेको या नयाँ बनाउनु परेको छ। केही स्थानमा पर्वतारोहणको याम नै अलि अगाडि सार्नु परेको छ। फ्रान्स र इटलीको सीमामा रहेको मोँ ब्लाँ पर्वतमा आरोहण गर्नेहरूको योजनाको अध्ययन गर्दा तिनमा निकै फेरबदल आइरहेको देखिन्छ।

सन् १९७० यता यो क्षेत्रका सबै पर्वतारोहण समयतालिका प्रभावित भएका छन् र केही मार्ग त अब बाँकी नै छैनन्।

आर्क्टिक, अन्टार्टिक एन्ड अल्पाइन रिसर्च नामक जर्नलमा ग्रनोबल आल्प्स विश्वविद्यालयका ज्याक मोरे लेख्छन्, ‘गर्मी याममा यो क्षेत्रमा राम्रोसँग पर्वतारोहण गर्न सकिने समयावधि अनुमान गर्न गाह्रो हुन थालेको छ। पर्वतारोहण गर्न राम्रो मौसम बिस्तारै वसन्त या शरद् यामतर्फ ढल्कन थालेको छ।’

सन् २०१७ मा एक फ्रान्सेली टोलीले मोँ ब्लाँ पर्वत क्षेत्रमा रहेका विभिन्न हिमशिखरमा गरेको अध्ययनले त्यहाँ सन् १८५० देखि सन् २०१५ को बीचमा बाह्रै महिना हिउँ जमिरहने पर्माफ्रस्ट भन्ने भूभागको क्षेत्रफलमा निकै क्षय भएको देखायो।

यसले गर्दा पर्वतका भिरालो पाखा झन् अस्थिर भए र चट्टानहरू खस्ने क्रम बढ्यो। अस्ट्रियाको आल्प्स क्षेत्रमा गरिएको अध्ययनका निष्कर्ष पनि उस्तै छ।

‘कैयौँ मार्गहरू अत्यन्त खतरनाक बनेका छन्,’ भियनास्थित नेचरल रिजोर्सेस एन्ड लाइफ साइन्स विश्वविद्यालयका फ्लोरियन रिट्टर तथा सहयोगीहरूले हालै बायोवन कम्प्लिट नामक जर्नलमा लेखे। ‘पूर्वी आल्प्स क्षेत्रका कैयौँ पुराना पर्वतारोहण मार्ग अचेल धेरै चट्टान खस्ने घटनाबाट प्रभावित छन्। साथै गर्मी याममा त्यहाँ हिउँ पग्लिएर चट्टान देखापर्ने गरेको छ।’

अस्ट्रियाली अध्ययनले अन्य कारण पनि देखाएको छ। ‘विश्वव्यापी तापमान वृद्धिका बताइएका प्रक्रियाहरूले यस्ता सम्भावना बढाइदिएको भए पनि त्योसँग कम सम्बन्धित अत्यधिक वर्षाजस्ता अन्य प्रक्रियाले पनि यी समस्या बढेका छन्,’ अध्ययनले भनेको छ।

स्वीट्जरल्यान्डको बर्नीज आल्प्स क्षेत्रमा पर्वतारोहण गर्नेहरूका सहजताका लागि बनाइएको पुस्तिकाको विश्लेषण गर्दा पनि यी चुनौती प्रस्ट हुन्छन्। ‘यी पुस्तकहरूमा विभिन्न पुस्ताका पर्वतारोहीहरूले सम्पूर्ण पर्वत शृङ्खलामा निहित जोखिमको वर्णन गरेका छन्,’ एकजना लेखक एवम् भूगोलविद् अर्नाड ट्रेमीले बताए।

‘अध्ययनमा विश्लेषण गरिएकामध्ये सबभन्दा पुरानो पुस्तक १४६ वर्ष पुरानो थियो। त्यसले लामो समयदेखिको परिवर्तन र जलवायु परिवर्तनसँग त्यसको सम्बन्ध रेकर्ड गर्न सघायो।’

गत १० वर्षदेखि आल्प्सको माउन्ट मेटरहर्नमा राखिएका वायरलेस सेन्सरका सञ्जालले त्यहाँका चट्टानको प्रकृति, पर्माफ्रस्ट एवं विद्यमान मौसमबारे सूचनाहरू प्रवाह गरिरहेका छन्।

‘हामीले हालै प्राप्त गरेको सूचनामा परिवर्तनको वेग निकै तीव्र भएको देखिन्छ’ सो पर्यवेक्षण आयोजनामा काम गरिरहेका जुरिचस्थित अनुसन्धानकर्ता ज्यान बुटेलले बताए। ‘फलस्वरूप केही ठाउँमा त अचेल भ्रमण गर्न सकिन्न।’

न्यूजील्यान्डको आवराकी माउन्ट कुकमा गरिएको अध्ययनले पनि पर्वतारोहीहरूले सामना गर्ने कठिनाइ देखाएको छ। यहाँ पर्वतारोहीहरूले तास्मान हिमनदी भएर जानुपर्छ। तर त्यो हिमनदी पग्लिरहेको हुनाले यो काम झन् कठिन हुँदैछ।

‘थोरै उचाइमा भन्दा धेरै उचाइमा झन् धेरै प्रभाव देखिन्छ,’ अध्ययन कार्यमा सहभागी हेदर पर्दीले बीबीसीलाई बताइन्। पर्वतारोहीहरूका पथप्रदर्शकहरू भन्छन्– अचेल पर्वत चढ्ने मार्गहरू निकै चुनौतीपूर्ण बन्दै गएकाले उनीहरूले त्यसैअनुसार आफ्ना काममा फेरबदल गरिरहनुपरेको छ।

‘चट्टान खस्ने घटना सबभन्दा ठूलो चुनौती बनेको छ,’ पर्वतारोहण पथप्रदर्शकहरूको अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष क्रिस्टियन ट्रम्सडोर्फले बताए। ‘खर्पासहरू पार गर्न झन्‌झन् कठिन हुँदै गएको छ। बरफका ढिक्का खस्ने अनि चट्टान खस्ने निरन्तर भएको हुँदा कतिपय प्रचलित मार्ग खतरापूर्ण र अनुमान गर्न गाह्रो हुँदै गएका छन्,’ अमेरिकन पर्वतारोहण पथप्रदर्शकहरूको सङ्घकी अध्यक्ष एन्जेला हाउसेले बताइन्।

हिमालय क्षेत्रमा यस्ता अध्ययन कमै भएका छन्। तर त्यहाँ पनि पथप्रदर्शकहरूले पर्वतारोहण धेरै जोखिमपूर्ण बन्दै गएको भन्छन्। हिउँमा हिँड्दा लगाइने क्र्याम्पनको प्रयोग पातलो बरफ भएको ठाउँ वा हिउँ पग्लिएर चट्टानमात्र भएको ठाउँमा निकै खतरनाक हुन थालेको उनीहरू बताउँछन्।

‘त्यो त महिलाहरूले मार्बलको सतहमा उँचो हिल भएको जुत्ता लगाएर हिँड्दा जस्तै हुन थालेको छ,’ नेपालको पर्वतारोहण पथप्रदर्शकहरूको सङ्घका उपाध्यक्ष छिरिङ पान्दे भोटेले बताए।

‘बाक्लो बरफ वा हिउँ भएको ठाउँमा क्र्याम्पनले हिउँलाई ट्याप्प समाउँछ, तर अहिले त्यस्ता ठाउँ एकदमै कम छन्।’ नेपालका पर्वतारोहण सहयोगी पथप्रदर्शकहरूले खर्पासको चौडाइ बढिरहेको र त्यसले जोखिम बढाएको बताउँछन्।

‘हामीले खर्पास चौडा हुँदै गएको देखेका छौँ। यस्तो लाग्छ कि छिटो हिउँ पग्लिएका कारण यसो भएको हो’ भोटेले भने। हिमालय क्षेत्र, खासगरी सगरमाथा क्षेत्रमा गरिएका अध्ययनहरूले हिमनदी चाँडै सङ्कुचित हुन थालेको देखाउँछ।

सगरमाथा चढ्दा आरोहीहरूले पार गर्नैपर्ने खुम्बु हिमनदीमा अचेल थुप्रै पोखरीजस्ता बनेका छन् जुन जोडिँदै गएका छन्। छिटो हिउँ पग्लिएर त्यसो भएको बताइन्छ।पर्वतारोहणसम्बन्धी अन्तर्राष्ट्रिय महासङ्घले साइप्रसमा हुने वार्षिक बैठकमा बदलिँदो अवस्थामा कसरी काम गर्ने भन्ने बारे छलफल गर्नेछन्।

अब पथप्रदर्शकहरूलाई प्रशिक्षण दिँदा विभिन्न मार्गको परिवर्तित प्रकृतिबारे बताइनुपर्ने पक्षमा ट्रोम्सडोर्फले सहमति जनाए। ‘यसबारे हामीले केही गर्न थालेका छौँ। तर हामीले थप अनुसन्धान तथा सहयोग गर्नु आवश्यक छ,’ उनले भने। ‘तर हामी यस्ता परिवर्तनसँग निकै चाँडै अनुकूलन हुन पनि सक्छौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *