डब्लुएचओ महानिर्देशक टेड्रोस र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटघाट
काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेकाका डब्लुएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भेटघाट गरेका हुन्।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लुएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणको लागि समय निकालेकोमा खुसी व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठीन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गरे। ‘विशेषगरी कोभिड-१९ महामारीको समयमा तपाईंको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछ,’ उनले भने, ‘तपाईको यो योगदानलाई विश्वले सधैं सम्झिरहनेछ।’
डब्लुएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड(१९ नियन्त्रण तथा यस विरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।
‘नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशत पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य हासिल गर्ने बाटोमा छ,’ उनले भने,‘यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनु भएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहान्छु।’
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिड विरुद्धको खोपको समान वितरण हुनुपर्नेमा जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकहरुमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराए।
उनले अन्तर व्यवस्थापिका संघको १४४औं सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लुएचओले ध्यान दिनुपर्नेमा जोड दिए।
उनले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्यूएचओ कन्ट्री अफिस, डब्ल्यूएचओ एसइआरओ र सम्पूर्ण डब्ल्यूएचओ प्रणालीको प्रशंसा गरे।
‘नेपाललाई औषधिको गुणस्तर नियन्त्रण र पहुँचलगायतका क्षेत्र, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संसाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान निदानका क्षेत्रमा विश्व स्वास्थ्य संगठनबाट सहयोग र समर्थन आवश्यक छ ’, अध्यक्ष तिमिल्सिनाले भने।
अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले राज्यबाट निस्शुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्या उन नेपाल सरकार लागिपरेको बताए।
नेपालस्थित डब्लुएचओको कार्यालयले विभिन्न महत्वपूर्ण काम गरेको बताउदै अध्यक्ष तिमिल्सिनाले आफ्नो आग्रहमा कोभिड-१९को जोखिमबारेको प्रभावकारी सूचना प्रवाहमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
‘नेपालका सात प्रदेशमा भएको उक्त कार्यक्रमले सबै तहमा निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा ल्याउने काम गर्यो, ’ अध्यक्ष तिमिल्सिनाले भने, ‘कोभिड-१९ महामारी नियन्त्रणका लागि जनप्रतिनिधको भूमिका महत्वपूर्ण रहन्छ भन्ने उदाहरण सो कार्यक्रम प्रस्तुत गरेको छ। सो कार्यक्रमको नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गर्दछु र प्राविधिक सहयोगका लागि डब्लुएचओलाई धन्यवाद व्यक्त गर्दछु।’
उनले नेपाल सरकार, संघीय संसद र डब्लुएचओ बीचको सहकार्य जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय रहने र सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए।
त्यसैगरी अध्यक्ष तिमिल्सिनले महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
त्यसैगरी भेटका क्रममा डब्लुएचओका महानिर्देशक टेड्रोसले नेपालको संसदको नेतृत्वकर्ताको रुपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए।
‘तपाईँ बोलेर मात्रै होइन स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुनुभएको छ, उनले भने, ’डब्लुएचओसँगको सहकार्यमा यहाँले नेतृत्व गरेर भएका कार्यक्रमहरुले कोभिडको समयमा सबै राजनीतिक पार्टी तथा जनप्रतिनिधिहरुलाई एकजुट हुन र यसको नियन्त्रणमा साझा रुपमा लाग्न प्रेरित गरेको छ।’
कानुन निर्माणमा स्वास्थ्य क्षेत्र खासै प्रथामिकतामा पर्न नसकेको बताउँदै टेड्रोसले नेपालको संसदले कानुन निर्माणमा स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिनुपर्ने बताए।
उनले आईपीयूको १४४ औं सम्मेलनमा कोभिड खोप लगायतका विषयमा अध्यक्ष तिमिल्सिनाले राखेको धारणाका लागि धन्यवाद दिन समर्थन गरे।
‘स्वास्थ्यका विषयमा नेपालको सरकार र संसदको समान धारणा रहेको पाएँ यसको प्रसंशा गर्दछु,’उनले भने,‘नेपालले मेरो प्रतिनिधिमण्डललाई गरेको न्यानो आतिथ्यताको प्रशंसा गर्दछु।’
त्यसैगरी भेटमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै विशेषगरी खोप, शिशु तथा मातृमृत्युदरमा हासिल गरेको उपलब्धी उदाहरणीय रहेको र त्यसबाट अन्य मुलुकले सिक्नसक्ने बताए।
भेटमा संघीय संसदका तर्फबाट महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल लगायतको सहभागीता रहेको थियो।







डिसी नेपाल








Facebook Comment