अवैध म्यानपावर कम्पनी एक्टिभको ठगी धन्दा, युवासँग पैसा उठाउँदै बेपत्ता हुँदै

डिसी नेपाल
४ चैत २०७७ २०:१२

काठमाडौं। वैदेशिक रोजगार विभागले धुम्बराहीस्थित एक्टिभ इम्प्लोइ सर्भिस प्रालिमा छापा मारेको छ। पीडितहरुको उजुरीका आधारमा हरि कृष्ण बुढाथोकी, हेमराज पाण्डे, कपिलनाथ पौडल, नरेश रोकाय, सुवर्ण शाक्यलगायतको विभागको अनुगमन टोलीले बुधबार छापा मारेको हो।

विभागले छापा मार्ने क्रममा त्यहाँ पीडितहरुको बाक्लो उपस्थिति थियो। विदेशमा र नेपालमा गरी युवाहरु ठगेको उक्त कम्पनीले ठग्ने क्रम जारी राखेको समेत भेटिएको छ। विभागको टोली त्यहाँ पुगेको समयमा अरु युवा पनि विदेश उड्न ‘कहिले आँउ’ भनेर फोन गरिराखेका थिए। सो समयमा कम्पनीका संचालक भने फरार थिए। विभागको टोलीले फोन गरी बोलाउँदा समेत संचालक त्यहाँ उपस्थित भएनन्।

एक्टिभ इम्प्लोई नेपाल सरकारको वैदेशिक रोजगार विभागबाट लाइसेन्सप्राप्त कम्पनी नभएको देखिएको छ। तर पनि उक्त कम्पनीले पाँच लाखको कागजातसहितको सम्झौतापत्र बनाई वैदेशिक रोजगारीको लागि भन्दै धेरै युवाहरुलाई ठगेको भेटिएको छ। लेटरहेडलगायतका अन्य कागजात हेर्दा उक्त

कम्पनीको ठेगाना अनामनगर, तिनकुनेमा देखिए पनि कार्यालय भने धुम्बराहीमा रहेको छ।

विभागले एक्टिभबाट एक थान सिपियू, रकम बुझेको रसिद ठेली दुई थान, सक्कल राहदानी(पासपोर्ट) नौ थान, डे–बुक तीन थान र रजिष्टार एक थान गरी चार थान, टेलिफोन नम्बर लेखेको डायरी एक र कपी दुई गरी तीन थान, रसिदहरु रहेको फायल एक थान, फारमहरु रहेको फायल एक थान, कागजात रहेको क्लियर ब्याग दुई थान, दरखास्त फाराम रहेको क्लियर ब्याग एक थान बरामद गरेको छ। विभागले उक्त प्रालि सिलसमेत गरेको छ ।

पीडित के भन्छन् ?

तनहुँ र लम्जुङ्गका तीन जना महिलामध्ये दुई जनाको श्रीमान् र एकजनाको भाई विदेशमा अलपत्र परेका रहेछन्। उनीहरु तीन जनासहित अर्का एक जना गरी चार जना गत असोज ५ गते दुबई एउटै फ्लाइटमा गएको पीडितले बताए। ती महिलाले विदेशमा श्रीमान फसेको कुरा आफ्नो सासु र आमाले थाहा पाए भने उनीहरुको हालत खराब बताइन्। विदेशमा अलपत्र रहेका आफन्तलाई कसरी उद्धार गर्ने भन्ने पिर त उनीहरुलाई छदैछ अर्कोतिर विदेशमा भात न पानी भएर बसेका आफन्त भोकभोकै मर्ने त होइनन भन्ने डर छ।

पीडित एक महिलाले भनिन्, ‘छ महिना पूरै भइसक्यो उहाँहरु गएको। कम्पनीले समयमा भात पनि दिँदैन रे। अझ मैले उता(दुबई) मेरो आफन्त हुनुहुन्छ, उहाँले मेरो श्रीमान्लाई पैसा पठाउने मैले चाहीँ यता(नेपाल) उसको श्रीमतीलाई पैसा दिने गरिराखेको छु। यता ८० हजार रुपैयाँ बुझाइसके, यताबाट खर्च गरेर पालिराखेका छौं। उता आफ्नो मान्छे भएर पो बाँचिराखेको छ नत्र त मरिसक्ने थिए।’

उनीहरुमध्ये दुई जनाले पाँच लाख ६७ हजार र एक जनाले नौ लाख खर्च गरेर दुबई उडेका पीडितहरुको भनाइ छ। पीडित महिला भन्छिन्, ‘सासुससुराले कति पैसा पठायो, हामीलाई चाहीँ केही भन्दैन, भन्छन्। फेरि टेन्सन हुन्छ उहाँहरुलाई भनेर मिडियामा नदेखिएको। विदेश जाँदा गरिएको सम्झौतापत्र पनि बिगारेर लेखेको छ। जस्तोः ‘दुबई देश जनाउनु पर्ने ठाउँमा दुबै भनेर जनाएको छ। अनि हाम्रो चाहीँ तीन पुस्ते नाम राखेको छ, उसको चाहीँ केही छैन्।’

त्यस्तै, दुबई जानका लागि चितवनका शुक्र तामाङले दुई महिना अगाडि चार लाख २० हजार दिएका रहेछन्। उनलाई पहिला वैदेशिक रोजगारीका लागि भनेर पछि भिजिट भिसामा लान खोजिएको खुलेकोछ। तामाङले भने, ‘ल ठिकै छ तिमीहरुले सक्छौ भने गरन त भिजिट भिसामा भनेर पैसा हालिदिएँ। नउडाएपछि यहाँ आएर एक हप्ता कुरिसकँे पैसा लिनको लागि, एजेन्ट भागेको भागै छ।’

बर्दियाका सुशील कुमार रैदासले फागुन २७ गते दुई लाख ५० हजार बुझाएका रहेछन्। उनी भन्छन्, ‘दुबईको लागि हो, पहिला वर्किङ भिसा भने। यिनीहरुले तपाईको भिसा आएको छ, तयार भएर आउनुस अब फ्लाइट हुन्छ भनेपछि यहाँ आएर पीसिआर, मेडिकल गरे सबै ठिक छ भन्यो, डकुमेन्ट भेरिफाई पनि गरे। सबै तयार भइसकेपछि टिकट देखाउँदा हेरेको त भिजिट भिसा देखँे। र, अरुहरु दुई चारजना मान्छेलाई पनि सोधँे, कसैले पनि भिजिट भिसा राम्रो हुन्छ भनेन्। अनि मैले अवैधानिक तरिकाले भिजिट भिसामा जादिँन भने र पैसा मागेँ। आजभोलि गर्दागर्दै १८ दिन भइसक्यो पैसा दिन्छन भनेर कुरेको।’

कालिकोटका रमेश केसीले आफ्नो ज्वाईलाई विदेश पठाउनको लागि एक वर्ष अघि पैसा ऋण खोजी ल्याएर बुझाएका रहेछन्। उनी भन्दैथिए, ‘मैले पैसा लोन निकालेर ल्याएर दिएको हो। अहिलेसम्म छ–सात लाख भइसक्यो, कसरी तिर्नु?’

त्यस्तै, एक व्यक्तिले आफ्नो छोरालाई विदेश पठाउनको लागि तीन लाख बढी पैसा सो कम्पनीलाई बुझाएका रहेछन्। उनी भन्छन्, ‘गत माघ १३ गते यहाँ जाँच दिन आएछ। अन्तर्वार्तामा पास भएपछि यहाँका सुरेश गजुरेलले फोन गरेर माघ १५ गते फ्लाइट छ तुरुन्तै आउनु भने। भिजिट भिसामा म पठाउँदिन भन्दा उहाँहरुले तपाईको छोरोको सबै भइसकेको छ हामी मिलाउछौं। अनलाइनबाट सबै हुन्छ, श्रम गरेर पठाइदिन्छौ, भने।’

पीडित अगाडि भन्छन्, ‘उनीहरुले भनेबमोजिम डकुमेन्ट परिक्षा नियन्त्रण कार्यालय, परराष्ट्र मन्त्रालय र दुबई राजदूतावासमा गएर पनि भेरिफाई गरेर ल्याएर बुझाए। राति दुई बजे उड्ने एयरपोर्टमा जानुस तपाईको कागजपत्र डकुमेन्ट त्यही ल्याइदिन्छौ, भने। पहिले नै ५० हजार पठाइदिएको थिएँ। त्यतिबेला पनि दुई लाख ६० हजार दिएँ। अरु पैसा उडान भएपछि दिन्छु भनँे। अनि साँझ ६ बजेसम्म पर्खे उहाँहरु आउनु भएन। फोन गर्दा पनि लाग्दैन, अफिस आउँदा पनि बन्द छ। भोलिपल्ट अफिस आउँदा मिस्टेक भयो, भोलि उडाउँछु भन्नुभयो। त्यसरी आजसम्म ठगिराखेका छन्।’

अनुगमन टोलीका प्रमुख हरिकृष्ण बुढाथोकीले त्यहाँ भएका पीडितलाई विभागमा गएर पक्राउ पूर्जीको उजुरी दिन सल्लाह दिएका छन्। उनले भने, ‘धैर्य गर्नु तर व्यक्तिगत मुद्दाहरु छ, पक्राउ पुर्जी जारी हुन्छ र मान्छे पक्रेर आएपछि पुलिसलाई बुझाउनु पर्छ। त्यसको लागि निवेदन दिनुपर्छ। विभागमा जानुस्, निवेदन लेखेर दिनुस। अनि पक्राउ पुर्जी जारी हुन्छ।’

एक्टिभ इम्प्लोई प्रालि वैदेशिक रोजगारका कामहरुमा परामर्श दिनको लागि स्थापित कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको एउटा कार्यालय रहेको बुझिएको छ। रोजगारसँग सम्बन्धित परामर्श दिने काम गर्नको लागि स्थापित उक्त संस्थाले भिजिट भिसामा मान्छेहरु दुबई लाने र त्यहाँ अलपत्र पार्ने गरेको खुलेको छ। अर्कोतिर विदेश पठाउने नाममा पैसा उठाइसकेपछि सम्पर्कमा नआउने प्रवृत्ति देखिएको सो कम्पनीलाई पीडितको उजुरीको आधारमा कारवाही हुने टोलीका प्रमुख बुढाथोकीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *