‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’

डिसी नेपाल
१९ मंसिर २०७६ २१:३३

म्याड्रिड । विश्वभरका अभिभावकले आफ्ना सन्ततिको भविष्यका लागि जलवायु परिवर्तनको समस्याबारे गम्भीर भएर सोच्न बिहीबार आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनमा भाग लिन स्पेनको राजधानी म्याड्रिडमा पुगेका सरकारका प्रतिनिधिहरूलाई जलवायु परिवर्तन समस्या नियन्त्रणका मुद्दामा काम गर्ने विभिन्न २७ देशका २२२ संस्थामार्फत् अभिभावकले उक्त ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण घोषणा पत्रमा भनिएको छ, “हाम्रा बालबालिकालाई उनीहरूका लागि योग्य भविष्य प्रदान गर ।” “हाम्रा सन्ततिलाई जलवायु परिवर्तनको र पर्यावरणीय सङ्कटको अवस्थालाई सुम्पिइँदै छ । जुन पीडादायी रहेको छ ।”

जलवायु समस्या मुद्दालाई लिएर किशोर तथा युवाको नेतृत्व गर्दै अधिकारकर्मी ग्रेटा थुनवर्गले शुक्रबार स्पेनी राजधानीमा सन्ततिका लागि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, “सम्मेलन भइरहेको शहरमा हुने प्रदर्शन सम्मेलनमा सहभागी हुने विश्व नेताहरूलाई जलवायु परिवर्तनको मुद्दामा ध्यानाकर्षण गर्नका लागि हो ।”

गत बर्ष थुनवर्गद्वारा स्वीडेनी संसदका अगाडि गरेको एकल प्रदर्शनपछि विद्यार्थीको नेतृत्वमा जलवायु परिवर्तन समस्यामा गम्भीर बन्न गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनको पूर्वसन्ध्यामा गरिएको विश्वव्यापी आन्दोलन बनेको थियो ।

“पच्चिसौँ जलवायु परिवर्तन सम्मेलन (कोप२५) मा सहभागी हुने विश्वका सरकार प्रतिनिधिहरू अभिभावक पनि भएकाले हामीले विशेषतः उहाँहरूसँग जलवायु परिवर्तन समस्याको मुद्दालाई गम्भीरताका साथ लिन अनुरोध गर्छौँ ।”

“जलवायु परिवर्तनले निम्त्याएका सङ्कट हाम्रा बालबालिकाद्वारा सिर्जित समस्या नभएकाले यसमा उनीहरूको जिम्मेवारी रहँदैन । यो त हामी बयस्क तथा अभिभावकको कर्तब्य हो ।”

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गत सोमबारदेखि म्याड्रिडमा सुरू भएको छ । सम्मेलनले जलवायु परिवर्तनबारे पेरिस जलवायु सम्झौताले निर्धाराण गरेका कानूनलाई कार्यान्वयनमा लाने सम्बन्धमा नै केन्द्रित हुनेछ ।

सार्वजनिक वृत्तबाट समस्याबारे बढ्दो चासोबीच पनि कार्बन उत्सर्जनका हिसाबले विश्वका प्रमुख राष्ट्रहरूले थोरैमात्र ध्यान दिएका छन् वा कतिपयले यस समस्या सुधारका लागि कुनै चासो दिएको पाइदैन ।

समग्रमा विश्वले कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको समस्यालाई कम गर्न आवश्यकता अनुसार सोचेको नदेखिएको वैज्ञानिकहरूको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *